Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दुई वर्षमा पेट्रोल निकाल्ने सपना

०२ सोमबार , पौष २०७५६ बर्ष अगाडि

काठमाडौं । कात्तिक ६ गते ठुलो तामझामका साथ बिजुली बस उद्घाटन गर्न साझा यातायात पुल्चोक पुगेका प्रधानमन्त्रीले पुल्चोकबाट विजुली बस चढेर सिंहदरवार पनि गए ।
४८ घण्टामा यो बिजुली बस चल्न छाड्यो, थन्कियो । आजसम्म बिजुली बसको किन चलेन प्रधानमन्त्रीले सोधेका छैनन्, साझा यातायातका हर्ताकर्ता कनकमणि दीक्षितले पनि जनतालाई सुसूचित गराएका छैनन् ।
त्यो दिन प्रधानमन्त्रीले गम्केर बोलेका थिए– अव बिजुली बसमा सरर यात्रा गर्ने हो ।
बिजुली बसको चार्ज स्टेशन लुम्बिनीमा बन्दैछ, यो बस लुम्बिनीकै लागि चीनबाट आएको थियो, २ करोडको चार्ज स्टेशनमा १२ करोडको खेलो हुँदैछ, यसमा प्रधानमन्त्रीका मान्छेको कमाउने दाउ जारी छ ।
हिजोमात्र प्रधानमन्त्रीले फेरि गम्केर बोले– २ वर्षमा पेट्रोल उत्पादन गर्छौं । पहिलो कार्यकालमा चुलो चुलोमा ग्यास सिलिण्डर आउँछ भनेका ओली पछि हावाबाट विजुली निकाल्ने कुरा गर्दैथिए । केरुङ काठमाडौं, पोखरा, लुम्बिनीसम्म रेललाइनको गफ चुट्न छाडेका छैनन्, समृद्ध नेपाल सुखी नेपाली भनेर पोल पोलमा आफ्नो फोटो झुण्ड्याउन आदेश दिए ।
यिनैले युनिभर्सल पिस फाउण्डेशनको इसाई मिसनको सम्मेलन गराए, सुशासनको प्राइज लिए र देशको धन देशमा धार्मिक द्वन्द्व, हिंसा बढाउने कारणको बिजारोपण गरे । राष्ट्रपतिका बुलेटप्रुफ गाडीदेखि हेलिकोप्टरसम्मका डिमाण्ड पुरा गरिरहेका छन् । जनताको हालत, बढ्दो भ्रष्टाचार, सर्वत्र राजनीतिकरण रोक्ने र सुशासक, सुधारकको इतिहास निर्माण गर्नेतिर ओलीको ध्यान पटक्कै गएको छैन । अन्टसन्ट बोल्ने मन्त्री र सल्लाहकारहरुको भीड जम्मा गरेर आफू श्री ३ महाराज र राष्ट्रपतिलाई बिन्नी मण्डेलाजस्तो सौखिन बनाउनतिर पो अग्रसर भएका छन् ।
केपी ओली देश बुझेका, बाँकी जीवन देश र जनताका लागि खर्च गर्छु भनेर पार्टी अध्यक्ष चुनिएका नेता नै यस्ता ? ०६३ सालपछि पटक पटक कम्युनिष्टहरु सत्तामा गएका छन्, अहिले त कम्युनिष्टको एकछत्र शासन छ, तैपनि यिनले सही गति र सही उद्देश्यतिर पाइला चाल्न सक्दैनन् र खाली सत्तामा ढलीमली गरेर सम्पत्ति जोड्नमै सिमित हुन्छन् भने कम्युनिष्ट शासन, कम्युनिष्ट नेताहरु नेपालका लागि सराप हुन भन्नुपर्छ ।
सरकार छ भन्नु अनुभूति दिन नसक्ने र घूस नख्वाई कुनै पनि काम नहुने भएपछि यस्तो सरकारले समृद्धि र सुशासन दिने हल्ला बिजुली बसजस्तै हो, जुन आज छ भोली छैन ।
हरेक दिन भ्रम छरेर ओली सरकार कति दिन चल्छ ? कम्युनिष्ट थिङ्क टेंकहरु किन बोल्दैनन् ? ओली सरकारलाई सही ट्य्राकमा ल्याउन किन प्रयास गर्दैनन् ? नेकपा जहाजका अर्का चालक ओलीलाई काँध थापेर के गर्न खोजिरहेका छन् ? जहाज दुर्घटना भयो भने न यात्रु बाँच्छन्, न पाइलट नै । फेरि किन चुपचाप ?