काठमाडौं । नेकपा पार्टी सचिवायलयको बैठक नै बहिष्कार गरेर माधव नेपाल,झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रम तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध मोर्चा बन्दी कसेका छन् । ओली पक्षधरहरु केही होइन भन्दै यो घटनालाई ओलीविरुद्ध प्रचण्डको साजिसका रुपमा पनि चर्चा गरिरहेका छन् । चर्चा जेसुकै भए पनि अव केपी ओलीले पार्टीलाई बाइपास गरेर अघि बढेर स्वनिर्णय गर्न नसक्ने स्थिति सिर्जना भएको छ ।
केपी ओलीले अहिलेसम्म एकल निर्णय गर्दै आएका छन् । पार्टी साइनबोर्डमा मात्र सिमित छ । यो कुरा अपाच्य हुँदै आएको थियो, कतिपय नेताहरुले पार्टीको निर्णयमा सरकार चल्नुपर्ने बताइरहे पनि ओलीले बाल टेरेका थिएनन् । अव भने मोर्चाबन्दीमा ओली फसेका छन् । ओलीले पहिलेजसरी यो विरोधी खेमालाई निरस्त्र पार्न सक्ने स्थिति छैन भन्छन् नेकपाका कतिपय नेताहरु । ओलीले जे गरे, पार्टीलाई बदनाम गर्ने काम मात्र गरेको दावी उनीहरुले गरिरहेका छन् । हुन पनि ३३ किलो सुनकाण्डदेखि ज्यानमारालाई आममाफी दिने, कतिपय नियुक्तीहरु खल्तीका व्यक्तिहरुलाई दिने र आफ्नो चाकरी गरुन् सबैले भन्ने चरीत्र देखाइरहेका थिए । अव नेकपाभित्र अधिनाकयत्वको चर्को विरोध सुरु भएको छ ।
एमाले र माओवादी एकीकृत त भयो, ओलीको वर्चस्व रहेको पार्टीमा प्रचण्डले अपमानवोध गरिरहेका छन् । पूर्व एमालेका दिग्गज नेताहरु पनि अपमानित भइरहेका छन् । यो सबैको कारण र कारक ओलीको एकल निर्णय हो भन्ने ठहर सबैको छ । यतिखेर प्रचण्ड पक्षधरमा एमालेका दिग्गज नेताहरुसमेत लागेकाले नजानिदो तवरले प्रचण्ड नेकपाभित्र शक्तिआर्जन गर्ने नेताका रुपमा देखा परेका छन् । ओलीले प्रचण्डलाई मिलाए कि प्रचण्डले ओलीलाई, अवको एकाध महिनामा ओलीको सरकार गिराएर प्रचण्ड अथवा प्रचण्डले चाहेका नेता प्रधानमन्त्री बन्नसक्ने वातावरण तैयार भएको ठहर छ केही विश्लेषकहरुको ।
प्रचण्ड शक्तिशाली हुँदै गएको कुरा ओलीले बुझेका छन् । तर आफू हुन्जेल कसैलाई हावी हुन नदिने र आफ्नै निर्णय मनाएर पार्टीलाई हाँकेर अघि बढ्ने दम्भका कारण ओलीले नेकपाभित्र ठूलै बितण्डा मच्चाउन सक्ने आँकलन पनि गरिएको छ ।
नेकपाभित्र गुटबाजी अर्थात ओली र प्रचण्ड खेमा, यी दुईभित्र पनि अनेक गुटले गर्दा को कति शक्तिशाली छ, अहिले नै भन्न नसकिए पनि प्रधानमन्त्रीका रुपमा ओलीले गरेका निर्णयहरु एकपछि अर्को देशहित विपरित हुँदै गएकाले पनि नेकपाको ख्याती कमजोर बन्दै गएकोमा नेकपाभित्र ठूलै असन्तुष्टि बढेर गएको छ ।
यसरी असन्तुष्टी चुलिदै गएका बेलामा पनि प्रचण्ड ओली सरकारका पक्षमा ढाल बनेर उभिएका देखिएका छन् । भित्रभित्रै गुटबाजीमा माहिर प्रचण्डले कुन बेला ओलीलाई दिएको टेको छाडिदिने हुन् र ओली तासको बादशाह ढलेझैं गल्र्याम गुर्लुम ढल्ने हुन्, अहिले यसै भन्न सकिने अवस्था छैन । रणनीतिक चालमा चङ्ख र आफ्नो स्वार्थलाई शिद्ध गरेरै छाड्ने प्रवृत्तिका प्रचण्डको राजनीतिक विज्ञान कसैले पनि बुझ्न नसकिने खालको छ । ओली आफैमा दृढ मनस्थितिका छन्, प्रचण्ड रणनीतिक चातुर्यका माहिर खेलाडी । यी दुईवीचको सम्बन्धको काँचो धागो कुनै पनि बेला चुँडियो भने को आर, को पार हुनेहुन् भनेर विश्लेषण हुन थालिसकेको छ ।
भारत भ्रमण गरेर फर्केलगत्तै २ वर्षपछि म प्रधानमन्त्री बन्छु भन्ने प्रचण्ड केही बोलिरहेका छैनन्, तर ओलीको अलोकप्रियताले कसैलाई लाभ हुन्छ भने त्यो प्रचण्डलाई हो ।
यद्यपि प्रचण्ड केही मन्त्री फालेर प्रचण्डका मान्छेलाई अवसर दिने मूडमा देखिन्छन् । यतिमात्रले प्रचण्ड ओलीका रक्षा कवच बनिरहलान् र ? प्रश्न गम्भीर रुपमा उठेको छ । मंसिर २९ गतेको स्थायी समितिको बैठकले नेकपाभित्रको गुटबाजी र असन्तुष्टि बढी झल्किन्छ भनिदैछ । बहिष्कार पछि बोलाइएको स्थायी समिति बैठकमा पनि गुटबाजी अन्त हुनसकेन भने नेकपाभित्रको असन्तुष्टीको आगो डढेलो बन्नसक्छ । प्रतिपक्षी आक्रामक हुन नसके पनि सत्तापक्षभित्रै प्रतिपक्षी जन्मिएको छ । सरकारको स्थायित्वमा फरक परोस् नपरोस्, पार्टीको स्थायित्वमा प्रश्न उठ्यो । अन्ततोगत्वा अराजकता निम्त्याइरहेको सरकारको कसरी स्थायित्व होला र ?