काठमाडौं । १० वर्षे जनयुद्धको क्रान्तिकारी छलाङ, रुपान्तरण के हो यो ? यो दृश्यले माओवादीको आदर्श, सिद्धान्त, विचार र राजनीति एक्कैपल्ट झल्कन्छ । धरानको भैंसी पुजन, थानकोटको नरनारायण बाबाको पाउढोग, गलेश्वर महादेवको आरतीभन्दा पनि एककदम अगाडिको यो दृश्य ऐतिहासिक दृश्य हो । सामाजिक सञ्जालमा माओवादीका कार्यकर्ताले फैलाएको दृश्यले सन्देश के दिन खोजेका थिए, सन्देश गयो के ?
यी हाम्रा आदरणीय नेता हुन् । नेताको व्यक्तिगत जीवन हुन्छ, व्यक्तिगत जीवनमा राज्यकोषको दोहन र निरंकूशताको सन्देश जाने खालको क्रियाकलाप गर्न हुन्छ कि हुन्न ? अगुवा नै बाटो हगुवा भए भने सुशासन, समृद्धिको सपना कहाँ पुग्छ ? यो स्वभाविक होइन ।
यो तस्वीरबारे नेकपा अध्यक्ष र गृहमन्त्रीले मुख खोलेका छैनन्, यसको अर्थ तस्वीर सही हो । तस्वीर सही हो भने यो राजनीतिक रुपमा नैतिकहीन काम पनि हो । नेताले पहिले देश, जनता, जनअपेक्षा हेर्नुपर्छ, जनता मरिरहुन् हाम्रा मन, इच्छा, सुख, आनन्द हेर्छु भनेर यसरी सार्वजनिक प्रदशन गर्दा यसको सन्देश गलत गएको छ । गलत भएको छ । जनता भुटभुटिने, नेता यसरी स्वस्थ हुने, राजनीतिको धर्म के नेताको सुख र स्वस्थतामात्र हो, देश कति स्वस्थ छ ? यी नेताले सोचेका छन्, देखेका छन् । छन्
भन्नु पर्यो, यिनले गरेको प्रगति के हो ? कति हो ? विश्लेषकहरु भन्छन्– यो त नेतातन्त्रको सीमा नाघेको तस्वीर हो । सरकारी हेलिकोप्टर लिएर हट वाटर वाथ लिन जाने, मन्दिर मन्दिर दर्शन गर्न जाने काम नेताको कुन सिद्धान्तमा पर्छ कुन्नी ?
यसरी तातोपानी नुहाउने अनि माओवादी र एमालेको मनको एकता भएको छैन, तल्लो तहमा एकता चाँडै टुंगिन्छ भनेर फर्केका छन् । यति भन्नलाई सैनिक हेलिकाप्टर लिएर जानुपर्ने ? यो दृश्यले नेता निरंकूश हुनथालेको देखिन्छ ।
हो, प्रचण्डले नढाँटी भनेछन्– पत्नीको इच्छाअनुसार आएको । परिवार हेर्नुपर्छ, व्यक्तिगत सम्पत्ति खर्च गरेर । राज्यकोष दोहन गरेर परिवार हेर्ने राजनीति गलत हो । अव ढोंग सुरु भएको छ, प्राकृतिक चिकित्सा पर्यटन प्रवद्र्धन भयो रे । यो जिम्मा प्रचण्ड र गृहमन्त्री रामबहादुरको मात्रै हो ।
तातोपानीमा डुबुल्की मारेपछि प्रचण्डले कर्मचारीलाई यसरी हपारेको सुनियो– संघीयताको उद्देश्य सिंहदरबार गाउँमा पुर्याउनु थियो तर राजनीतिक परिवर्तनलाई संस्थागत गर्न कर्मचारीतन्त्रले बाधा पुर्याएको छ,ाजनीतिक आन्दोलनले व्यवस्था फेर्यो तर, कर्मचारीतन्त्रको मानसिकता फेर्न सकेन । हाकिमले परिवर्तन आत्मसात् गर्न सकेनन्, परिवर्तन उल्टेला भन्ने डर भइसक्यो ।