दशैंको टीकामा घुँडा टेकाएर टीका लगाइदिने हाम्री राष्ट्रपतिले तिहारमा पत्रकारलाई प्रवेश निषेध नै गरिदिइन् । अव ४ करोडके गाडीले नपुगेर सेनाको बजेट मार्फत १८ करोडको गाडी सुविधा, र, प्रहरी प्रशिक्षण केन्द्र पनौतीतिर सारेर हेलिप्याडसमेत बनाउने योजना सार्वजनिक भएको छ । के हो यो ?
काठमाडौं । लेखनाथले उहिल्यै लेखेका थिए– छोटो बढ्यो भने भारी फूर्ति लाउँछ । आलंकारिक राष्ट्रपतिलाई जे जति सुविधा दिन थालिएको छ, गरीव मुलुकका लागि ठस्सै बढी भयो भन्छन् टिप्पणीकारहरु । यति धेरै आलोचना हुँदा पनि न राष्ट्रपति सचेत छिन्, न उनका सल्लाहकारहरुले नै उचित सल्लाह दिएका छन् ।
नाङ्गो सत्य के हो भने युवाशक्ति वैदेशिक रोजगारीमा हुलका हुल गइरहेका छन् । रेमिटान्स अर्थतन्त्र भएको मुलुक हो नेपाल । गरीव जनता सिटामोल खान सक्दैनन्, जीवन जल नपाएर मरिरहेका छन्, भूकम्पपीडित आज पनि थोत्रो च्यातिएको त्रिपालमुनी छन्, बाढीपीडितले बास बनाउन सकेका छैनन्, यस्ता गरीवका राष्ट्राध्यक्षलाई हेलिप्याड चाहिने, १८ करोडको गाडी चाहिने, बुलेटप्रुफ घर चाहिने, निवासमा हेल्थ क्लवका सबै सुविधा हुनुपर्ने, विश्लेषकहरु चकित छन् ।
शितल निवास नेपालको ह्वाइट हाउस बन्दैछ कि के हो ? यस्ता प्रश्न पनि समाजमा उठ्न थालेका छन् ।
मदन भण्डारी नेपालका आदर्श नेता । आज पनि मदन भण्डारीको नाम सम्मानका साथ लिने गरिन्छ । साइकल चढेर अमर बने मदन भण्डारी । तिनै मदन भण्डारीकी पत्नी आज राष्ट्रपति बनेर महिला, समाज र देशका लागि उदाहरणीय पात्र बन्न छाडेर आलोचनाको पात्र बनिरहेकी छिन् । राष्ट्रपतिको नाम उनका कार्यकर्ताले बाहेक कसैले इज्जतले लिएको सुन्न छाडिएको छ । सादा जीवन उच्च विचारबाट प्रेरित हुनसकेको भए विद्या भण्डारी आदर्श नारीपात्र मात्र होइन, राष्ट्रको संरक्षक बन्ने अवसर छ तर कसले उनलाई गलत मार्गमा प्रेरित गरिरहेको छ, नेकपाभित्रै पनि आश्चर्य प्रकट भइरहेको देख्न सुन्न सकिन्छ । सल्लाहकार गलत परेर हो कि ?
२ सय रोपनीको शितल निवास नपुगेर १ सय ९३ रोपनीको प्रहरी प्रशिक्षण केन्द्र पनि राष्ट्रपति निवासमा गाभिदै रहेछ । एयरपोर्ट नै बन्छ कि कसो ? जनताको चन्दाबाट बनेको समाज कल्याण परिषदको ठूलो घर र घरले चर्चेको फाँट उपराष्ट्रपति निवास बनाइदै छ । समृद्ध नेपाल र सुखी नेपालीको नारा भनेको यही हो ?
गंगामायाँ अधिकारी अनसनमै छिन्, निर्मला पन्तको बलात्कारपछि हत्या भयो, तिनका परिवारलाई भेट्न नदिने राष्ट्रपतिलाई घेरा हाल्ने तत्व कुन हो ? देशमा हरेक दिनजसो बलात्कार र हत्याका घटना बढेका छन् । यसमा पीडित महिला बढी छन् । महिला राष्ट्रपतिले सरकार र संसदको ध्यानाकर्षण गर्नुपर्छ कि पर्दैन ? आलंकारिकलाई अलंकारमात्र चाहिने ?
महिला राष्ट्रपति, महिला हिंसा कम होला, महिलाले समानताको अधिकार बढी पाउलान्, महिला सुरक्षामा बढोत्तरी होला भन्ने जुन आशा महिला बर्गले लिएका थिए, निराशामा बदलिएको छ ।