Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्र नाङ्गेझार भयो

२६ सोमबार , कार्तिक २०७५६ बर्ष अगाडि

काठमाडौं । लोकतन्त्र नाङ्गेझार भयो । छोरीको बलात्कारपछि हत्या भयो, न्याय चाहियो भनेर बाबुआमाले सिंहदरवारको ढोकाअगाडिको सडकमा माइक समातेर गुहार माँग्दासमेत न्याय पाएनन् र कञ्चनपुर फर्के । ७७ जिल्लाका न्यायकर्मी नागरिकहरु निर्मला पन्तको बलात्कारी, हत्यारालाई कारवाही गर भनेर आन्दोलन गरिरहेका छन्, सरकार ट्वाँ परेर बसिरहेको छ । प्रधानमन्त्री ओली, गृहमन्त्री रामवहादुर थापा सय दिन नाघेपछि पनि केही गर्न नसकेपछि भ्रम छर्न छिटै हत्यारा पक्राउ पर्छ भन्ने आश्वासन दिइरहेका छन् । यो कस्तो लोकतान्त्रिक सरकार हो, जसले न्याय चाहियो भन्दा पनि सुन्दैन । न्याय दिन नसक्ने सरकार किन सत्तामा लिसो टाँस्सिएजसरी बसेको छ ।
डा.बाबुराम भट्टराईको टिप्पणी यस्तो छ– न्याय चाहियो भनेर निर्मलाका बाबुआमा न्याय चाहियो भनेर परिवारजन अनिश्चितकालीन धर्नामा बस्नुपर्‍यो । अपराधी पत्ता नलगाएर कुन नाकले कुर्सीमा बसिरहेका छन् ? धन्य हिजोका क्रान्तिकारीहरुको पतन ।
कञ्चनपुरमा यसरी धर्ना बस्दा प्रधानमन्त्री र गृहमन्त्रीका विरुद्ध चर्का नारा लागेका छन् ।
साउन १० गते हराएकी निर्मला पन्तको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो र प्रहरीले प्रमाण मेटाएको भिडियो फुटेजसमेत सार्वजनिक भइसकेको छ । सात टोलीले अनुसन्धान गरिसके, बलात्कारी र हत्यारा पत्ता लगाउन सकेन सरकारले । भनिन्छ, हत्यारा शक्तिशाली व्यक्ति हो, हत्यारा सार्वजनिक गरियो भने सरकार नै ढल्छ । दुईतिहाईको सरकार त हत्याराहरुले पो चलाएको देखियो । यो सरकार बिधिसम्मत रुपमा चलेको छैन, अपराधिक तत्वको आशीर्वादमा चलेको छ भन्न थालेका छन् आमनागरिक ।
निर्मलाका बिरामी बाबु यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त परिवार आइतवारदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्नामा बसेका छन् । न्यायका लागि आमरण अनसन बस्ने गंगामाया अधिकारीलाई न्याय नदिने सरकारले पन्त परिवारलाई न्याय दिन्छ भनेर कसैले पनि विश्वास गरेका छैनन्, त्यसैले सरकार विरुद्धको आन्दोलन चर्किदै गएको छ । पन्त परिवार हत्यारा पत्ता नलगाए आमरण अनसन बस्ने चेतावनी समेत दिन थालेका छन् ।
नेपाल प्रहरी भन्छ– अनुसन्धान चलिरहेको छ । जुन प्रक्रियाले अनुसन्धान गर्नुपर्ने हो त्यो भइरहेको छ । यो प्रकरणमा आइजीपी सर्वेन्द्र खनालको इज्जत समेत धरापमा परेको छ ।