काठमाडौं । हिजोआज सबैभन्दा चर्चित पात्र हुन्– वामदेव गौतम । चुनाव हारेका पात्र, उनलाई जसरी पनि सांसद बनाउने धूनमा लागेको प्रचण्डले काठमाडौंका सांसद रामवीर मालाकारलाई राजीनामा गराएर त्यही क्षेत्रमा उपचुनावबाट वामदेवलाई सांसद बनाउने तैयारी समेत गरेका थिए ।
तर एमालेभित्रै उनलाई हराउने कुरा उठ्यो । आमजनता नेकपाको सरकारको कामबाट नाखुश भएकाले जनताले हराउने पक्का ठानियो र एकाएक वामदेव पछि हटे । नेकपाको साख जोगियो ।
यसपछि प्रचण्ड भारत र चीन पुगेर फर्केका छन् र आलोपालो सरकारको प्रसङ्गसमेत सार्वजनिक भएको छ । झलनाथ खनालले पार्टी हैसियत घटाएकोमा आक्रोश पोखेका छन् भने माधवकुमार नेपालको राजनीतिक जीवनको भविष्य अन्धकार हुँदैछ । र, पार्टीका दुई पाइलट ओली र प्रचण्डले होनहार एमालेका नेताहरुको भविष्य चौपट पारिदिने ठानेर नेकपाभित्र गुटवाजी सुरु भइसकेको छ । जतिसुकै तल्लो निकायसम्म एकीकरण गर्ने भनिए पनि नेकपा दुर्घटनाको संघारमा पुगेको विश्लेषण हुनथालेको छ ।
नेता घनश्याम भुसालले नेकपा गुटहरुको महासंघ बन्यो भन्ने टिप्पणी गरेका थिए, अहिले आएर उक्त टिप्पणी सही हुनपुगेको छ ।
जेठ ३ गते माओवादी र एमाले एकीकृत भएका थिए । प्राविधिक एकता जारी छ, साँच्चिकै एकता सम्भव भएको छैन, पोलिटव्यूरो र केन्द्रीय सदस्यमा बिबाद छ, कार्यविभाजन हुनसकेको छैन । कसको भागमा कुन विभाग, जिम्मा पाएका विष्णु पौडेल र रामबहादुर थापा आफै जिल खाएर बसेका छन् ।
गाउँ, नगर, प्रदेश सदस्य मनोनित हुनसकेको छैन भने यति नै बेला आन्तरिक ध्रुविकरण बढेको छ । जब ओली अस्पताल भर्ना भएका थ्एि, नेकपाभित्र ठुलै हलचल आएको थियो, ओली ठिक भएपछि त्यो तरङ्ग थामिएको छ ।
दुई पार्टी एक भएको घोषणा भयो, गुट एक हुनसकेनन् । नेकपाको विधानअनुसार ०७७ जेठ ३ भित्र महाधिवेशन गरिसक्नुपर्छ । महाधिवेशन परको कुरा, गुटबाजी अन्तसम्म हुनसकेन ।
एमालेमा ओली र माधवको गुट थियो, अहिले प्रचण्ड र ओलीको गुट छ, अरु भुरे टाकुरे बनेका छन् । माधव नेपाल शक्तिशाली थिए, उनका गुटका भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, लालबाबु पण्डित, अमृत बोहोरा, बेदुराम भुसालहरु लाखापाखा लागिसकेका छन् । ओलीसमूहका ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, सुवास नेम्वाङ, भानुभक्त ढकाल, विष्णु रिमालहरु अहिले पनि कायमै छन् ।
नवौं महाधिवेशनमा ओलीलाई बोकेका वामदेव गौतम यतिबेला घडीको रालो बनेका छन् । उनी ओली गुटका कि प्रचण्ड गुटका भनेर छुट्याउन मुस्किल छ । नेकपाभित्र व्यापक गुटबाजीको खतरा दिनदिनै बढेर गएको छ । मुख्य कुरो एमाले र माओवादी एकीकरणले एमालेका ठूला नेताहरुलाई घाटै घाटा देखिएकाले पनि ध्रुविकरण बढेको हो । यतिबेला प्रचण्डको गुट जसरी पनि पार्टीमा हावी हुने रणनीतिमा छ । ताकि आगामी अधिवेशन र सत्ता दुबै हातमा लड्डु बनेर आओस् । प्रचण्डलाई वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत, अग्नि सापकोटा, रामवहादुर थापाले सघाइरहेका छन् ।
नेकपाले जतिसुकै समृद्धि, सुशासन भनेर खोके पनि त्यो क्रोनिक भइसकेको दीर्घरोगीले अलिक सन्चो भो भनेजस्तोमात्र हो । देश बनाउने छनक देखिदैन ।