काठमाडौं । कहिले राजा उचाल्ने, कहिले कांग्रेस उचाल्ने भारतले ०३६ साल, ०४६ सालमा कांग्रेस, कम्युनिष्टलाई उचाल्यो । त्यसपछि गिरिजा उचालेर कांग्रेसलाई सखाप पार्ने काम गरेकै हो । ०६३ को जनआन्दोलन सफल पार्न विशेष भूमिका खेलेको भारतलाई आज पनि कम्युनिष्टहरु भारत यो परिवर्तनको स्टेक होल्डर हो भनिरहेकै छन् । त्यसपछि पनि कहिले, कहिले माधव, कहिले ओली, कहिले बाबुरामलाई उफार्ने काम गरेकै हो । संविधान जारी रोक्न कुन कारणले असफल भएको हो कुन्नी, त्यसपछि भारतले ओलीलाई साथ दिए पनि अव भने भारत प्रचण्डलाई खेलाउन थालेको देखिदैछ ।
भारतले कहिल्यै नेपाललाई शान्तिसँग बस्न नदिने भो, भारत नेपालका लागि सराप नै बन्यो ।
नेपाललाई अस्थिर पार्न भारत जहिले पनि नेपाली राजनीतिमा अमिलो निचोरिरहन्छ । भारतको नानीदेखि लागेको बानी भनेकै नेपाललाई स्थिर हुनै नदिने हो । अव त स्थिर सरकार आयो, राजनीतिक स्थिरताले समृद्धि र सम्पन्नताका डोरेटाहरु बन्न थाल्छन् कि भन्ने आशा थियो, अस्थिरता बढ्यो, भारत फेरि अर्का नेतालाई उछाल पछारको खेलाउने काममा जुटेको देखिदैछ ।
प्रचण्ड भारत गए, उनले भारतबाटै ओलीसँग आलोपालो सरकारको नतृत्व गर्ने सहमति भएको खुलासा गरेर फर्किएका थिए । मधेशी दलहरुलाई खुशी पार्न संविधान संशोधन हुनेछ, भारतले पनि साथ दिने कुरा बताएका थिए । त्यसपछि उनी सिंगापुर भ्रमणमा गए । त्यहाँ उनले भारतीय नीतिकारहरुलाई भेटेको सनसनी फैलिएको थियो ।
केपी ओलीले कडा रुख अपनाएको, भेटवार्ता गर्न छाडेपछि प्रचण्डले वामदेव कार्ड अघि सारे । वामदेवलाई राजधानीबाटै चुनाव उठाउने, वामदेव खेमालाई आफ्नो साथ लिने, ओलीलाई कमजोर पारेर आफ्नो पलडा र प्रभाव बढाउने । तर एकाएक जनमानसमा यसरी बिद्रोह उठ्यो कि वामदेवलाई हराइदिने कुराले प्रचण्ड जिल परे । ओलीले बोल्नै परेन, वामदेव व्याक भए । प्रचण्ड सनन्न हुनपुगे ।
इण्डिया फाउण्डेशनको कार्यक्रममा संवोधन गर्ने बहानामा कात्तिक ९ गते प्रचण्ड दिल्ली पुगे । दिल्ली जानुभन्दा पनि उनलाई भाजपाका नेता राममाधवलेले एयरपोर्टमै स्वागत गर्नु र विशेष वार्तालाप गर्नु बढी रहस्यपूर्ण घटना हुन् । भारतलाई चिढ्याउनु आफ्नो कमजोरी भएको पटक पटक बोलिसकेका प्रचण्डले अव भारतलाई खुशी राख्ने प्रयास गरिरहेछन् ।
यता केपी ओली बिरामी भएर अस्पताल भर्ना हुनु, ११ वर्षअघि दिल्लीमै मिर्गाैला प्रत्यारोपण गरेका केपी ओलीको स्वास्थ्य कमजोर बन्दै जानु, डा. दीलिप शर्माले रुघाखोकी, ज्वरो, भाइरलको बिरामी भनेर जिब्रो चपाउनुलगायतका घटनाक्रम हुनु र उता प्रचण्डको अनायास सक्रियता बढ्नुले राजनीतिमा ठूलै परिघटनाका संकेतहरु अनुभव गर्न थालिएको छ । ओली सरकारको कामबारे जनतामा असन्तुष्टि बढ्दै जानु, पूर्व एमाले र माओवादीवीचमा भित्रभित्रै मतभिन्नताहरु बढ्नु लगायतका कारण र ओली–प्रचण्डवीच शक्ति प्रतिस्पर्धा नजाँनिदो तरिकाले बढ्नुले पनि राजनीति दुर्घटनाउन्मुख देखिन्छ ।
यति नै बेला श्रीलंकामा राष्ट्रपतिले प्रधानमन्त्री बर्खास्त गरिदिए । भारतले बर्खास्त भएका प्रधानमन्त्रीलाई धन्दा नमान भनेर थुमथुम्याउनु र चीनले राष्ट्रपतिलाई दूतमार्फत भेटेरै स्वावासी दिनुले पनि दक्षिण एसियामा नयाँ
राजनीतिक घटनाक्रम हुनसक्ने सम्भाबनालाई नकार्न सकिदेन ।
यसैवीच ओली राजपालाई सरकारमा भित्र्याउने तरखरमा छन् । यसका लागि राष्ट्रव्यापी बिरोध भइरहेको नागरिकता बिधेयकलाई पास गर्नसमेत ओली तैयार रहेको संकेतहरु छन् । प्रचण्ड फन्केर गइहाले पनि आफू कमजोर नबन्नकै लागि ओलीले यो रणनीति अख्तियार गरेको अनुमान छ ।
अव हेर्नुछ, केपी ओली बेडरेष्टबाट उठेर जाज्वल्लयमान प्रधानमन्त्रीका रुपमा देखा पर्ने हुन् कि प्रचण्डको माखेसांग्लोमा फसेर अहिलेजस्तै निष्प्रभावी सरकार चलाएर प्रचण्डकै वरिपरि घुम्न पुग्ने हुन् ? जे भए पनि नेकपाभित्र गुटबाजी चलिरहेको छ, चम्किरहेको छ । यो गुटबाजीमा भारत बिजयी हुने सम्भाबना बढेर जाँदो छ ।
स्वास्थ्यले साथ दियो भने केपी ओली हार खाने नेता होइनन् । प्रचण्ड आफूलाई जति चलाख सम्झन्छन्, प्रचण्डको चलाखीको तौरतरिकाबाट अवगत ओलीले प्रचण्डलाई आफ्नो प्रभावमाथि जान दिन्छन् भनेर कसैले विश्वास गर्दैनन ।