काठमाडौं । हुन त घुँडा टेक्नु हो, जसरी टेके पनि हुन्छ । गणतन्त्रले स्वर्गीय सुख प्राप्त हुन्छ भनेर जुन सपना बाँडिएको थियो, २०७५ सालको बडादशैंदेखि चकनाचूर हुनपुगेको छ ।
राजालाई सामन्त भनेर खुब गाली गर्ने र जनतामा राजाप्रति विष बमन गर्नेहरु सत्तामा छन् र तिनले सामन्ती पारामा देशका प्रधानसेनापति, प्रधानन्यायाधीश भइसकेका व्यक्तिहरुलाई घुँडा टेकाएर टीब बकस भएको छ ।
बुद्धिजीवीहरुले राष्ट्रपति, प्रधानमन्त्रीलाई श्री ६ को संज्ञा दिएका छन् । हुन पनि जुन तरिकाले टीका लगाइदिने काम गरियो र टीका र आशीर्वाद लिन आउनेहरुलाई हाजिरी गराएर र घुँडा टेकाएर टीका लगाइयो, यो टीका बकस हो र नेपालमा श्री ६ को सरकार आएछ भन्नुपर्ने भएको छ । कोतपर्वपछि १ य ४ वर्ष श्री ३ ले शासन गरे । २०६५ साल जेठ १५ को संविधानसभा पर्वपछि यो श्री ६ को सरकारले कतिवर्ष राज्य चलाउने हो ?
यतिसम्मको तरिकाले घुँडा टेकाउने कम त राजतन्त्रमा कहिल्यै भएको थिएन । यतिसम्मको चाकरीको पराकाष्ठा पनि राजतन्त्रमा कहिले भएको थिएन । संविधानमा धर्मनिरपेक्ष लेखेर धर्मप्रतिको यो आस्थाले हिन्दुधर्म पुनस्र्थापित गर्न अव धेरै दिन बाँकी छैन । प्रश्न के हो भने उच्चपदस्थ कर्मचारीहरुलाई यसरी घुँडा टेकाएर राष्ट्रपति प्रधानमन्त्रीले टीका लगादिने क्रम जुन चलेको छ, यसले शासन र प्रशासनमा बिचलन ल्याउने छ । यस्ता परिदृश्य आफैमा भ्रष्टाचार हो । नागरिकको सम्मानमा संविधानको सम्मान र नागरिक सम्मानित भएमात्र संविधानप्रति अपनत्वको भाव हुन्छ । टीका लगाएर आशीर्वाद दिने नाममा अव यी शासकहरुले नागरिकलाई खुट्टा ढोकाउन बेर छैन ।
सार्वभौम जनता, जनताले दिएको मतले बनेको संसद, सरकार, राष्ट्रपति, यिनले जे सिकाए, त्यही परम्परा देशका ७ सय ६१ सरकारमा सरेर जाने हो । यो संस्कार भनेको सामन्ती सस्कार हो । निश्चय नै ठूलाप्रति आदरभाव र सानाप्रति सद्भाव, प्रेम विकसित गर्नुपर्छ । राष्ट्रपतिले टीका लगाइदिने यो घुँडा टेकाउने संस्कारले संविधानले गणतन्त्रले यिनको नाममात्रको लोकपद्धतिले नै घुँडा टेक्यो ।
दुई तिहाईको सरकारको दम्भ गर्ने प्रधानमन्त्रीले आजसम्म टीका लगाइरहनेछन् । राष्ट्रपति प्रधानमन्त्रीकोमा टीका लगाउन को गए, तिनमा अधिकांश कर्मचारी र केही संघसंस्थाहरुमात्र हो । ज्ञानेन्द्र शाहले टीकाको एकै दिन जतिलाई टीका र आशीर्वाद दिए, त्यसको प्रतिस्पर्धा गर्न प्रधानमन्त्रीलाई २०७५ सालको पूर्णिमा होइन, जीवनभर सम्भव हुनेछैन ।