Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महावीरले चिनाए नेपाली युवा

०५ सोमबार , कार्तिक २०७५६ बर्ष अगाडि

काठमाडौं । महावीर पुन, अमेरिका पुगे र नेपालीले बनाएको जहाजमा सयर गरेर फर्केछन् । अहा, कति मीठो समाचार । नेपाली युवा रहेछन् त । त्यस्ता युवालाई नेपालमा फिर्ता ल्याएर उपयोग गर्न ओली सरकारलाई कसले प्रेरणा दिने ? त्यसै पनि दुई तिहाईको सरकार भनेर गजक्क नाक फुलाएर बसेका छन् केपी ओली ।
असलमा नेपालीको नाक ठाढो पार्ने काम ती अमेरिकामा बसेका नेपालीले गरेछन्, जसले जहाज बनाएर महावीर पुनलाई सयर गरेर पठाए ।
आविस्कार केन्द्र स्थापना गर्न होटलमा मम समेत बेचेर अर्थ संकलन गरिरहेका महावीर पुनको फेसबुक हेरौं, ती युवाले भनेका छन्– यस्ता जहाज नेपालमै बनाउन सकिन्छ । चीनबाट ल्याएका जहाज भालुको कन्पटजसरी नेपाल एयरलाइन्स चलाइरहेको छ । त्यही जहाजका कारण नेपाल युरोपियन आकाशमा कालोसूचीमा छ । १० वर्षमा नेपाललाई स्वर्ग बनाउछु भन्ने सरकार यस्ता धुरन्धर युवाहरुको बारेमा सोच्दैसोच्दैन । प्रतिभा चिन्दैन ।
असोज १५ गते अमेरिका पुगेका महावीरलाई भोलिपल्टै निम्तो प्राप्त भयो र उनी नेपाली युवाले बनाएको जहाजको सयर गर्न पुगेका रहेछन् । प्रमोद रेग्मी, जसले अमेरिकामा जहाज बनाए । परीक्षण उडानमा नेपालीलाई उडाए । फर्केपछि महावीर पुनले पत्रकारलाई यसरी बताए– 
एक अन्तरक्रियात्मक कार्यक्रमका लागि म अमेरिका गएको थिएँ। मेरो उद्देश्य एउटा कार्यक्रममा सहभागी हुनु र केही मित्रलाई भेट्नु पनि थियो । म त्यहाँ पुगेको थाहा पाएर एक नेपालीमूलका युवा प्रमोद रेग्मीले आफूकहाँ आउन आग्रह गरे । खासमा रेग्मीले जहाज बनाएका रहेछन् । उनी आफूले निर्माण गरेको जहाजमा पहिलो पटक मलाई चढाउन चाहन्थे । ४५ मिनेट लामो त्यो परीक्षण उडान महावीरका अनुसार साँच्चिकै रमाइलो थियो, गर्ववोध गर्न लायक थियो । सरकारले युवालाई चिन्ने कहिले ?