राजतन्त्र र हिन्दुवादीले बोल्न नसकेको कुरा नेकपाका नेता योगेश भट्टराईले बोलेका छन् । बोलेकामात्र होइनन्, उनले ज्ञानेन्द्र शाहलाई सलाम नै गरेका छन् । माटो भनेर नेपालमै बसेका र जनताकै माझमा रहेका ज्ञानेन्द्र शाह वास्तवमा राजनेता नै हुन् । अपमानित भएर पनि जन्मभूमि भनेर बस्नु ठूलो कुरा हो ।
काठमाडौं । ताप्लेजुङबाट चुनाव जितेका नेकपाका हँसिला, रसिला र सत्यवादी युवा नेता योगेश भट्टराईले आखिरमा आएर मनको कुरा खोले– ज्ञानेन्द्र शाहले सजिलै दरवार छोडेर देशमा ठूलो रक्तपात हुन पाएन । म ज्ञानेन्द्र शाहलाई सलाम गर्छु ।
बरिष्ठ नेता माधवकुमार नेपालले संसदमै सरकारको तीब्र आलोचना गरेपछि त्यसको समर्थन गर्ने पहिलो नेता पनि हुन् योगेश भट्टराई । ओलीका वरिपरि वाह वाह गर्ने नेताहरुले माधव र योगशको विरोध गरेका छन् तर पूर्व एमालेका अधिकांश पंक्ति माधव र योगेशको पक्षमा देखिन्छ ।
योगेशले भनेका छन्– पार्टी जीवन्त छ, त्यसैले आलोचना, आत्मालोचना हुन्छ, समर्थन र विरोध पनि हुन्छ । सगरमाथा टीभीको कार्यक्रममा योगेशले पूर्वराजालाई सलाम गरेका हुन् । उनले ओली सकारको विकल्प छैन, यही सरकारले देशलाई सही दिशामा लानसक्छ, जनताले निराश हुनपर्दैन भन्न चाहिं बिर्सेनन् ।
योगेशको तर्क छ– तत्कालीन युवारज दीपेन्द्रको प्रेम सम्बन्ध बारे समस्या छ भन्ने कुरा बाहिर आएर त्यसमा छलफल चलेको भए नेपाल राज्यले त्यो समस्या समाधान गरिदिन्थो र दरबार हत्याकाण्ड हुने थिएन होला । त्यस्तै ज्ञानेन्द्रले सत्ता चलाउँदा पारदर्शी भएको र कसरी सत्ता चलाउँदैछन् भन्ने जनताले थाहा पाएका भए ज्ञानेन्द्रको सत्ता ढल्ने थिएन होला ।
नेता योगेशले राजतन्त्रका बारेमा स्वस्थ विचार राख्ने हिम्मत गरेका छन् । बिगत १३ वर्षमा राजतन्त्रबारे नकारात्मक मात्र कुरा बाहिर आएका थिए । बिस्तारै राजतन्त्रको बारेमा बहस हुनु सरकार र शान्ति व्यवस्था बिग्रदै गएपछि र जनतामा सरकार र व्यवस्थाप्रति आक्रोसित भाव फैलदै गएपछि परिस्थितिको विश्लेषण सुरु भएको छ । यस्तो विश्लेषणले नै यथार्थमा देशको आवश्यकताको पहिचान हुनसक्छ । अव कसैका प्रति कसैले पूर्वाग्रह अथवा विभेद, निषेधको दृष्टि राख्न जरुरी छैन । ज्ञानेन्द्र शाहले पनि इमानदार नागरिक भएर परिवर्तनलाई मौका दिएकै हुन् । योगेशले प्रष्ट शव्दमा भनेका छन्– ज्ञानेन्द्रले सहज
तरिकाले दरबार छोडेर ठूलो रक्तपात हुनबाट रोके,म उनलाई सलाम गर्छु । ज्ञानेन्द्रले जनताको नासो जनतामै फर्काए भनेर कुम्लो बोकेर हिडे । दुनियाँको कुन राजा त्यसरी हिडेको छ ? भट्टराईले ज्ञानेन्द शाहको प्रशंसा गरेका छन् ।