काठमाडौं । अनुसन्धान चलिरहेको थियो, प्रधानमन्त्रीले प्वाक्क बोलिहाले– बम दिदीबहिनी निर्दोष छन् । त्यसपछि आयोगमाथि आयोग बने, रिपोर्ट आयो, लुकाइयो । अनि त अपराधीले जित्यो, न्याय हार्यो, प्रहरी पक्षाघात भयो ।
सर्वेन्द्र खनाल, आइजीपी । यी काविल आइजीपी हुन् । यिनलाई समेत राजनीतिले कसरी नागपासमा पार्यो, नेपाल प्रहरीको नाकै काटियो ।
नेपाल प्रहरीलाई निडर भएर अनुसन्धान गर्नु, सत्य सेवा सुरक्षा कायम गर्नु भन्ने हो भने यस्ता बलात्कार, हत्या, हिंसाका घटनालाई सात दिनमा दूधको दूध पानीको पानी पारिदिन सक्छ । के गर्ने ? माथिको आदेशले प्रहरी यसरी थिचिएको छ कि सबैभन्दा काविल प्रहरी सर्वेन्द्र खनालसमेत मरीच चाउरिएझैं चाउरिन बाध्य भए ।
उनलाई थाहा छ, प्रहरीले निर्मला पन्तको यौनाङ्ग धुनु हुँदैनथ्यो, सुरुवाल पानीमा पखाल्न पनि हुन्नथ्यो, प्रमाणहरु तष्ट पार्नुहुँदैनथ्यो । यी सबै कर्म छानबिन गर्ने प्रहरीबाटै भयो । तैपनि आइजीपी आमनागरिकको आलोचना खप्की खाएर सहिरहेका छन् । किनकि उनीमाथि माथिको दबाब छ । उनलाई थाहा छ, जे भइरहेको छ, त्यो प्रहरीले गर्ने नहुने काम भइरहेको छ र प्रहरीबाटै अनुसन्धान थाल्ने हो भने एकै दिनमा बलात्कारी र हत्यारा सार्वजनिक हुनसक्छ । राजनीतिक दबाब यसरी बढेको छ कि आइजीपी आफनो व्यवसायिकता शिद्ध गर्न बन्चित छन् ।
नेपाल प्रहरी यति काविल छ कि सुन तस्करी, बलत्कारी, भ्रष्टचारी, दलाली, ठग, घुसखोरी, गुन्डागिरी, हुण्डीजस्ता सबै कालाकाम बारे अप टु डेट छ । तर यी सबै काला कामको संरक्षण राजनीतिक प्रभावशालीहरुले गरिरहेका छन् । प्रहरी सचेत छ, तर गर्न केही सक्दैन, बिचेत छ ।
शान्ति, समृद्धि र सुशासनको नारा दिने सरकार नियमनकारी निकायलाई हनुमान बनाउन चाहन्छ । प्रहरीको नाकमा नत्थी लगाएर राखेको छ । प्रहरीलाई काम गर्ने छुट दिउँ त, अपराधको सातापुत्लो उड्छ, अपराधीको नामोनिशान रहन्न ।
प्रहरी जतिसुकै बदनाम होस्, प्रधानमन्त्री अमेरिकाबाटै भन्छन्– निर्मला पन्तको बलात्कारी पक्राउ गर्न १२ वर्ष लाग्नसक्छ । एउटा प्रधानमन्त्रीले बोल्ने भाषा हो यो ? यस्ता भाषाले शान्ति र सुशासन कसरी कायम हुनसक्छ ? प्रधानमन्त्रीले अपराधीको मनोबल बढाउने कि प्रहरी प्रशासनको ?
प्रहरी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय युवा आयुष विष्टको डीएनए मिलेनछ, तर बम दिदीबहिनीको घरमा पारीतिरका अधिकारी पनि बाक्लै आउने जाने गर्थेरे । कतै पारीकाको हर्कतलाई लुकाउन यति ठूलो जालो रचिएको त होइन ?
जोसुकै होस्, निर्मला पन्तको बलात्कारपछि हत्या, चानचुने विषय रहेन । ७७ जिल्ला नै आक्रोसित भइसकेको छ । बलात्कारी र हत्यारा सार्वजनिक नगर्ने हो भने यो मुद्दाले नेकपाको दुई तिहाईको सरकारमात्र होइन, उसले पाएको जनबलको पहाड पनि पहिरो जानेछ ।
निर्मला पन्तको घटनापछि दिनदिनै यस्ता घटना बढेर गएका छन् । यही मुद्दामा प्रहरी असफल भएपछि अपराधी चम्केर गएको अनुभूत गर्न सकिन्छ । हत्या, बलात्कार, भ्रष्टाचार बढ्नु भनेको मुलुक अराजकतातिर लाग्नु हो । ५ वर्ष कसैले हल्लाउनै नसक्ने सरकार भएर पनि देश अराजक आगोमा झुल्सिन थाल्नु भनेको संविधान फेल हुनु हो, शासनव्यवस्था निस्प्रभावी हुनु हो । प्रतिपक्ष चूप छ, नागरिक प्रतिपक्ष भएका छन्, अव के होला ?