काठमाडौं । बैदेशिक रोजगारमा गएकाहरुको १० वर्षमा ७ हजार शव नेपाल आइसक्यो । कति उतै मरे, मारिए, कति जेलमा ज्यूँदै मरिरहेछन् अथवा विपतमा, सरकारलाई पत्तै छैन ।
प्रधानमन्त्री आफन्तजन अथवा पहुँचवाला, सरोकारवालाको शवमा यसरी आफै गएर शवलाई सलाम गर्छन्, लोककल्याणका लागि प्रभावकारी कुनै निर्णय, योजना लागू गराउँदैनन् ।
सुखको सपना बोकेर बैदेशिक रोजगारीमा जाने युवाहरुको लस्कर कत्ति कम भएको छैन । सरकार रोजगारीको सिर्जना गर्दै गर्दैन, माफियाको चक्करमा परेको सरकार लोकको होइन, बलात्कारी, तस्कर, माफियाको संरक्षण गर्ने गणतन्त्र ।
बेरोजगारहरुका लागि वैदेशिक श्रम बाध्यता हो, कतिपय अभागीहरु यसैगरकफिनमा बन्द भएर फर्किन्छन्, त्यो देशको बाध्यता हुनपुगेको छ । व्यक्ति, समाज र देशको यो दुर्भाग्य हटाउन दुई तिहाईको सरकारले पनि सकेन । प्रयत्न गर्दै गरेको छैन ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड छ । यो बोर्डमा श्रमिकका अवौं रकम जम्मा छ र त्यो रकम पहुँचवाला र सत्तासीनहरु विदेश घुम्नमा खर्च गर्छन्, यातायातदेखि अनेक सुविधामा खर्च गर्छन्, जो विपतमा छ, तिनका लागि यो बोर्डको रकम ल्हासाको सुन हो ।
यही बोर्ड भन्छ– २०६४ सालमा स्थापित यो बोर्डले १० वर्षमा ७ हजार युवा गुमाएको तथ्याङ्क छ । यसमा १५० महिला र ६ हजार ६३९ पुरुष रहेका छन् । क्षतिपूर्ति तिनले पाउँछन्, जसको पहुँच छ, जो बैध मार्गबाट गएका छन् । अवैधमार्ग भएर दलालको चक्करमा जानेको रेकर्ड छैन । तिनीहरु बेवारिसे रुपमा गए, त्यसैगरी मरे । ती नेपाली त हुन्, तिनको सरकार छैन । बोर्डका सदस्य भन्छन्– अवैधानिकको शव कति आयो, कति उतै मरे त्यो संख्या कहालीलाग्दो हुनसक्छ । तिनले क्षतिपूर्ति पाउने कानुनी व्यवस्था छैन ।
सबैभन्दा बढी कफिन साउदी, कतारबाट आउने गरेको रहेछ । यसको अर्थ सबैभन्दा बढी समस्या साउदी, कतार जानेमा रहेछ । तैपनि सरकारले वैदेशिक रोजगारीमा जानेको स्थितिको अनुगमन नगर्नु र तिनले पठाएको र मिटान्सले राज्य चलाउनु दु:खद छ ।
दैनिक २ हजारको संख्यामा वैदेशिक रोजगारीमा जान्छन्, विदेशमा असरल्ल र आपतमा हजारौं छन्, जसको पहुँच हुन्छ, तिनको उद्धार पनि भएको छ, जो निमुखा छन्, तिनीहरु उतै सडेका छन्, मर्ने मरेका छन्, विपत्तिले न देशमा छोड्यो, न विदेशमा छोडेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको काम प्रवद्र्धन कम, क्षतिपूर्ति र बजेटको दुरुपयोगमा बढी गएको देखिन्छ । कारण अहिले पनि कोषमा झण्डै ५ अर्व छ ।
योजना त स्वास्थ्योपचार, अंगभंगको क्षतिपूर्ति, मृत्यु हुनेलाई क्षतिपूर्ति, विदेशमा जेल परेकालाई कानुनी सहयोग, मृतकको शव ल्याउने सुविधा, दूतावासहरुलाई सक्रिय पार्ने लगायतका छन्, तर ती सबै कागजमा छन् र पहुँचवालामा सिमित छन् ।
फर्केकाका लागि पुनर्ताजगीकरण योजना पनि छ । सीप तालिम, आर्थिक सहयोगका योजना पनि छन् । ती सबै कर्मकाण्डी छन् र शवलाई नमस्कार छ, बाँच्नेलाई लोककल्याण छैन ।