काठमाडौं । नेपाली कांग्रेसले पनि मुख खोल्यो, दुई थान वाइड बडी जहाज किन सिधै कम्पनीसँग खरिद नगरी दलालसँग किनियो ? यो खरिद प्रकरणमा ठूलै कमिशनको खेल भएको छ, यसमा छानबिन हुनुपर्छ ।
प्रतिपक्षले आवाज उठाइसकेपछि सत्तापक्षले कुरा सुन्नुपथ्र्यो, सुन्यो तर छानबिन समितिमा नेपाल एयरलाइन्सकै मान्छे जो संलग्न छन्लाई राखिएपछि तिनले आफ्नो गल्ती देखाउलान् र ? नाममात्रको छानबिन हुनेभएपछि यसका कर्ताधर्ता नेपाल एयरका कार्यकारी सुगतरत्न कंसाकार खुशी भएका छन् ।
सुगतरत्न कंसाकार तिनै व्यक्ति हुन्, जसले नेपाल एयरलाइन्सले जहाज तरकारी बजारमा आलुकाउली किनेजसरी किन्न पाउनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । यिनी तिनै व्यक्ति हुन्, जो भ्रष्टाचार मुद्दामा फसेका छन् र भ्रष्टाचारी भनेर चिनिन्छन् । सुशासन र समृद्धि ल्याउन सरकार सुगतरत्नलाई मात्र रुचाउनुको कारण के होला ? यो भ्रष्टाचार प्रकरणमा पर्यटन सचिव पनि मुछिएका छन्, उनी म मात्र जिम्मेवार होइन भनेर पन्छिने गरेका छन् ।
२३ अर्वमा खरिद गरेको दुईथान जहाजको वारेण्टीसमेत नभएको खुलेपछि यो काण्ड खोजी पत्रकारिता बनेको हो र यो प्रकरणमा ६ अर्व ५९ करोड कमिशनको खेल भएको सार्वजनिक भइसकेको छ । तैपनि सरकार यति ठूलो भ्रष्टाचारमा गम्भीर नदेखिनु आश्चर्यको विषय हो ।
दुई तिहाईको सरकारभन्दा हवाई माफिया कतिसम्म दह्रो रहेछ, यो घोटाला काण्डले स्पष्ट पार्छ । आफू शक्तिशाली भएको जुन दम्भ प्रधानमन्त्री देखाईरहेका छन्, त्यो दम्भ उनको एकमात्र एजेण्डा सुशासन र समृद्धिमा देखाउन नसक्दा मुलुक भ्रष्टाचारको दलदलबाट ननिस्कने भयो ।