काठमाडौं । भदौ २४ गते दिल्ली भ्रमण सकेर प्रचण्ड फर्किए । एयरपोर्टमै उनले भने– मोदीसँग सबै विषयमा लामो र गम्भीर छलफल भयो । शीर्ष नेतृत्व तहमा गम्भीरता हुनु राम्रो हो, छलफल देश र देशवासीको हितमा भयो कि भएन ? प्रश्न यो हो ।
नेपाली ड्रेस छाडेर सूटमा सजिएका प्रचण्डले भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरे, भेट्न त उनले गृह र विदेशमन्त्री राजनाथ र सुषमा स्वराजसँग पनि भेटे । यी भेट र गम्भीर वार्तामा नेपाली स्वाभिमान उठाउने के कुरा भए ? चासो यसको हो ।
सीमा अतिक्रमण, सीमामा मारिएका गौतम गोविन्दका कुरा, सीमामा हरेक दिन आवतजावत गर्ने नेपाली लुटिएका कुरा, भारतले सीमामा बनाएका बाँध, पुलपुलेसा, सडक, नेपालीमाथि हुने ज्यादतिका विषयहरु प्रचण्डका एजेण्डा बने कि बनेनन् ? भारतसँग १२ खर्बको व्यापार घाटा कसरी कम गर्ने, नेपाली बस्तु निर्यात कसरी बढाउने, भारतले समय समयमा दिने झण्झट फास्ट ट्याकबाट सुल्झाउने संयन्त्रकाबारेमा प्रचण्डले कुरा गर्न सके कि सकेनन् ? प्रचण्ड दिल्ली गए, गम्भीर
वार्ता गरेर फर्किएको समाचारले महत्व राख्दैन, महत्व नेपाली शीर झुकाएर आए कि शीर उठाउने प्रयत्न गरेर आए भन्ने विषय महत्वको हो । यसबारेमा प्रचण्डले कुनै खुलासा गरेका छैनन् ।
प्रचण्डको लुक हेर्दा लाग्छ, सम्पन्न नेपालका नेता हुन् । नेताले आफू सम्पन्न हुने कि जनता र देशलाई सम्पन्न पार्ने ? यसतिर प्रचण्डको योगदान के छ, कति छ ? सबैका सामु प्रष्ट नै छ ।
देश खोक्रो भइसक्यो । प्रचण्डलाई सम्मान गर्न सिंगो मुलुक आतुर छ, त्यो सम्मान आर्जन गर्नेतिर प्रचण्डको प्रयास नै देखिदैन ।
प्रचण्ड आउने हप्ता चीन जाँदैछन् । चीनमा पनि उनको स्वागत र उनले गम्भीर वार्ता गर्नेछन् । प्रचण्डका वार्ताहरु देशका लागि कि उनको सत्तास्वार्थका लागि ? प्रचण्डले राष्ट्रिय मुद्दाहरुमा कहिले गम्भीर भएर एजेण्डाहरु उठाउने हुन् ?