काठमाडौं । निर्मला पन्तलाई बलात्कार पछि हत्या गरिएको घटना महिना दिन भइसक्यो, नेपाल प्रहरीले दोषीलाई पक्राउ गर्न सकेन ।
यसपछि अर्को बलात्कारको घटना घटिसक्यो, बाल यौन दूराचारको घटना पनि कञ्चनपुरमै घटेको छ । कञ्चनपुरदेखि हेडक्वार्टरसम्मको लिंक के हो ? आइजीपी सर्वेन्द्र खनाल जो डीआइजी हुन्जेल काविल प्रहरी मानिन्थे, आइजीपी भएपछि उनको काविलियत कहाँ हरायो ? उनी किन काम गर्न सकेनन् ? प्रहरी विरुद्ध जनआक्रोश कञ्चनपुरदेखि मेची महाकाली फैलिसकेको छ, आइजीपी मोन छन् ।
सीडीयो फेरिए, प्रहरी हाकिम पनि फेरिए तैपनि बलात्कारी, हत्याराको सुइँको पाएको छैन प्रहरीले । एकजना मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई फसाएर यो प्रकरणलाई रफादफा गर्न खोजेको विषयलाई जनताले नकारिदिए, झूठो भनिदिएपछि आइजीपीको नाक कटक्कै काटिएको हो । यसपछि जनविद्रोहको ज्वाला नै दन्कियो, प्रहरीले गोली चलाउने, कफ्र्यू लगाउनु पर्ने स्थितिसम्म आयो । एकजनाको हत्या पनि हुनगयो । जसलाई सरकारले हतार हतार सहीद घोषणा गर्यो र निर्मला र ती १७ वर्षका खुनालाई १०–१० लाख दिने निर्णय पनि गर्यो ।
सरकारले आफूविरुद्धको जनआक्रोश कम गर्न अनेक तिकडम गरिरहेको छ, नेपाल प्रहरी सरकारको अंग त हो, यसले आफ्ने कर्म आफैले गर्नुपर्छ, आफ्नो धर्म आफैले निभाउनु पर्छ । जनतामैत्री देखिनै पर्छ, जनताको सेवा गर्नैपर्छ । सेवा गर्न आइजीपी सर्वेन्द्र खनाल नराम्ररी चिप्लिन पुगेका छन् । जीवनभर कमाएको इज्जत गुम्ने खतराको विन्दुमा छन् यिनी ।
नामी प्रतिद्वन्द्वीहरुलाई पछि पारेर आइजीपी बनेका हुन् यिनी । आइजीपी बने, आइजीपी कस्तो हुनुपर्छ, सुधारका केही काम सुरुआत पनि गरे । तर निर्मला पन्तको घटनामा यिनको क्षमता र दक्षता, प्रहरीमा हुनैपर्ने सत्य सेवा सुरक्षा अर्थात काममा चुके, चिप्लिए । अझै समय छ, आइजीपीले बलात्कारी, हत्यारालाई जनतासामु उभ्याएर सशक्त प्रहरीको छवि बनाउने ? अबेर किन गरिरहेका छन् यिनी । कतै राजनीतिक दबाबले हत्यारा बचाइरहेका त छैनन् ?
एपीलाई बचाउने कि साख ?
पूर्व माओवादी हुन् गृहमन्त्री रामवहादुर थापा । गृहमन्त्री आफै निलम्बित एसपी डिल्लीराज विष्टलाई बचाउन लागेको आरोप छ । बिष्टका साथीहरु र पूर्वमाओवादीहरु बिष्टलाई बचाउन लागिपर्नुले जनयुद्धका पीडितकोजस्तै हालत निर्मलाका परिवारको हुने खतरा बढेर गएको छ ।
पूर्वमाओवादी नेताहरुको सिफारिसमा कञ्चनपुर सरुवा भएका बिष्टलाई बचाउन जिल्लादेखि केन्द्रसम्मका, नेतादेखि मन्त्रीसम्म लाग्नुले दालमा कालो धेरै देखिन थाल्यो । यही घनचक्करमा आइजीपी मरीच चाउरिएझैं चाउरिन बाध्य भएको तर्क पनि व्यापक बन्दै गएको छ ।
यस्तै हो भने नेपाल प्रहरी नेताको हजुरिया बनिरहने र समाजमा अपराध बढेर जानेमा शंका नगरे हुन्छ ।