Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सर्वहाराका नेता धनी कसरी भए ?

११ सोमबार , भाद्र २०७५६ बर्ष अगाडि

कांग्रेस, राप्रपा त त्यसै पनि पुँजीवादी पार्टी, तिनले राजनीतिलाई व्यवसाय बनाएर सही गलत काम गरे, कमिशन र भ्रष्टाचारको उधुम मच्चाएर कमाए होलान्, कुनै दिन शक्तिशाली छानबिन भयो भने तिनको आन्द्राभुँडीमा कुन प्रकारको लाइ र काइ त देखिएला ?
आजको मूल प्रश्न के हो भने आफूलाई सर्वहाराको नेता, जनजीविकाका लागि राजनीतिमा लागेको, पार्टीको घोषणापत्र र मूल नीति नै सर्वहाराको उत्थान भएका कम्युनिष्टहरु धनी कसरी भए ?
०४६ सालसम्म कम्युनिष्ट, कांग्रेसहरु थोत्रो चप्पल लगाएर ख्याउटे भएर हिड्ने गरेका थिए । त्यसपछि उनीहरुको जीवनमा यत्ति धेरै प्रगति देखियो कि कुनै पनि उद्यम, व्यापार नगरीकनै कम्युनिष्टहरु धनाध्ये हुनपुगे ।
राजनीतिमात्र गर्ने, राजनीतिमा पनि धनको फल लाग्ने, गजबको खेती रहेछ राजनीति । राजनीतिक पार्टीलाई पसल भने पनि हुन्छ, व्यापार भने पनि । यसरी फस्टाउँछ कि पेट्रोलपम्पवाला फस्टाएझैं । आयल निगम सधैं घाटामा जान्छ, मनलागी मूल्य बढाएर नाफाको नाटक देखाउँछ तर त्यही आयल निगमबाट पेट्रोलियम पदार्थ किनेर बेच्ने पम्पवालाहरु वर्षेनी करोड, अर्व कमाउँछन् । यो सब के कसरी ?
सर्वहाराका लागि जनयुद्ध गर्ने, सर्वहाराका लागि झापा बिद्रोह गर्ने, जनजिविकाका लागि १४ वर्ष गोलघरमा थुनिएर निस्केका केपी ओली अथवा जनयुद्धलाई जनआन्दोलनमा रुपान्तरण गरेर जंगलबाट लोकतन्त्रमा पदार्पण गरेका प्रचण्ड, दुबै दुई दुईपल्ट प्रधानमन्त्री बने, यतिबेला ओली र प्रचण्ड नेकपा जेटका दुई पाइलट बनेका छन्, सत्ताको हाकिम ओली नै छन्, यिनले देखाएको सम्पत्ति विवरणले पनि यिनी धनाध्ये हुन् । प्रचण्ड त त्यसै पनि धनाध्येमा दरिन्छन्, उनलाई सबैभन्दा धनी र यी दुबै नेताले पूर्व माओवादी केन्द्र र एमालेदेखि हालको नेकपा एसियाकै धनाध्ये पार्टीमा गनिन्छ ।
यो मन्त्रिपरिषददेखि यसअघिका मन्त्री प्रधानमन्त्री बनेका माधव नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराईसमेत धनाध्ये नै हुन् । यिनको सम्पत्ति विवरण हेरौं अथवा यिनले श्रीमतीको नाममा राखेका सम्पत्तिले पनि यिनलाई धनाध्ये मै गन्न मिल्छ । सर्वहाराका नेता यति धेरै धनी कसरी बने, कारण के हो ? सर्वहाराका नेताहरुले धन देखाए, धन लुकाए, धन कहाँबाट प्राप्त भयो, त्यसको हिसाव किताव देखाउनु पर्ने कि नपर्ने ?
लेवी उठ्यो भने कति उठ्यो, चन्दा प्राप्त हो भने कसले दियो, दिनेको हैसियत के हो ? यतिमात्र होइन, श्रीमतीका नाममा राखेका धन कालो धन, भ्रष्टाचारको कमाई पनि हुनसक्छ, त्यसको पनि छानबिन हुनुपर्छ । यसरी छानबिन गर्दा सर्वहाराका नेताको मात्र होइन, समाजवादी अथवा पूर्वपञ्चहरुको पनि छानबिन हुनुपर्छ । छानबिनमा पूर्व विशिष्ट श्रेणीमा रहेर अथवा अन्य लाभको पदमा बसेर कमाएकाहरुको पनि छानबिन हुनुपर्छ, कसैमाथि दया गर्नुपर्ने कारण छैन ।
देश गरीव छ, गरीवमाथि कर र ऋणको भार थपिदैछ । सर्वहारा बर्ग बढ्दा छन्, केही व्यक्ति रातारात धनाध्ये बन्दैछन्, माफिया र तस्करको बोलवाला बढेर अशान्ति बढ्दैछ । 
चुरो कुरो कम्युनिष्टहरु आफूलाई सर्वहाराको नेता भन्न रुचाउँछन् । सर्वहाराका नेता लखपति, करोडपति, अर्वपति । योभन्दा देश र सर्वहारा बर्गको दुर्भाग्य अरु के हुनसक्छ ?