काठमाडौं । नयाँवर्षपछि दशैंको भाकामा पनि मेलम्ची नआउने भएपछि सरकारले बागमतीको पानी शुद्ध पारेर राजधानीबासीलाई पिलाउने व्यवस्था मिलाएको छ । गत शनिवारदेखि सुन्दरीजलको साँढे ८ करोड लिटरको पानी टेंकीमा बागमतीको पानी हालेर प्रशोधन सुरु भएको छ । मेलम्चीको पानी ल्याउन विछ्याएको राजधानीभरिको पाइपमा यही पानी वितरण हुने हो ।
प्रचण्डकी बुहारी मन्त्री बिना मगर पनि वचनमा पक्का भइनन्, सभामुख कृष्णबहादुर महरासमेत पुगेर प्रशोधन केन्द्र शनिवार उद्घाटन गरेका हुन् ।
यो पानी प्रशोधन केन्द्र पनि जापानको जाइकाले बनाइदिएको हो । फागुनमा बनेको यो पानी टंकी घामले सुकिरहेको थियो, बागमतीको पानी हालेर भिजेको छ, अव यही प्रशोधन केन्द्रमा प्रशोधन भएको बागमतीको पानी राजधानीमा वितरण हुनेछ । मेलम्चीको पानी शुद्ध पार्ने ठाउँमा बागमतीको पानी शुद्ध पारिदैछ ।
बागमतीको दैनिक ३ करोड लिटर पानी शुद्ध पारेर हप्तामा ५ दिन यही पानी राजधानीका ७० हजारभन्दा बढी धारामा बितरण गरिने मेलम्ची आयोजनाले जनाएको छ । यो पानी वितरण थालिएको नयाँ खबर पनि सार्वजनिक भएको छ ।
मेलम्ची नआउन्जेलका लागि यो व्यवस्था गरिएको हो । मेलम्ची आएपछि बागमतीको पानीको आवश्यकता नपर्न पनि सक्छ भन्छन् मेलम्चीका अधिकारीहरु ।
मेलम्ची किन आएन, यसबारेमा सुरुङ नै समस्या रहेको तिनको भनाइ छ । २७.५ किलोमिटर सुरुङ असारमा सक्ने र अशोजमा पानी वितरण गर्ने भनिएको थियो । काम सम्पन्न हुन सकेन । २०१३ सालदेखि आजसम्म यति सुरुङ खन्न सकिएन, विकासको गति यस्तो छ ।
ठेकेदार र कर्मचारीको मिलोमतो, राजनीतिक नेताहरुको भ्रष्टाचारी चरीत्र र अनेक कारणले २०४८ सालमा उठान भएर अघि बढेको मेलम्ची आयोजना आजसम्म पनि कमिशनले थिलथिलो बनेको योजना भएको छ । राजधानीसँग सम्बन्धित आयोजनाको त यो हालत छ भने देशका अन्य भागहरुमा सञ्चालित विकास आयोजनाको हालत कस्तो होला ?