Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दुलही बनाएर महिला बेचिने देश नेपाल

०७ सोमबार , श्रावण २०७५६ बर्ष अगाडि

काठमाडौ । चीन, जापान, कोरिया र अन्य मुलुकका पैसावाला बुढा खोज्ने र तिनलाई कोर्ट म्यारेज गराएर सँगै पठाएर पैसा कमाउने धन्दा पनि खूब चलेको छ । कागजी बिहे गराएर मानव बेचबिखनको यो धन्दामा फसेका धेरै महिलाहरुको बिजोगका घटनाहरु सार्वजनिक भइरहेका छन् ।
विदेशी केटा, नेपाली दुलही । दुलही बनाएर नेपाली महिला बेचबिखनको यो धन्दा फेरि बढ्न थालेको छ । नेपाल घुम्न आएका विदेशी अथवा सेटिङमा नेपाल बोलाएर उनीहरुसँग नेपाली महिलाको कागजी बिहे गराएर पठाउने अनेक समूहहरु सक्रिय छन् । सुरक्षा स्रोत भन्छ– कानुन कमजोर भएकाले यस्ता गिरोहहरुले लाभ उठाइरहेका छन् । कानुनको छिद्रबाट बच्दै आएका छन् ।
पेपर म्यारिज हो, चीन, जापान, कोरिया पुगेपछि टन्न कमाउन पाइन्छ भनेर लोभमा फसेर पनि धेरै केटीहरुले जीवन बर्बाद पारेका छन् । कतिपय महिला त आफै म्यारिज ब्यूरो पुगेर विदेशीसँग म्यारिज वा पेपर म्यारिज गराएर पठाइदेउ भन्न जाने गरेका पनि छन् । नेपाली महिला र विदेशी पुरुष दुवैतिरबाट लाखौं कमिशन खाएर जुटाइदिने दलाल समूहले त कमाउँछन्, महिलाहरु भने विदेश पुगेपछि नारकीय जीवन बिताउनु परेको, कति त कोठीमा पुर्‍याइने र कतिलाई बेच्ने गरेका घटनाहरु पनि सार्वजनिक भएका छन् ।
कतिपय खाडीलगायतका मुलुकमा पनि पेपर म्यारिज गरेर जाने गरेका छन् । अधिकांश पेपर म्यारिजमा विदेश जाने महिलाहरुको जीवन दु:खदायी बन्ने गरेको छ । धेरैले देह व्यापारमा लाग्न बाध्य हुनुपरेको छ । कतिपयले आत्महत्या समेत गरेका छन् । आफूभन्दा बिसौं, तिसौं वर्ष जेठोसँग राजीखुशी बिहे गरेर जानेको कथा व्यथाबारे सरकारले कहिल्यै अनुसन्धान गरेको छैन ।
एकाध महिलाहरु विहे गरेर गएपछिको यातना सहन नसकेर अनेक जुक्ति लगाएर फर्केका पनि छन् । दूतावास, मानवाधिकारवादी र केही नेपालीकै प्रयासमा नेपाल फर्कनेहरु भन्छन्– पेपर म्यारिज डरलाग्दो आकर्षण हो । जबरजस्ती राख्न, बलात्कार गरिरहन्छन्, उम्किन मुस्किल छ, तिनको अनुभव ।
हुन त केही वर्षअघि म्यारिज व्यूरो सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि पेपर म्यारिज केही मन्द भएको पनि हो । तथापि सेटिङमा पेपर म्यारिजको धन्दा अहिले पनि चलिरहेकै छ । चीन, कोरिया, जापानलगायतका मुलुकमा सामाजिक सेवा गरिरहेका महिलाहरु भन्छन्– पेपर म्यारिज महिलाका लागि अर्को काल हो । शारीरिक र मानसिक यातनाको जड हो । प्रहरी भन्छ– ती देशका ५० नाघेका प्रौढहरु नेपाली युवती भनेपछि हुरुक्कै हुन्छन् । नेपाली युवती लोभमा पर्छन्, फस्छन् र नारकीय जीवन बिताउन बाध्य हुन्छन् । विदेशीहरु नेपाली युवती पाउन जति पनि खर्च गर्न तैयार भएका 
घटनाहरु पनि छन् । केही वर्षअघि एक युवतीलाई कोरियाली श्रीमानले आफैले अर्कोलाई बेचेको फेला परेपछि नेपाल पठाइएको घटना पनि प्रहरीको रेकर्डमा रहेको छ ।
ती मुलुकहरुमा नेपाली महिलाहरुले बिपतमा परेकालाई आश्रय स्थल पनि खोलेका छन् । जापान र कोरियामा ६०–६० हजारभन्दा बढी नेपाली रहेका छन् । हरेक दिन कुनै न कुनै नेपाली विपतमा परिरहेको भेटिनु सामान्य घटना हो भन्छन् उनीहरु । प्रहरीकै अनुसार मानव बेचबिखनको नयाँ तरिका हो पेपर म्यारिज । प्रहरी हर्कतमा आएपछि यस्ता घटनामा केही कमी आएको छ ।
कोरिया, चीन र जापानी दूतावासका अधिकारीका अनुसार विवाहको बहानामा नेपाली महिलालाई पठाइने गरिएको छ । यसरी जाने महिलाहरु समस्यामा समेत पर्ने गरेका छन् । गुनासो धेरै आयो, दूतावासले सकेसम्मको कडाई गरिएको छ । हालसम्म ३ हजारभन्दा बढी नेपालीले पेपर म्यारिज गरेर गइसकेको प्रहरी स्रोतको दावी रहेको छ । नक्कली विहे बारे ४५ मुद्दा प्रहरीले चलायो तर कडा कारवाही केही हुनसकेको देखिदैन । विहेको नाममा दुलही बनाएर विदेश लैजाने र यौनदासी बनाएर राख्ने प्रवृत्तिबारे विश्वचासो बढेको छ । सरकारको चासो शून्य देखिन्छ ।