काठमाडौं । वर्तमान परिप्रेक्षमा राजसंस्थाको भूमिका खोज्ने काम राप्रपाले गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७२औं जन्मोत्सवको साइत पारेर राप्रपा कला, साहित्य र संस्कृति विभागले यस प्रकारको विचार गोष्ठी गरेको हो । यो विचार गोष्ठीका अगुवा थिए पूर्व राजपरिषदका सदस्य यज्ञप्रसाद आचार्य, रत्नकमल बैद्य, वालाराम घर्ती ।
यो विचार गोष्ठीको निष्कर्ष थियो– पद्धति बदलियो होला, राजसंस्था नेपाल निर्माता भएकाले यसको भूमिका कहिले पनि गौण हुनसक्दैन । राजसंस्था नेपाल रहेसम्म रहिरहन्छ र यसको भूमिका पनि भइरहनुपर्छ । राप्रपाले पनि हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि पार्टीलाई समाहित गर्ने निर्णय गरिसकेको छ ।
यसैवीच राप्रपाले भोलि साउन २ गतेदेखि हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि राष्ट्रिय जनजागरण अभियानको थालनी गर्दैछ । यो अभियान देशैभरि चलाउने र हिन्दुराष्ट्रका लागि जनसक्रियता र समर्थन जगाउने उद्देश्य राप्रपाले राखेको देखिन्छ ।
स्मरणीय छ, पहिले पनि राप्रपाले मेचीकाली रथयात्रा गरेको थियो । जसको परिणाम राप्रपा संसदमा चौथो शक्ति बनेको थियो । यस्तो शक्तिलाई अझ शक्तिशाली बनाउन ३ टुक्रा बनेको राप्रपालाई एक बनाउने काम पनि भयो तर पदको भोकका कारण फेरि तीन टुक्रा हुनपुग्यो । यतिबेला पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको तप्का कमल थापा नेतृत्वको राप्रपासँग एकीकरणको वार्तामा छ । अवको एकीकरण चट्टानजस्तो हुने कुरा राप्रपा नेता मोहन श्रेष्ठ बताउँछन् । एकता नभाँडिएको भए राप्रपाको उपस्थिति सम्मानजनक हुनेथियो, यस्तो बेहालको हुने थिएन ।