काठमाडौं । जुन दिनसम्म लोकमान सि.ह कार्की थिए, अख्तियार बाघै थियो । साना ठूला भ्रष्टाचारीको सातो जाने गथ्र्यो । अव म ठूला माछा समात्छु भनेर जनकपुरबाट लोकमानले के भाषण गरे, राजधानीमा सनसनी फैलियो र लोकमानलाई कसरी मिल्काउने भन्ने राजनीतिक सरगर्मी बढ्यो ।
तस्करले तताउने, माफियाले उचाल्ने अनि राजनीतिमा तरङ्ग उत्पन्न हुने । नभन्दै महाभियोग लगाउने तैयारी भयो र लोकमान सिंह कार्कीलाई तर्साएर हटाइयो । लोकमानले भनेकै हुन्– ममाथि महाभियोग लगाइयासे, म संसदमा जवाफ दिन रोष्ट्रममा जानेछु र सबैको आन्द्राभुँडी देखाइदिनेछु ।
यस्तो चक्रव्यूह तैयार गरियो कि लोकमान गलत हुन्, लोकमान भ्रष्ट हुन्, लोकमान अयोग्य हुन्, लोकमानलाई फाल्नैपर्छ । फालियो । बाघजस्तो अख्तियारलाई हनुमान बनाइयो ।
अहिले अख्तियार भनेपछि कार्यालयको सहायक पनि डराउन्न । अखितयारले मुद्दा हाल्यो भने अदालतले धरौटीमा छाडिदिन्छ कि सफाई दिन्छ । दुई तिहाई भएको सरकारले गरेको निर्णयलाई त अदालतले उल्टाइदियो, कार्यान्वयन नगर्नु भनिदियो । अख्तियार देख्नाका डाल खानाका काल मात्रमा सिमित भइसककेछ ।
संवैधानिक अंग हो अख्तियार । देशमा सुशासनका लागि मुख्य भूमिका अख्तियारकै हुनेगर्छ । जब अख्तियारालाई हनुमान बनाइयो, राजनीतिक प्रभाव र दबाब झेलेर चुर्मुकिने संस्थामा सिमित गरियो, यसपछि अख्तियारको नूर गिरेको छ ।
आयल निगमले सवाअर्व भ्रष्टाचार गर्यो, संसदकै टोलीले यही भन्यो, जग्गा विक्रेताले यही भने, अख्तियारले हेर्दा पनि हेरेन । एयरपोर्टमा ४८ टन सुन काण्ड मच्चियो, ३३ किलो सुनकाण्डले सनम शाक्यको ज्यान समेत लियो, तैपनि अख्तियारले त्यता फर्कने काम गरेन । सरकारको निर्णय विपरित मालपोत, भूमिसुधार, नापीमा दिनदिनै भ्रष्टाचारको पहिरो गइरहेको छ, अख्तियार त्यता हेर्दा पनि हेर्दैन । असारे विकासको भेल छुट्यो, डरलाग्दा भ्रष्टाचारका काण्ड मच्चिए, अख्तियारले आँखै खोलेन । गृहले ठेक्का लिने काम नगर्नेलाई कारवाही गर्छु भन्यो बरु, अख्तियार ठेकेदारकै कम्पनीको पियनजस्तो बनेर हेरिरह्यो, सुनिरह्यो । गृहले एनजीओको सम्पत्ति छानबिन गर्छु भन्यो र पछि हट्यो, अख्तियार अघि सरेन । कहिले कहिले ज्यूँदै छु भनेर कुनै कुनै कार्यालयमा पत्र काट्छ अनि मजाले कम्भकर्ण बनेर सुत्छ । यस्तो अख्तियारले सुशासनको पहरेदार कसरी बन्नसक्छ होला ?
एक अध्ययनले भनेको छ– राजधानीका कर्मचारी एक नम्बरका भ्रष्टाचारी । राजधानी यस्तो छ, धनकुटाका अदालतका कर्मचारीले अदालतमै भोज खाएर नाचे, मदिरा पिए, अख्तियार देख्दैन । जब अख्तियार अख्तियारीको दुरुपयोग कहाँ कहाँ भइरहेछ भनेर हेर्देन, थाहा पाउँदैन भने यस्तो सेता हात्तीलाई संवैधानिक निकाय बनाएर जनताले पालिराख्नुको तुक के ? खाएपछि जनताको काम त गर्नुपर्यो नि ।