नवलपरासी। माडी नगरपालिकाको सोमेश्वर गडी। कालिका मन्दिर। चैते दसैंका अवसरमा दर्शन, पूजा गर्न गएका भक्तालु नेपाली महिला, पुरुषहरुलाई एसएसवीले लघारेका छन्। कतिपय महिला, युवतीमाथि दुर्व्यवहार गरेका छन्। हतियारधारी
एसएसवी नेपाली भूमिमा पसेर यसरी त्रासदी र अमानवीय व्यवहारगर्दा पनि नेपाल सरकार मौन छ। भारतको नरेन्द्र मोदीको सरकारलाई यो के गरेको? बन्द गर भनेर भन्ने ताकत नेपाल सरकारले राख्न सकेन। खुबै स्वाधीनता र सार्वभौमिकताको गफ
चुट्ने राजनीतिक दलका नेताहरुसमेत यसबारेमा केही बोलिरहेका छैनन्।
राष्ट्रपतिले ठूला दलका नेताहरुलाई बोलाएर चियापान गराए, चीन जाँदैछु, के भनौं चीनलाई भनेर सुझाव लिए तर सोमेश्वर गडीमा जे भइरहेको छ, एसएसवीको आतंक रोक्न राष्ट्रपतिले सरकार र प्रतिपक्षी नेताहरुलाई थलोमै जान समेत आग्रह गर्न
सकेनन्। यस्ता छन् हाम्रा राष्ट्रपति र नेताहरु? अहिले पनि सोमेश्वर गडी, कालिका मन्दिर परिसरमा एसएसवी हतियारसहित मार्च गरिरहेको छ। प्रमुख जिल्ला अधिकारी भन्छन्, १० गते (आज) सर्वदलीय टोली लिएर जाने कुरा गर्छन्। नेपाली भूमि
अतिक्रमण गरेर विदेशीले हतियारसहित मार्चा गरिसक्यो, सरकार आलटाल गरिरहन्छ भने यो कस्तो सरकार हो? नेपाली क्षेत्र, नेपाली मन्दिर, दर्शन गर्न रोक्ने एसएसवी को हो? भारतीय हतियारधारीको नेपाली भूमिमा मार्चपास किन भइरहेको छ?
निरन्तर सीमा अतिक्रमण भइरहेको छ, अव सशस्त्र टिम हस्तक्षेप गरिरहेको छ, हामी कहाँ छौं?
एसएसवीको नाङ्गो नाच, भाग्यो सशस्त्र बल
महोत्तरीको बथनाह, मुसहर बस्तीमा एकाएक भारतीय सीमा सुरक्षा बल 'एक एकको ठोक देंगे' भन्दै पस्यो र मुसहर बस्तीलाई भत्काइदियो। राजधानीमा तिनवटै माओवादीको दलित मोर्चा सत्ता कव्जा गर्ने गफ चुटिरहेको थियो, महोत्तरीमा दलितको
बस्ती भारतीय एसएसवीले कब्जा गरिरहेको थियो। बोलेन तिनवटै माओवादी र मोर्चामा आवद्ध विभेदबाट मुक्ति चाहने मोर्चा। यो चैत ४ गतेको घटना हो। हप्ता दिनमा पनि नेपाल सरकारले यसबारेमा कुनै कदम चाल्न सकेन। स्थानीय प्रशासनले
सशस्त्र बललाई आदेश दियो तर सशस्त्र पनि घटनास्थलमा जान सकेन, भाग्यो। हुन प नि २ सयभन्दा बढी हतियारधारी एसएसवी आएर मुसहरहरुलाई लातका लात खाँदे, मुक्काले कुटे अनि लाठीले मुसहर बस्ती भत्काइदिए। दलितबस्तीमा हाहकार
छ। दलितहरु आतंकित छन्। तिनीहरुका लागि नेपाल सरकार छैन, प्रशासन छैन। तिनलाई सुरक्षा दिने सशस्त्र बल पनि छैन।
एसएसवीले खाने सामल यत्रतत्र छरिदिए। दलित भन्छन्: न घर रह्यो, न अन्नपात। न ओछ्यान बच्यो, न गोबरका गुइठा। केही पनि त छैन। आँधी आएजस्तो आए, सबै भताभुङ्ग पारेर गए। केही एसएसवी दिनदिनै आएर तर्साएर जाने गरेका छन्। 'हमको
बचाइए' भनेर चिच्याइरहेका छन्, मुसहरुहरु। मुसहर र बस्ती बचाउन कोही गइरहेका छैनन्।