काठमाडौं । ग्रेटर नेपालका अधियन्ता फणिन्द्र नेपालकाअनुसार राजा वीरेन्द्रले राखेको नेपालको शान्ति क्षेत्रको प्रस्तावमा भारतले ग्रेटर नेपालको गन्ध पाएको थियो, त्यसैले वीरेन्द्रको बंश बिनास र राजतन्त्र उन्मूलन गरेको हो । उनकाअनुसार
तत्कालीन राजा श्री ५ वीरेन्द्रले २०३२ साल (२५ फेब्रुअरी १९७५) मा विश्वसमक्ष नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राखे । सात सूत्रीय उक्त प्रस्तावको छैठौं सूत्रमा अरू देशसँग सम्पन्न भएका सबै सन्धि सम्झौताहरू वैध रहेसम्म नेपालले कदरका साथ ती सन्धिहरूप्रतिको दायित्वलाई निर्वाह गरिरहनेछ । भनिएको छ ।
११६ भन्दा बढी राष्ट्रहरूले यसको समर्थन गरे पनि भारतले चाहिं गरेन । भारतले समर्थन नगर्नुको एउटामात्र कारण के थियो भने यो प्रस्तावको समर्थन गर्नासाथ उसले सुगौली सन्धि वैध नरहेको स्वीकार गरेको ठहरिन्थ्यो । भारतले प्रस्ताव स्विकार्ना साथ ग्रेटर नेपाल निर्माणको प्रक्रिया स्वत: सुरु भएको मानिन्थ्यो । वीरेन्द्रको प्रस्ताव नं. ६ मा वैध सन्धिमात्र नेपालले कदरका साथ मान्ने उल्लेख छ ।
तत्कालीन राजा वीरेन्द्रको आशय सन् १९५० जुलाई ३१ मा भएको नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरेको हुँदा सुगौली सन्धि वैध होइन ।
पञ्चायतको अन्त्यपछि २०४७ सालको संविधानले जब राजतन्त्रलाई संवैधानिक बनायो, के कांग्रेस के कम्युनिस्ट सबैले यो प्रस्ताव अघि बढाउनुका सट्टा भारतीय पदचिन्ह नै पछ्याए । के गणेशमान, के कृष्णप्रसाद, के गिरिजा, के मनमोहन, के मदन भण्डारी कसैले यसमा ध्यान दिएनन् ।
यसबारेमा सबभन्दा बढी चासो भारतीयहरूलाई नै छ । सन् १९८८ मा नयाँदिल्ली स्थित राज प्रकाशनले डा. सीताराम शर्माको द पोलिटिक्स अफ ग्रेटर नेपाल नामको १८२ पृष्ठको पुस्तक प्रकाशित गरेको थियो । यसमा सुगौली सन्धिमा गुमेको जमिन फिर्ता लिनु नै शान्ति क्षेत्रको प्रस्तावको मुख्य ध्येय थियो भनिएको छ ।
फणिन्द्र नेपालका अनुसार यथार्थमा नेपाललाई पकडमा लिन र आफ्नो निर्देशनमा चलाउनका लागि समेत नेपालबाट राजतन्त्र उन्मूलन गर्नुथियो, अन्तत: यसमा भारत सफल भयो । भारतकै दबाबमा नेपालको दरवार हत्याकाण्डको अहिलेसम्म स्वतन्त्र छानबिनसमेत गराइएन । दरवार हत्याकाण्ड जासुसी उपन्यासजस्तो रहस्यमय बनाइएको छ । दरवार हत्याकाण्डको यथार्थबाट जनताले सुसूचित हुन पाएका छैनन् ।
साथमा विजय ज्ञवालीसहित फणिन्द्र नेपाल ।
हुन पनि नेपालले विश्वमा आफ्नै प्रकारले अघि बढ्न खोजेको विषय भारतका लागि लामो समयदेखि अपाच्य थियो । जुनसुकै कुरामा पनि भारतको अनुमतिमा मात्र नेपालले विश्व समुदायमा पाइला चालोस्, नेपाल भारतको पकडमा छ भन्ने देखाउन चाहन्थ्यो भारत । त्यो विषयमा राजा वीरेन्द्रले यसरी फड्का मारे कि भारत आक्रोसित थियो । पूर्वाग्रही बनेको थियो ।
यहाँसम्म कि नेपालको वायुसेवाले सिधै युरोपलगायतका मुलुकमा उडान गरेको समेत भारतलाई मन परेको थिएन । नेपालको विकासमा भारतको अनुमति नलिई ठेक्का दिनसमेत भारतले अदृश्य बन्देज लगाएको थियो । यहीकारण जनयुद्धजस्तो महाकाल डिजाइन सिर्जना गरेर भारतले ठूलो जनधनको क्षति गरायो, दरवार हत्याकाण्ड मच्चायो र राजतन्त्रको अन्त्य गरेर हिन्दुधर्मको समेत बिनास गरिदियो । यो कुराको पर्दाफास नहोस् भनेर छानबिन समेत रोकिदियो ।