Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कसलाई फसाउने को को बच्ने ?

१४ सोमबार , जेठ २०७५८ बर्ष अगाडि

काठमाडौं । चुडामणि उप्रेती उर्फ गोरेले पनि अदालतसमक्ष आफू सुन भरियामात्र भएको बयान दिए । एसएसपी श्याम खत्रीसँग बयान लिनु, सबै सुन तस्करीको रामकहानी स्पष्ट हुन्छ भनेर सनम शाक्यलाई करेण्ट लगाएर मारिएको बारेसमेत दु:ख लागेको बताए ।
उनले यतिमात्र होइन, २ करोड डिल गरेर कलकत्ता भागेको पनि बताए । मुख्य कुरा सुन तस्करीको जालोमा उच्च पदस्थ प्रहरी, ठूला नेतासमेतको संलग्नता छ भनेर गोरेले जुन बयान दिएका छन्, यसपछि राजनीतिक र सुरक्षा निकाय, कर्मचारी बर्गमा आतंक फैलिएको छ ।
यहीकारण साँढे ३३ किलो सुन प्रकरणमा गोरेलाई फसाएर यो काण्डलाई यत्तिकै सामसुम पार्ने कसरी भनेर योजना बन्न थालेको  छानबिनमा खटिएकाहरुको श्लो गतिले समेत अनुमान गर्न थालिएको छ ।
यद्यपि गोरेले ठूला प्रहरी हाकिम र नेताको नाम खोलेका छैनन् । उनले एसएसपी श्याम खत्रीतिर देखाएर आफू जेल चलान भएका छन् । तर गोरेले आफ्नो थप सुरक्षा माग गर्नुले उनी मारिन्छु कि भनेर निकै डराएको प्रष्ट देखिन्थ्यो । सुन प्रकरण र सनम शाक्य हत्यामा मुख्य अभियुक्त यिनैलाई बनाइएको छ । तर यिनी भन्छन्– म मुख्य होइन, मुख्य त प्रहरी र राजनीतिमा छन् । यति गम्भीर कुरा आइसकेपछि सरकारले तत्काल यस मामिलामा शक्तिशाली छानबिन आयोग गठन गरेर निष्कर्षमा पुग्नुपर्ने हो, त्यतातिर सरकारले नसोचेको प्रधानमन्त्रीको कुराबाट प्रष्ट भएको छ । प्रधानमन्त्रीले सुन काण्डमात्र होइन, सम्पत्तिवाला अरुको पनि छानबिन गराउन सरकारले सोचिरहेको बताए ।
यसको अर्थ यही हुन्छ कि यो साँढे ३३ किलो सुन काण्डबारेको मुद्दालाई यूटर्न दिन खोजिदैछ । यसमा राजनीतिक र प्रहरीसमेत लागेको अनुमान छ ।
गोरेले म मुख्य होइन भनेपछि मुख्य को त ? गृहमन्त्रीकै अनुसार पनि ४८ टन  सुन तस्करी भएको छ केही समयमा । ४८ टन सुन तस्करी गर्ने मुखुण्डोधारी नेता, हाकिम को हो, सर्वशक्तिमान हुँ भन्ने सरकारले त्यति काम त गर्नैपर्छ । तस्करीको महाभारतको अन्त्य अहिले नगरिए फेरि पनि तस्करीधन्दा चालु रहन जानेछ । सुन तस्करी हुनेगरेको हो, माथि माथिसम्मका मान्छे संलग्न छन्, मत तल्लो स्तरको भरियामात्र हुँ । गोरेजस्ता तस्कर जसले सनम शाक्यलाई करेण्ट लगाएर मारे, उनी आफूलाई भरिया भन्छन् भने मालिक पत्ता लगाउने जिम्मा सरकारको हो, विशेष अनुसन्धानको खाँचो छ ।
६३ जना संलग्न सुन काण्डमा अहिलेसम्म आधामात्र पक्राउ परेका हुन्, बाँकी फरार छन् । यसकारण सरकारले एउटा सर्वशक्तिमान आयोग बनाएर नेपालमा हुने गरेका सुन तस्करीका घटनाको रौंचिरा खोजबिन गर्न गराउन सक्छ, यसमा कुन कुन राजनीतिक नेता, कुन कुन प्रहरी, राष्ट्रिय अनुसन्धान, अध्यागमनका कर्मचारी संलग्न छन्, तिनको पनि मुखुण्डो उत्रने थियो ।