काठमाडौं । चतुर नेता बन्न सफल भएका केपी ओलीले पूर्वराजालाई पूजापाठका नाममा तमासा नदेखाउन आग्रह गर्दै गणतन्त्र दिवसमा सहभागी हुन आफै निम्तो दिने बताएका छन् ।
पूर्वराजाले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन भएपछिको १५ दिनमा राजदरवार छाडेर नागार्जुन जंगलतिर लागेका हुन् र आजसम्म पूर्वराजाले राजसंस्थाको धर्मनिर्वाह गर्ने बाहेक लोकतन्त्रमा आघात पुग्ने कुनै काम नगरेर केपी ओली र प्रचण्ड मिलनबाट नेकपा जन्माउने धन्दासम्म पनि सघाइरहेकै छैन ।
पूर्वराजाको त्यो सदाशयतालाई खिसीट्यूरी गर्नु कम्तिमा ओलीजस्ता नेपाली राजनीतिको नसनाडी छाम्न सक्ने प्रखर नेताका लागि सुहाउने विषय थिएन तर ओलीको अभिव्यक्तिको अन्तर्य पूर्वराजालाई सम्मानजनक स्थान दिन यो कुरा बोलेको हो भने स्वागत गर्नुपर्छ ।
पूर्वराजा ज्ञानेन्द्रले हरेक पर्व अथवा धार्मिक भ्रमणमा एउटै सवाल उठाएका छन्, देशमा शान्तिसुरक्षा, स्थिरता र विधिको शासनव्यवस्था । राजनीतिक दलहरुले उनको अनुभवबाट धेरै कुरा सिक्न सक्छन् र सुशासन तथा सम्बृद्धिको सपना साकार पार्न लागिपरेका केपी ओलीजस्ता नेताका लागि पूर्वराजाको सुझाव मार्गदर्शन पनि हुनसक्छ । अहंकार नराख्ने हो भने पूर्वराजालाई विश्वासमा लिएर चल्दा ओलीको शासन राजनीतिक स्थिरताका लागि उपयोगी शिद्ध हुनसक्छ ।
हिन्दु मुलुकमा राजपरम्परा छ, पूजापाठ परम्परा नै हो । जनताको कुरा सुन्नु र समस्याको समाधानमा लागिपर्नु पनि राजसंस्थाको परम्परा रहिआएको छ । हिन्दु परम्परा हो, राजालाई विष्णुको अवतार मान्छन्, यसमा ओलीलाई आपत्ति हुनुपर्ने कारण नहुनुपर्ने हो । पूर्वराजाले राजनीतिमा हस्तक्षेप गरेकै छैनन् भने ओलीले पूर्वराजाविरुद्ध श्री ३ को जस्तो तरिकाले किन फर्मान जारी गरिरहनु ?
कम्युनिष्ट पार्टीलाई अव कसले चुनौति दिने ? ओलीको यो अभिव्यक्तिमा अधिनायकबादको दुर्गन्ध धेरैले अनुभव गर्न थालेका छन् ।
आफूलाई लोकतन्त्रवादी भन्ने, पूर्वराजा मठमन्दिर जाँदा सुकेलुतो कन्याय झैं कन्याइरहनुपर्ने किन ? शक्तिशाली
प्रधानमन्त्रीले घोषणापत्रअनुसार काम गरेर देखाउनु, जेट
उडाउनु नि । जनअपेक्षाको काम गरे त जनताले जसरी पत्याएका छन्, पत्याइरहनेछन् । पूर्वराजालाई हाउगुजी किन ठान्नु । जनताले चाहदा आउने हो राजतन्त्र, राम्रो काम, देशको अस्तित्व रक्षा भयो भने पूर्वराजालाई पनि किन राजा भइरहनु पर्ला र ? ओलीकोमा रिपोर्ट आएकै छ, पूर्वराजा जता जान्छन्, उतै नागरिक अभिनन्दन भइरहेको छ, नारावाजी लागिरहेको छ । यसको अर्थ राजतन्त्र राजनीतिक शक्ति हो । राजनीतिक शक्तिको मान्यता त हुनै पर्छ नि ।