Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

६ खर्बमा बागमती कति सफाभो

०७ सोमबार , जेठ २०७५६ बर्ष अगाडि

काठमाडौं । बागमती सफाइका २ सय ६२ हप्ता भइसकेछ । बागमती सफाइमा समाजसेवी, युवा विद्यार्थी, प्रशासक, उद्यमी, व्यापारीमात्र होइनन्, कूटनीतिज्ञहरुसमेत सामेल भएर सफाइमा सहभागिता जनाए । यसरी अभियानका रुपमा चलाइएको बागमती अझै सफा हुनसकेको छैन । पर्याप्त चेतना जगाउन नसक्नु यसको कारण हो ।
व्यक्ति, सरकार, समाजका विभिन्न बर्ग र गैरसरकरी संघसंस्थाको अगुवाईमा सुरु भएको बागमती सफाइ गर्न ५ वर्षमा पनि सफलता हासिल हुनसकेन । राजधानीबासीमा चेतनाको स्तर र सफाइको संवेदनहीनता प्रष्ट हुनगएको छ ।
यही हो हाम्रो बागमती । अझै दिशापिसाव बगिरहेका छन्, ढल बागमतीमा मिसाउने कर्म रोकिएको छैन । कुकुर विरालाको लाशदेखि फोहर फाल्ने कन्टेनर बनेको छ बागमती । बागमती सभ्यतालाई बागमतीबासीले मटियामेट पारिदिए ।
५ वर्ष पुगेको खुशीयालीमा शंखमूलमा गतहप्ता दीपप्रज्ज्वलन गरियो । १८ हजार टन फोहर झिकिएको फूइँकी पनि लगाइयो तर बागमती सफा भएको छैन । दुर्गन्धित छ बागमती । यो बागमती होइन, यहाँका बासिन्दा दुर्गन्धित भएका हुन् । सचेत बर्गदेखि बालकालिका र प्रहरीदेखि १ हजार ८ सय  संघसंस्था लागिपर्दा पनि ५ वर्षमा बागमती सफा पार्न सकिएन । यो अवधिमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृतविकास समितिबाट ६ खर्ब 
खर्च भइसकेको छ, त्यो खर्च कहाँ कसरी खर्च भयो र ६ खर्ब र यति ठूलो जनश्रमबाट पनि बागमती सफा पार्न नसक्नुको कारण पत्ता नलगाउने हो भने बागमतीमा पानी बग्न सक्दैन ।
अभियन्ताहरु भन्छन्– सरकारले बाग्मतीमा मिसिने ढल व्यवस्थापन, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, नदी नीति ल्याउने, तथा वातावरण र नदीलाई प्राथमिकतामा नराखेसम्म बाग्मती पूर्ण रुपले सफा हुन सक्दैन । हामीले प्रतिकात्मक रुपमा काम गरिरहेका छौं, ५० लाखले गरेको फोहोर केही सय मानिसको सहभागीताले पूर्ण सफा गर्न सम्भव हुँदैन, त्यसका लागि सरकारी तत्परता आवश्यक हुन्छ ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिका अध्यक्ष नरेन्द्र राज बस्नेत भने सरकारले काम गरेको बताउँछन् । उनका अनुसार सरकारको मुख्य प्राथमिकता बाग्मतीलाई ढल मुक्त बनाउनु रहेको बताउँछन् । कति खर्च र कति समयमा सरकारले यो काम पूरा गर्छ, उनीसँग कुनै जवाफ छैन ।
चोभारसम्मको २८ किलोमिटर खण्डमा मानव सांग्लो बनाएर बागमती सफा राख्न चेतना जगाउने काम गरेकै हो, राजधानीवासीको चेतना फोहरबाट उठ्न सकेन । राजधानीबासीको मथिंगल खलबल्याउने कार्यक्रम जरुरी देखियो