काठमाडौं । कानेखुशी, अँगालो मारामारको ओली र प्रचण्डवीचको खुशीयालीको पटाखा पड्किन छाडेको छ । एउटा पूर्व, अर्को पश्चिम फर्कन थालेका छन् । दुबैको मुहारमा हाँसो छैन, ग्लानी पो देखिन थाल्यो ।
चुनावका बेलामा मिलेको मन ओली सरकार बनेको २ महिनामै पटापट भाँच्चिन थालेको छ । किन ?
ठूलो कुरा विश्वासको संकट हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली लोकतन्त्रमा प्रधानमन्त्रीको निर्णय नै पद्धति हो भनिरहेका छन् भने प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा पर्ने चितवन निकुञ्जको वार्डेनसमेत आफूलाई सोधेर नियुक्त गर्नुपर्ने भन्दैछन् ।
हो यही हो, अविश्वासको । प्रचण्ड भाग खोजिरहेका छन्, सत्तामा शेयर चाहियो भनिरहेका छन्, ओली सत्ता र एकता दुबैतिर आफ्नो स्थापित सुप्यारिटी तलमाथि हुन दिइरहेका छैनन् । एकतामा अनिश्चितता यही हो ।
बाहिर आएको विषय जनयुद्ध शव्द, चुनाव चिन्ह, झण्डा र एकतापछिको नेतृत्व भनेजस्तो हुनुपर्ने प्रचण्डको अडान छ । हैसियतका आधारमा एकता गरौं भन्ने ओलीको कुरामा प्रचण्ड सहमत छैनन् ।
वैशाख ९ मा लेनिन दिवसकै दिन नेपाल कम्युनिष्ट
पार्टी जन्माउने यिनको प्रयास तुहियो । कारण दुबैवीचको अविश्वास थियो । अविश्वासका कारण जबरजस्ती एकता गरिए पनि त्यस्तो एकता कसरी स्थायी हुनसक्ला ?
एकता जटिल मोडमा पुगिसकेको छ । प्रधानमन्त्रीले सचिव सरुवादेखि योजना आयोगमा पदपूर्ति गर्दासमेत प्रचण्डलाई वास्ता गरेनन् । प्रचण्डले दिएका नामको चिटलाई समेत ओलीले रद्दीको टोकरीमा हालिदिए । माओवादी केन्द्रका अनुसार एमालेले जबज कुनै हालतमा नछाड्ने बताएपछि प्रचण्ड झस्किएका हुन् । जबजकै कारण माओवादी सरकारमा जानसमेत ढिलाइ भएको थियो ।
गृहमन्त्री माओवादी केन्द्रका रामबहादुर थापा छन् । उनलाई समेत थाहै नदिई सचिव, सहसचिव मात्र फेरिएन, राष्ट्रिय अनुसन्धान विभाग प्रम कार्यालय मातहत लगियो । प्रचण्ड झन झस्किए ।
त्यसै पनि वैशाख ९ गतेको संयुक्त कार्यक्रममा माओवादी केन्द्रले भनेजस्तो लेनिनको फोटोको नामोनिशान नभएपछि मारामार नै भएको थियो सभागृहमा । यो काण्डले पनि दुबै पार्टीवीच तिक्तता बढाएको छ । अचम्म त के पनि भयो भने प्रचण्डले आफ्ना मान्छेलाई प्रधानमन्त्रीको सल्लाहकारराख्न भनेका थिए, ममाथि सुराकी भनेर प्रम ओलीले वास्तै गरेनन् । प्रचण्डलाई के चाहियो त्यसपछि । अव बजेट बन्दैछ, बजेटमा एमालेलाई लाभ हुने र माओवादी केन्द्रलाई पछि धकेल्न थालेको आशंका बढेर गएको छ । ओली भारत भ्रमण गए, मोदी नेपाल आए तर प्रचण्डको भूमिका मधेशी नेताको जस्तै सिमित पारिएकोले पनि प्रचण्डमा आक्रोश बढेको बताइन्छ ।
मुख्य सवालओलीको ट्वीट हो छ । हामी विकास र समृद्धिको एजेन्डामा हिंडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखापर्छ । किनकि सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ । यो ट्विटलाई प्रचण्डले प्रहार सम्झिए ।