राराको पानी पिएर राजधानी उत्रिएका नेपालका लागि भारतीय पूर्व ३ राजदूतहरु देव मुखर्जी, रंजित रे र श्यामशरणले माओवादी अध्यक्ष प्रचण्डलाई ३ घण्टा भेटेपछि अव वाम एकता हुने र नेपाल कम्युनिष्ट पार्टी जन्मने पक्का भएको खबर छ ।
१२ बुँदे सहमतिका योजनाकार यिनै थिए र जनयुद्धताका संरक्षण दिने भारतले यिनैका आधारमा संरक्षण दिएको थियो । अव आएर माओवादी केन्द्रलाई एमालेमा समाहित गराउने योजनाकार पनि यिनै बनेका छन् ।
लामो विवाद र प्रचण्ड ओलीको वान टु वान पटक पटकको वार्ताबाट समेत एकता सम्भव नभइरहेको बेलामा यी पूर्वराजदूतले भेटेपछि अव एकता हुन्छ भनेर ओली र प्रचण्डको मुखबाटनिस्कनु भनेको एकतामा पनि भारतले नै लालमोहर ठोक्नुपर्ने रहेछ भन्ने बुझ्न कसैलाई गाह्रो भएन ।
भन्नलाई प्रचण्डले देशी विदेशी षडयन्त्रकारीहरुले एकतामा भाँजो आलेको सम्म भने । तर एकताको स्वरुपमा भारतीय टाँचा लागेपछि बल्ल एकता हुने निश्चित हुनपुग्यो । यस्तो एकताले नेपाली कम्युनिष्ट आन्दोलनमा के बल पुर्याउला, यस्ता कम्युनिष्टको देशभक्ति कुनखालको होला ?
अव एकता टरेको छैन, सरेको मात्र हो भन्ने सन्देश त आयो । तर यही बेलामा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुनलागेकोले केही समय यो एकता रोकिन पुग्नेछ । कारण यो एकतामा भारतीय सत्ताको छायाँ परेको छ भन्ने नदेखियोस् । जतिसुकै नाटक देखाएता पनि यो एकता भारतले गराउन लागेको र कतै भारतीय डट्रिनअनुसार एमाले र माओवादी दुबैलाई जनयुद्धको बलीबेदीमा सखाप पार्ने योजना त छैन भन्ने संशय गर्नेहरु पनि प्रशस्त छन् ।
पार्टी एकतापछि ओली अध्यक्ष र प्रधानमन्त्री नै हुन्, ओलीपछि मै हुनुपर्छ भन्ने दावी प्रचण्डको छ । आफ्नो राजनीतिक भविष्य निश्चित गर्न लागिपरेका प्रचण्डजस्ता नेतालाई पनि ओलीले पसिना कढाइदिएका छन् ।
ठूलो डर माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलको मानिरहेका प्रचण्डले बारबार माधव नेपाललाई भेटेका छन् र आश्वस्त हुन खोजिरहेका छन् । यहीकारण एमालेको ६०–४० को रेसियासमेत मान्न तैयारभएका प्रचण्ड मात्र एकतापछिको अधिवेशनबाट आफू अध्यक्ष बन्न पाउनुपर्ने ग्यारेण्टी खोजिरहेका छन् ।
यद्यपि प्रचण्डका वरिपरिका नेताहरु समानताको आधारमा एकता हुनुपर्ने, प्रधानमन्त्री कि अध्यक्ष पाउनुपर्ने, अव गठन हुने पोलिटव्यूरो र केन्द्रीय समितिमा बराबरीको आधारमा हुनुपर्नेजस्ता प्रचार गरिरहेका छन् । यतिमात्र होइन, बराबरीमा नभए पार्टी एकता नै हुन्न भन्नेसमेत देखिएका छन् । भित्री कुरो, प्रचण्डले धेरै नै बार्गेनिङ गरे, एकता त गर्नैपर्छ भनेर अध्यक्ष ओलीले भन्नुले पनि प्रचण्ड आफ्नो हैसियतको प्रत्याभूति खोजिरहेको प्रष्ट हुन्छ । यथार्थमा यी दुबैको जोडनको कडी भारत नै निस्क्यो, नेपाली फेरि हिस्सिने भए ।