काठमाडौं । डिएसपी प्रजित केसी पक्राउ र वयानपछिका घटनाक्रमले ३३ किलो सुनको सुई पूर्वआइजीपीसम्म सोझिन थालेको छ । पूर्वडीआइजी गोविन्द निरौला पक्राउ, अपराध अनुसन्धानका गजेन्द्र रावलको बयान, एसपी विकासराज खनाल गिरफ्तार, एसएसपी श्याम खत्री र डीएसपी सञ्जय राउत फरार भएपछि सुनकाण्डका आन्द्रा अनेकपटक फोन कनेक्शनका आधारमा पूर्व आइजीपीसम्म जोडिन पुगेको अनुसन्धान गरिरहेका स्रोतले भनेको छ ।
ती सूत्र भन्छन्– गतसाल पुस २१ गते ३३ किलो ५ सय ७७ ग्राम सुन तस्करीमा मुछिनेहरुले अदालतबाट सफाई पाए । २०७२ भदौ १५ को केरुङबाट भित्रिएको २२ किलो सुनमा ७ किलो दमपच पारियो, १५ किलो सुनका तस्कर राजकुमार पौडेल र यसमा मुछिएका सबै अदालतबाट छुटिसकेका छन् । यसैगरी ८८ किलो सुन तस्करीमा संलग्न सुनव्यापारीसहितको टोली पनि धरौटीमा छुटिसकेका छन् । गृहमन्त्री रामवहादुर थापाले एयरपोर्टबाट टनका टन सुन भित्रिएको अभिव्यक्ति दिएका छन् भने ४७ टन सुन तस्करी भएर भारत निकासी भएको अर्को समाचार पनि सार्वजनिक भइसकेको छ । सुनमा अरवौंको खेल चलिरहेको देखिन्छ ।
पछिल्लो दुबईबाट भित्रिएको ३३ किलो सुन बेपत्ता काण्डमा थाई एयरवेजका प्राविधिज्ञ सानु बनको मृत्यु भएको छ भने मोरङका सनम शाक्य
बेपत्ता पारेर मारिए । यसको लगत्तै एसपी विदेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल जिम्मेवारीबाट हटाइएका थिए । यसैवीच एयरपोर्टका लोडर प्रेमलाल चौधरी हिरासतमै मरे । आरके ज्वेलर्सका राजेन्द्र शाक्य, जयमातादी गोल्डका पवन अग्रवाल, थाईएयरका कर्मचारी, राप्रपाका भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराजपुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्रीलगायतका ३० जना पक्राउ परेका छन् ।
सुन काण्डमा लहरो तानिदै र पहरो गर्जदै गएको छ । यतिबेला अनुसन्धानमा संलग्न स्रोतका अनुसार विशेष सुरक्षाकर्मी सुन तस्करीकै लागि खटाएको किन ? १६ महिनासम्म सुन सेटिङमा छाड्न लगाउने र एकाध पक्राउ परेका सुनमा अस्मिता झा नाम सुराकीमा राखेर कमिशन पनि खाने काम गरेको हो होइन ? भन्ने प्रश्नमा पूर्व आइजीपी प्रकाश अर्याल नै तानिएका छन् । सुनजालो कति डरलाग्दो देखियो भने बाजेको सेकुवा सञ्चालक चेतन भण्डारी पनि सुनमा मुछिन पुगेका छन् । ठूला नेताका आफन्तदेखि मोवाइल व्यापारी दीपक मलहोत्रा र प्रहरी, भन्सार अधिकारी, विमान कम्पनीमा कार्यरत उच्च तहका अधिकारी र व्यवसायीको लामै सूची पनि सुनमा जोडिन पुगेका छन् । केरुङबाट भित्रिएको ८८ किलो सुन तस्करीमा चिनियाँ तस्कर याङ वेन विङ र उनका पति पान विई मिङको संलग्नता भनिएपछि उनीहरु फरार छन् । सुन मालिक चिनिया दम्पत्तीको विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहसँगको संलग्नता भेटिएको स्रोतले जानकारी दिएको छ ।