सहदेव सिग्देल : 'वीरेन्द्रको बंशनास हुँदा धेरै दिन मेरा आँखा रसाइरहे। मैले राजा ज्ञानेन्द्रलाई वीरेन्द्रभन्दा लोकप्रिय हुन अनुरोध गरेको थिएँ। १२ बुँदे सम्झौतामा राजतन्त्र फाल्ने कुनै विषय नै थिएन तर अन्तिममा राजतन्त्र हट्यो। अव राजतन्त्र सकिइसक्यो, सेरेमोनियल राजतन्त्रको पनि सम्भाबना छैन। राजतन्त्र फर्काउनु निरर्थक छ।' यी शव्दहरु पुस १२ गते पृथ्वी जयन्ती नागरिक मूल समारोहमा एमाले उपाध्यक्ष तथा गृह तथा उपप्रधानमन्त्री वामदेव गौतमका हुन्। आजकल प्रचण्ड ओलीलाई तिमी राजा महाराजा होइनौं भनेर राजतन्त्रको सम्झना गर्छन्, वामदेव राजाको प्रसङ्ग यसरी उठाउँछन्, के राजनीतिक दलहरु असफल हुँदै जाँदा राजतन्त्रको झझल्को आएको हो यिनलाई? २९३औं पृथ्वी जयन्ती राष्ट्रिय पर्व, एकता दिवसका रुपमा मनाउनु पर्छ, राष्ट्रिय बिदा पनि घोषणा गर्नुपर्छ भन्ने आयोजक समितिको आन्दोलनप्रति गृहमन्त्री वामदेव गौतमले समर्थन जनाए। यसैगरी दबाब दिदै जाउँ, एकता दिवस स्थापित हुन्छ, हुन्छ। गौतमले स्पष्ट रुपमा समर्थन जनाए।
शनिवार, पुस १२ गतेको कार्यक्रममा गौतमले हिन्दूधर्म राज्यधर्मका रुपमा मान्न सकिन्न भनेर आफूलाई धार्मिक आन्दोलनबाट परै राखेको देखियो। हिन्दूधर्ममा अनेक विकृति, बिसंगति र भेदभाव छ, ती सबै हटाएर समान व्यवहारमा जोड दिनुपर्छ, उनले भने। पृथ्वीनारायण शाहले एकीकरण गरेर गरेको योगदान जनताले कहिल्यै बिर्सन सक्दैन भन्दै राष्ट्रिय एकता दिवस मनाउने सम्बन्धमा आफ्नो कुनै बिरोध नरहेको र मन्त्रिपरिषदमा प्रस्ताव लैजाने वातावरण बनाइरहेको खुलासा पनि गरे। तर ठाडो प्रस्ताव लाने कुरा उनले गरेनन्। उनले प्रम सुशील कोइरालासँग कुरा गर्ने विषयको उठान पनि गरेनन्। तर, मूल नागरिक समारोह समिति यसपटक राष्ट्रिय पर्वकै रुपमा पृथ्वी जयन्ती मनाउने तैयारीका साथ अग्रसर भएको छ। हाम्रा राष्ट्रपिता पृथ्वीनारायण शाह नै हुन् भन्ने मान्यता स्थापित गर्न समिति अग्रसर भएको छ। स्मरणीय छ, नेपाली मुद्रा नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्नुपर्ने माग दिनदिनै बढेर गएको छ। यही मञ्चबाट हिन्दू महाभियानका अभियन्ता कांग्रेसका नेता खुमबहादुर खड्काले मुलुक संघीयतामा गइसकेकोले त्यसप्रति आपत्ति छैन तर लोकतान्त्रिक हिन्दूराष्ट्र हुनैपर्छ भन्ने अडान अघि सारेका छन्। उता राप्रपा नेपाल मेची महाकाली पशुपति रथयात्रा गरेर हिन्दूराष्ट्रप्रति जनसमर्थन बटुल्दै छन्। लाग्छ, हिन्दूराष्ट्र ठूलै राष्ट्रिय मुद्दा बनिसकेको छ, पृथ्वीनारायण शाहलाई एकताको प्रतीक मानिदैछ र राजतन्त्रलाई संविधानमा कुनै न कुनै प्रकारको स्पेश दिने तैयार भइरहेको छ। के फरक पर्यो, संविधानमा सवैको सहमति हुन्छ भने लोकतन्त्रमा सबै लोक र लोकधर्मको संरक्षण हुनु कसरी नराम्रो र अस्वीकार्य हो र? यति नै बेला पूर्वराजा मधेसतिर लागेका छन्।
प्रश्न उठेको छ: १२ बुँदेमा राजा फाल्ने बुँदा थिएन भने राजतन्त्र किन र कसको दबाबमा फालियो? २०६३ साल वैशाख ११ गतेको सहमतिको अन्तिम बुँदामा कुनै न कुनै प्रकारको राजतन्त्र राख्ने सहमति थियो भने त्यो बुँदा आजसम्म किन स्टेक होल्डरहरु स्पष्ट पार्दैनन्? कति गुपचुप छ।