काठमाडौं । गृहमन्त्री रामवहादुर थापा बादलले नै भनेका छन्– प्रहरीको मिलोमतोमा जेलका कैदी दोहोरी साँझ जान्छन् । संसारमा नभएको सुविधा नेपालका कैदीले पाएको यो खुलासा गर्ने गृहमन्त्रीले के कारवाही गर्ने अथवा कैदीबन्दीलाई यो सुविधा नदिने के प्रवन्ध गरे केही पनि बताएका छैनन् ।
गृहमन्त्रीले विप्लवलाई जहाँ भेटे पनि पक्राउ गर्ने आदेश दिएका छन् भने धनगडीमा विप्लव माओवादीका कार्यकर्ताहरुलाई धुलिसात हुनेगरी प्रहरी दमन गराएका छन्, केहीलाई पक्राउ पनि गरेका छन् । गृहमन्त्री भन्छन्– विप्लव माओवादी राजनीतिक शक्ति नै होइन । अर्थात आतंककारी शक्ति हो । गृहमन्त्री बादलले धार्मिक युद्धको तैयारी भइरहेको बयान पनि दिएका छन् । यसको लगत्तै हिन्दु गुरुमाथि गोली हमला भएको छ । उनले टनका टन सुन तस्करी हुनेगरेको पनि बताएका छन् ।
गृहमन्त्रीका अनुसार आन्तरिक र बाह्य गरेर चार सुरक्षा चुनौती छन्, यसको सामना गर्न सुरक्षा रणनीति बनाइएको छ । तर उनको रणनीतिले अहिलेसम्म कुनै पनि खतरा टरेको देखिन्न, खतरा बढेर गएको देखिन्छ ।
मन्त्री थापाका अनुसार जातीय र धार्मिक हिंसाको तयारी गर्न केही स्वदेशी तथा विदेशी तत्व सक्रिय छ । धर्मका विरुद्ध धर्म, जातका विरुद्ध जात र समुदायका विरुद्ध समुदाय भिडाउन खोजिदैछ । रोक्न उनले के गरे त ? उनले इसाइकरण गर्ने नाममा सन् २०२५ सम्म सबै मठ–मन्दिर सरकारले भत्काउने प्रचार भइरहेको बताएर नेपाल रक्तपातको पोखरी हुनसक्ने खतरा देखाएका छन् । मानव तस्करीजस्ता काममा राजनीतिक संलग्नता छ भने तर खुलाएनन् ।