Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

विकास र विदेश जोड्दै सेना

१९ सोमबार , चैत्र २०७४८ बर्ष अगाडि

काठमाडौं । भारत र चीनले घेरिएको नेपाललाई दुबै मुलुक जोड्ने र देशको विकास गर्ने काममा सेना पसिना बगाइरहेको छ ।
सरकारले जिम्मेवारी दिएपछि चुँइक्क नबोली जिम्मेवारी निभाउन दत्तचित्त भएर लाग्ने नेपाली सेनाको जिम्मामा यतिखेर ६ राजमार्ग योजनामा काम भइरहेको छ ।
सेनाले राजधानी मधेस जोड्ने द्रुतमार्ग, चीन–भारत जोड्ने कर्णाली र कालीगण्डकी करिडोर, चीन जोड्ने वेनीघाट–आरुघाट–लार्के भन्ज्याङ र मैलुङ स्याफ्रुवेशी सडकखण्ड निर्माण गरिरहेको छ । यसमा कालीगण्डकी, कर्णाली, मैलुङ–स्याफ्रुवेसी सडक एक वर्षदिनमै सम्पन्न गर्ने लक्ष्य छ भने फास्ट ट्य्राक र वेनिघाट–आरुघाट–लार्केभन्ज्याङ सडक सम्पन्न गर्न तीन बर्ष लाग्नेछ । सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार सेनाले पाएको जिम्मेवारी समयमै पूरा गर्नेछौं ।
सरकारले सेनालाई विकास निर्माणमा सहभागी गराएर सेनाको क्षमता र विश्वसनीयता अझ बढाएको दावी उनको रहेको छ । सेनालाई फास्ट ट्य्राकको जिम्मेवार दिएर सेनाको प्रभावकारितासमेत बढेको देखिन्छ । सेनाले निर्माणको जिम्मेवारी पाएर १ हजार ९७ किलोमिटर रहेको २२ सडक योजना सरकारलाई सम्पन्न गरेर बुझाइसकेको छ ।
यतिखेर सेनाले ७६.२ किलोमिटर लामो राष्ट्रिय प्राथमिकतामा परेको फास्ट ट्य्राक, १७७.७७ किलोमिटर लामो जाजरकोट–डोल्पा, १ सय १८ किलोमिटर लामो बेनीघाट–आरुघाट–लार्के भन्ज्याङ सडक, १७ किलोमिटर लामो मैलु–स्याफ्रुवेसी सडक, १ सय ४५ किलोमिटर लामो कर्णाली करिडोर सडक (यो सडक बाँके बोर्डरदेखि सिमीकोट हुँदै तिब्बत जोडिन्छ), ६७ किलोमिटर जिम्मा पाएको कालिगण्डकी करिडोर (यो सडक भैरहवा बोर्डरदेखि अपर मुस्ताङ हुँदै तिब्बत जोडिन्छ) मा सेनाले प्रभावकारी काम गरिरहेको छ ।
यसबाहेक कतिपय क्षेत्रमा बेलिब्रिज राख्ने जिम्मा पनि सेनाले पाएको छ ।
नेपाली सेनाको जनशक्ति स्वदेशको सुरक्षा, कानुनव्यवस्था कायम गर्न गराउन अन्य सुरक्षा निकायलाई सघाउनेदेखि विश्वशान्ति मिशनमा खटिनेसम्मका परिचालित भएको छ ।
यसरी नेपाली सेनाले आन्तरिक शान्ति, विकास र राष्ट्रियताको प्रवद्र्धनका लागि विदेशसँग जोड्ने सडक निर्माण र आफ्नै सैनिक शक्तिलाई जोडेर राष्ट्रियताको जगेर्ना गर्दै आएको छ । सेनाको आलोचना गर्नेहरुले, ससाना कुराहरुलाई राजनीतिकरण गर्नेहरुले सेनाको मनोबल घटाउन गर्ने कसरतलाई सेनाको जनतामैत्री कार्यसँग जोडिएर सेनाको मनोबल उठाउनेतिर लाग्नु उचित हुनेछ भन्ने सुरक्षाविदहरुको सुझाव आउने गरेको छ ।
सेना जतिसक्यो उति मजबुत हुनुमा नै देशको मजबुती हुनेछ । सेनाभित्रका एकदुईको कमी कमजोरीलाई लिएर सिंगो व्यवसायिक सेनाको छारो उडाउँदा कसको लाभ हुन्छ, देशको कति हानी हुन्छ, यसतिर पनि ध्यान दिऔं।
नेपाली सेना देशको शक्ति हो । देशको व्यवसायिक संगठन हो । अन्य सबै लोकतान्त्रिक संस्थाहरु कमजोर भएका बेलामा सेना पनि कमजोर भयो भने के होला, के नहोला ?