काठमाडौं, २ दिने विशेष भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीको नेपालले न्यानो स्वागत गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीले निर्वाचित प्रधानमन्त्री केपी ओलीलाई हार्दिक बधाई दिएका छन्, दुईपक्षीय सम्बन्ध बिस्तारमा हिजै भेटवार्ता गरेका छन् र आज राष्ट्रपतिलाई भेटेर फर्कने कार्यक्रम छ । पाक प्रधानमन्त्रीले अन्य नेता तथा परराष्ट्रका पदाधिकारीलाई पनि भेटेका छन् ।
पाकिस्तान सार्क आयोजक राष्ट्र हो भने नेपाल वर्तमान अध्यक्ष रहेको छ तर भारतका कारण गतवर्ष पाकिस्तानमा हुन नसकेको सार्क सम्मेलन गर्न पाकिस्तान तैयार रहेको जनाउ नेपालले पाएको छ । यद्यपि कुनै एक सदस्य राष्ट्रले सहमति नगरे सम्मेलन नहुने र दुईपक्षीय मामिलासमेत सार्कमा छलफल नगरिने व्यवस्था छ ।
गतवर्ष मार्क थोम्सनको नामबाट आएको युएनको नोकरीको अफर स्वीकार गरेर नोकरी गर्ने सिलसिलामा गतवर्ष अप्रिल ६ मा काठमाडौं आएर बुद्ध एयरबाट भैरहवा उत्रेका पाकिस्तानी सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबीबलाई एयरपोर्टबाटै भारतीय सिभिल ड्रेस लगाएका रअका पदाधिकारीले अपहरण गरेर भारत लगेका थिए, यो कसरी सम्भव भयो,
उनको हालत के छ भनेर पाकिस्तानी प्रधानमन्त्रीले सोधेको र नेपालले अनुसन्धान गरेर जवाफ दिने बताएको स्रोतहरुले जानकारी दिएका छन् ।
उनलाई अफर दिने र इमेलको डोमेन भारतीय भएकाले भारतीयले अपहरण गरेको पक्का मानिएको छ । तर यस सम्बन्धमा नेपालले अनुसन्धानमा कुनै चासो राखेको थिएन । पाकिस्तानी दूतावासले पटक पटक नेपाली अधिकारीलाई कर्णेलको खोजखबर गरिदिन आग्रह गरिरहे पनि सम्भव नभएको बेलामा पाक संसदको समेत प्रश्न बोकेर पाकिस्तानी प्रधानमन्त्रीले नेपाललाई खोजबिनमा सहयोग गर्न आग्रह गरेका छन् ।
बधाई दिनु, पाक नागरिकको प्रश्न, सार्कको गाँठो र नेपाल पाकिस्तानवीचको थप सम्बन्ध पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणका एजेण्डा हुन् । अव हेर्नुछ, नेपालले कूटनीतिक दक्षता प्रदर्शन गर्ने हो ।
यद्यपि चुनाव जित्नासाथ भारतीय प्रधानमन्त्रीले टेलिफोन बधाई र राजदूतमार्फत कार्यकालको सफलता र मिलेर काम गर्न इच्छुक रहेको जानकारी दिएका थिए । तर भारतका प्रतिस्पर्धी पाकिस्तानी प्रधानमन्त्री आफै आएका छन् भने चिनियाँ प्रधानमन्त्री समेत आउने भित्री होमवर्क सुरु भएको छ । चिनियाँ राष्ट्रपति समेत यसैवर्ष नेपाल भ्रमणमा आउने भएका छन् ।
यही कुरा पचाउन नसकेको भारतले आफ्नो मिडियामार्फत नेपाललाई ड्रागनले कब्जा गर्यो भनेर कूप्रचारसमेत गरिरहेको छ । जुन युट्युवमा समेत हेर्न सकिन्छ । नेपालका सम्बन्ध बिस्तारमा भारतको नियत अरु खुलस्त हुनपुगेको छ । त्यसै पनि चीनको खुला नेपाल समर्थन र लगानी, त्यसमाथि पाकिस्तान बधाई दिनै आएपछि भारतको मनस्थिति खबलबलिनु स्वभाविकै हो ।