काठमाडौं । प्रधानमन्त्री बनेको १२ दिनसम्म सरकार भागबण्डा नमिलेर सरकारले पूर्णाकार पाउन सकेन ।
देश बनाउँछु भन्नेहरुको यो चर्तिकला हिजो थियो, आज छ र भोलि पनि रहनेछ भन्ने सन्देश हो यो । यस्ताले देश बनाउने कुरा कसरी पत्याउने ? जो आफू बनिरहेका छन्, यिनले देश बिगार्ने काम गर्ने देखिन्छ ।
शान्ति, सुशासन र सम्पन्नता, प्रधानमन्त्री ओलकिो प्रतिवद्धता हो । यतिमात्र होइन, भ्रष्टलाई टिपेर फालिदिन्छु भन्ने उनले हिजोमात्र उद्घोष गरेका हुन् । तर भ्रष्टाचार चलिरहेको छ, भ्रष्टाचार भइरहेको छ, उनकै शासन भएका बेलामा भ्रष्टाचार रोकिएको छैन । सेवाग्राही घूस नख्वाईकन एउटा सिफारिस, एउटा मृत्युदर्ता अथवा जन्मदर्ता पाउनसकेको देखिदैन । भ्रष्टाचार गाउँपालिका, नगरपालिकादेखि मालपोत, नापी, विभाग, मन्त्रालय, संस्थान जता पनि व्याप्त छ । यो कुरा प्रधानमन्त्रीलाई थाहा छ तर उनी कुरा ठूला गरिरहेका छन् र कन नसुन्ने र काम शुन्य छ ।
एमाले र माओवादी एकीकरण हुने कुरा चलेको छ । यसमा पनि भागबण्डा मिलिसकेको छैन । सरकार निर्माणदेखि सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन आएको छ, यसमा पनि भागबण्डा मिलाउने काम भइरहेको छ । सरकारले गर्ने ३ जना मनोनित भागबण्डामै गरियो, यद्यपि सर्वोच्चले २० गते फैसला गर्ला, अहिलेलाई सपथ नख्वाउन भनेको छ । जेहोस्, सत्ता र शक्तिको भागबण्डामात्रै गर्ने र पार्टीका मान्छे मात्रै योग्य देख्ने भोगटेका चस्मा लगाएका एमाले र माओवादीले उही गल्ती दोहोर्याइरहेको छ, जुन गल्ती नेपाली कांग्रेसको सरकारले गर्यो ।
राष्ट्रपतिमाथि गुट चलाएको आरोप एमालेभित्रै बाट उठेको छ । ओलीले राष्ट्रपतिको दुरुपयोग गरेको सवाल प्रतिपक्षी कांग्रेसले लगाइसकेको छ । रह्यो कुरा माओवादी केन्द्र र प्रचण्डको, उनीमाथि उनकै पार्टीपंक्ति र पूर्व लडाकाहरुले खबरदारी गरिरहेका छन् र संसदीय व्यवस्था मानिन्न भन्दै अर्को क्रान्तिको जग हाल्न थालेको विप्लव समूहले यही हो जनवाद भनेर प्रश्न गरिरहेकै छन् । प्रचण्ड बोल बोल मछली मुखभरि पानी गरेर बसेका छन् ।
राजनीतिमा हुनुपर्ने इमान र विश्वास यतिबेला खोक्रिएको छ । अन्तरपार्टी र पार्टी पार्टीवीच विश्वासको संकट छ । सबैभन्दा ठूलो अविश्वास माओवादी र एमालेवीच र यी दुबै पार्टीभित्रका नेताहरुमा घनिभूत रहेको देखिन्छ ।
एकथरिलाई राष्ट्रपति हुनुछ, अर्कोथरिलाई सभामुख । कसैलाई मुख्यमन्त्री बन्न नपाएकोमा पीडा छ, कसैलाई मनोनित हुन नपाएकोमा ।
माओवादी र एमालेको एकीकरण प्रशव बेदना नै बनेको छ । आलोपालोसम्मको सर्तबन्दीमा लागेका छन् । एउटा पार्टी दुई अध्यक्ष, यस्तो पनि देखिनेवाला छ । सवाल उही भागबण्डाकै रहेछ भने नागरिकलाई नौटंकी किन देखाइरहनु, सिधै कांग्रेसले जस्तो भाग शान्ति जय नेपाल गरे त भइहाल्यो । सवाल यी ठुलालाई ठूलै भागको छ भने जति सोहोरे पनि जनता चुप छँदैछन् ।