काठमाडौं । गत शुक्रवार, दुई हप्ते उडिसामा आयोजित धार्मिक र सांस्कृतिक कार्यक्रम सकेर प्रजातन्त्र दिवस र पूर्वमहारानीको जन्मोत्सवको साइत छोप्दै फर्केका पूर्वराजालाई एयरपोर्टमा भेला भएका आम समुदायले जयजयकारको नारा लगाएर स्वागत गरे । भीडमा सुरक्षाकर्मीलाई सुरक्षा प्रवन्ध गर्न धौधौ नै भएको देखियो ।
उडिसाको पुरीस्थित मठका शंकराचार्य जगतगुरु निश्चलानन्द सरस्वतीको २५ औं पट्टाभिषेक समारोहमा विशेष आतिथ्य ग्रहण गर्नुका साथै जगन्नाथ पुरी मन्दिरको गर्भगृहमा हिन्दुसम्राटको हैसियतले विशेष पूजा र आरती गरेका थिए ।
२०६५ सालमा गणतन्त्र कार्यान्वयन भए पनि नयाँ संविधानअनुसार भर्खरमात्र चुनाव सम्पन्न भएर निर्वाचित सरकार बनेकोमात्र थियो, राजधानीमा आमनागरिकको भीडले राजतन्त्र जिन्दावाद भनेर नेपालको झण्डा फहराइदियो ।
लोकतन्त्र टाउको गन्ने व्यवस्था हो, टाउको गन्ने हो भने राजतन्त्र ठूलै शक्ति हो भन्ने विश्वले देख्ने र अनुभूति गर्नसक्ने गरी राजतन्त्रको शक्ति र आवश्यकता जनताले देखाइदिएका छन् । हिन्दुत्व र राजसंस्था अव पन्छाउन नसकिने गरी सडकमा उभिन र देखिन थालेको छ ।
राजा आउ देश बचाउको नारासमेत लगाएर जनता आत्तिएको देखेका पूर्वराजाले फागुन ७, प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आक्रामक सन्देश प्रशारित गरेका छन् । पूर्वराजाले २०६३ साल वैशाख ११ गते गरेको राजनीतिक सहमति र सम्झौता खोई, किन पालना भएन भनेर लोकतन्त्रवादीहरुसँग प्रश्न उठाएका छन् । जसको जवाफ आउन जरुरी छ । पूर्वराजाले प्रशारित गरेको सन्देशको पूर्ण पाठ यस्तो छ–
नेपालीदिदीबहिनी तथा दाजुभाइहरु,
जनता र राजावीचको सहकार्यको परिणामस्वरुप प्राप्त प्रजातन्त्रको ६८औं दिवसका अवसरमा म हाम्रा जिजुबुवा राष्ट्रपिता श्री ५ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सबैको स्मरण गर्न चाहन्छु ।
प्रजातन्त्रमा सबैले सम्मानित महसुस गर्दछन् भन्ने विश्वव्यापी मान्यता र विश्वास छ । तर प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरुको समाधान खोज्ने क्रममा भएका कुनै पनि राजनीतिक सम्झौता, सहमति या समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता किन पाएन ? यो वर्तमानमा जनतामा ज्वलन्त प्रश्न बनेर उब्जिएको छ ।
प्रजातन्त्र भनेको निर्वाचनको आयोजना मात्र हो भन्ने भ्रम राखिनु हुन्न । देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुनसक्छ । २०६३ साल वैशाख ११ गते हामीमा निहित राजकीय सत्ताको प्रयोग गरी भएको राजनीतिक परिवर्तन पछिको
दशकमा देश र जनताका हितप्रति संवेदनशील एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रित सोचको पासोमा देशको राजनीति अल्झिएको छ, त्यसको समीक्षाको समय आएको छ । सिमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रका रुपमा जनताले आत्मसात गरिदिनुपर्ने हो कि होइन ? कानुनी राज एवं सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोरिरहनु पर्ने हो ?
सबै नेपालीको भावना समेट्ने र दशेको राष्ट्रियता एवं राष्ट्रिय एकता समृद्ध बनाउने साधनको रुपमा प्रजातन्त्रको प्रयुक्त हुने अवस्था बन्न सकोस् ।