काठमाडौं । प्रचण्डको २१औं शताव्दिअनुकूलको माओवाद र ओलीको जबजको मिश्रणको नयाँ केमेष्ट्री मिलिसकेको छैन । दुबैजना यो केमेष्ट्री मिलाएर पार्टी एकीकरण गर्न लागिरहेका छन् । हेर्दा केमेष्ट्री तर भागबण्डा नमिलेर एकीकरण हुननसकेको र सरकारले पूर्णाकार पाउन गाह्रो परेको प्रष्टै देखिन्छ ।
माओवादी केन्द्र र एमालेका नेताहरु कहिले मन्त्री बन्न पाइएला भनेर भद्रो हेरेर बसिरहेका छन् । किसानले खेती गर्न आकाशको पानी हेर्नु र नेताले मन्त्री हुन प्रचण्ड र ओलीलाई पर्खनु उस्तैउस्तै भएको छ ।
देशको प्रधानमन्त्री ठेकेदार, मेडिकल माफिया, राजस्व ठगी गर्ने व्यक्तिका भातभान्छा, घरकोठा चाहर्न हुन्छ कि हुन्न ? त्यसबारेमा आमचासो सकारात्मक पर्छ कि नकारात्मक ? चुनावका बेलामा गाउँ गाउँमा सिंहदरवार पुर्याइन्छ भन्ने, सत्तामा पुगेपछि ठेकेदार र माफिया भनेर जनताले दाग लगाएका झापाको बी एण्ड सी अस्पतालका मालिक दुर्गा प्रसाईजस्ता व्यक्तिको घरमा गएर जिब्रो फट्कार्ने ? यही हो परिवर्तन, यही हो सुशासन र शुन्य सहनशीलता, यही हो भ्रष्टाचारबाट मुक्ति र सम्पन्नता ?
दोष प्रचण्डलाई दिएर सुख पाइन्न । प्रचण्डले मेडिकल कलेज सञ्चालकको घरमा लगे, ठेकेदारको कोठामा मिटिङ बोलाए भन्न पाइन्न । किनभने केपी ओली देशका प्रधानमन्त्री हुन्, निर्वाचित प्रधानमन्त्री । उनले आचार पालना गर्नैपर्छ, लोकाचार हेरेर नैतिकतामा उभिनैपर्छ । प्रचण्डले नचाएर कांग्रेस सखाप भएको भर्खरै हो, अव ओलीलाई नचाएर एमाले सखाप पार्ने ? पार्टी सखाप होस्, त्यसको महगो मूल्य देशले किन चुकाउने ?
चुनावका बेलामा वाममोर्चा बन्यो, मोर्चाले एउटै घोषणापत्रमा चुनाव लड्यो । यो राजनीतिक मामिला हो, चुनाव जिते, सबैले बधाई दिए । सरकार पनि बन्यो । सरकार भनेको माफिया, कमिशन एजेण्ड, ठेकेदारको प्रभावमा चल्ने होइन । तिनको पहुँचमा नाच्ने पनि होइन । सरकार आमनेपालीको हो, आमनेपालीको अपेक्षा छ शान्ति, सम्पन्नता र विधिको शासन । वाममोर्चा एकीकरण हुनु नहुनु दुई पार्टीका कुरा हुन्, सरकारलाई माफिया, ठेकेदारले नचाउनु भनेको फेरि पनि जनतालाई आक्रोसित पार्ने र संविधान असफल पार्ने साजिसभित्र पर्छ ।
बाहिर देखिएको कुरो वाम एकीकरण हो । भित्रभित्र भागबण्डाकै मोलमोलाई भइरहेको आवाज सडकसम्म सुनिन थालेको छ । पदको भागबण्डा, मन्त्रालयको भागबण्डा, शक्तिको सेयरिङ नमिल्दा यसरी ओली र प्रचण्ड भौंतारिरहेका छन् । पार्टी ठूलो छ, तर दुई पार्टीका अध्यक्ष कानेखुशीमै समय बिताइरहेका छन् ।
यतिबेला एकीकरण हुँदा आधा आधाको सिद्धान्त प्रचण्डको प्रस्ताव छ भने साठी चालीसभन्दा मरिगए हुन्न भनेर ओली अडानमा छन्, दुबै नेतालाई केन्द्रीय स्तरका नेताको स्तर निर्धारणदेखि तल्लोतहसम्मलाई चित्त बुझाउनु पर्ने बाध्यता रहेको छ ।
यसैवीच प्रचण्डले खुलेआम बैंककबाट फर्केपछि ओली टेडिएको आरोप लगाएका छन् । यो आरोप यति अर्थपूर्ण छ कि यही आरोपले एकीकरण पछि धकेलिएर अहिलेलाई साठी चालीसको पावर सेयरिङमा सरकारलाई पुर्णाकार दिने काममात्र पनि हुनसक्ने देखिदैछ ।
कुरोको चुरो उही भागबण्डा हो, दुबै चंख नेता हुन्, घ्यू बेचुवा र तरवार बेचुवा हुने त होइनन् ?