काठमाडौं । १९५० को सन्धि खारेजीदेखि नेपाल भारतवीचको सम्बन्ध सुधार्ने उपायहरुबारे सिफारिस गर्न गठित प्रबुद्ध समूहका नेपाली सदस्यहरुले बुद्धी देखाउने कि शुद्धी हराउने ? यसको अगिन परीक्षा सुरु भएको लामो समय भइसक्यो । ३ दिनपछि, शुक्रवार यो समूहको बैठक काठमाडौंमा बस्दैछ र यही बैठकलाई प्रबुद्ध समूहको निर्णायक बैठक भनेर चर्चा गरिएको छ । कारण रहेछ, अहिलेसम्म छलफलमा भएका बुँदाको टिपोट र मौखिक छलफललाई लिखित दस्तावेजका रुपमा यही बैठकमा पेश गर्ने एजेण्डा छ । भारतीय पक्षले तैयार गरेको प्रस्ताव नेपाली पक्षलाई र नेपाली पक्षले तैयार गरेको प्रस्ताव भारतीय पक्षलाई सुम्पने र एकदोस्राका प्रस्तावमा थप विश्लेषण थालिने एक सदस्यले बताएका छन् ।
नेपालको नेतृत्व डा.भेषबहादुर थापा र भारतको नेतृत्व भाजपाका नेता भगतसिंह कोसियारीले गरिरहेका छन् । भारतीय पक्ष त्यसै पनि नेपालप्रति हेपाहा प्रवृत्ति राख्ने गरिरहेको र नेपाली पक्षले हाँसेर विषयलाई अघि बढाइरहेको भन्ने सन्दर्भमा हाम्रा यी प्रबुद्धहरुले बुद्धि देखाउने बेला यही हो । भारत खुशी पारेर सत्ता र शक्तिको आश गर्ने कि नेपाली स्वाधीनता जगाउने, यिनको हातमा छ ।