काठमाडौं । हाइड्रो इन्जिनियरिङमा पीएचडी कालिबहादुर रोकाया उर्फ डा. केबी रोकाया : जो क्रिश्चियन पाष्टर बने, उनको आत्माले देश खतरामा देख्यो र अहिले भन्दैछन्– नेपाल जोगाउन राजसंस्थासहितको हिन्दुराष्ट्रको विकल्प छैन । अव नजागे कहिले जाग्ने ?।
जनयुद्धका बेलामा विशेष भूमिका खेलेका रोकाया, राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिनु आश्चर्यको विषय त हो, तर उनका अनुसार देशभक्तका लागि यसको विकल्प बाँकी छैन ।
धर्मको बारेमा सोच परिवर्तन भइसकेपछि देशमा भइरहेको राजनीतिको बारेमा सोच्न थालें । दलहरूका व्यवहार, सरकारका विधि–व्यवहार, नेताहरूका क्रियाकलाप, भूकम्प गएको यत्तिका समय बितिसक्यो– पीडित जनताको अवस्था नाजुक र विजोकयुक्त छ, यो के भइरहेको हो, सरकार कसका लागि हो भनी चिन्ता गर्दै जाँदा नेपालको पहिचानको खोजी गर्न पो पुगेछु ।
एउटा व्यक्तिको त नाम–थर–गोत्र–ठेगाना–बाबुआमा भन्ने एउटा पहिचान हुन्छ भने राष्ट्रको त झन् पहिचान हुनैपर्छ । नेपालको पहिचान के त भन्ने प्रश्न मेरो मनमा आयो । नेपाललाई अब कसरी चिन्ने, कसरी चिनाउने ?
तीनवटा कुराले नेपाल अडेको रहेछ । पहिलो– शाहवंशीय राजसंस्था, पृथ्वीनारायण शाहले यो देश बनाएका हुन्, नेपाल निर्माण गरेका हुन्, त्यसकारण नेपालको ऐतिहासिक पहिचानसँग जोडिएको शाहवंशीय राजसंस्था एउटा खम्बा रहेछ, अर्को रहेछ नेपाली सेना । नेपाली सेना बनाएकै नेपाल एकीकरण गरी नयाँ नेपाल राष्ट्र बनाउन हो, जो नेपाली सेना अहिले पनि हामीसँग छ । यसर्थ, यो नेपाली सेना पनि हाम्रो (नेपालको) अर्को महत्वपूर्ण पहिचान हो ।
तेश्र्रो महत्वपूर्ण खम्बाचाहिँ हिन्दूधर्म रहेछ । शाहवंशीय राजसंस्था र नेपाली सेना दुवै नङ–मासुको सम्बन्ध राख्ने निकाय हुन्, अनि नेपालको सन्दर्भमा हिन्दूधर्म जतिसुकै अन्यथा ठान्न खोजिए पनि नेपालको पहिचान भनेकै यी तीन कुरामा अडिएको रहेछ । त्यसकारण नेपाल रहनका लागि यो तीनवटा खम्बा रहनु अपरिहार्य छ भन्ने निष्कर्षमा म पुगेको छु । यो तीनवटा खम्बा हटाएपछि नेपाल रहँदैन । कसैले माने पनि नमाने पनि यथार्थ यही हो ।