काठमाडौं । गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना दिन नगए पनि भोलिपल्टको सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजमा राष्ट्रपति विद्या भण्डारी र एमालेका अध्यक्ष केपी ओली भारतीय दूतावास पुगेका थिए र नाचगानसहितको रात्रिभोजको आनन्द लिएर फर्केका छन् ।
गणतन्त्र दिवसको दिवाभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रचण्डसहितको बडेबडे नेताहरुको उपस्थिति थियो । तर हुनेवाला प्रधानमन्त्री, ऐतिहासिक रुपमा चुनाव जितेका ओली थिएनन् । के भयो रातारात भन्न सकिन्न, भोलिपल्ट रात्रिभोज र सांस्कृतिक कार्यक्रममा रमाइलो उपस्थिति जनाउन राष्ट्रपति र ओली सहमत र सहभागी भए ।
यद्यपि भारतीय दूतावासले आयोजना गरेको दिवाभोजमा ओली नगएको विषयलाई सामाजिक सञ्जालमा निकै सह्राहना गरिएको थियो तर भोलिपल्टैको यो परिदृश्यले सामाजिक सञ्जालमा आलोचनाका श्वरहरु गुञ्जिएको देखियो । कारण थियो पर्साको छपकैयामा भारतले ५० बिघा नेपाली भूभाग सीमा स्तम्भ नै सारेर खानु ।
नेपाली नागरिकहरु पर्साको छपकैया पुगेर बिरोध गरिरहेका थिए, बिरोध गर्ने ग्रेटर नेपाललगायतका अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको अवस्था थियो । यी यावत विषयमा सरकारले उदासीनता देखाइरहेको र हुनेवाला प्रधानमन्त्री ओली र वर्तमान राष्ट्रपति विद्या भण्डारीले समेत बेसरोकारको मूड देखाएपछि आक्रोसित मनस्थितिको मानसिकतामा रहेका नागरिकहरुले आलोचना गरेका हुन् । सबै कानै चिरिएका ? राष्ट्रको अंग काटिदा पनि काट्नेकै भोजभत्तेरमा जानुपर्ने ? यस्ता प्रश्नहरु उठिरहेका छन् ।
राजदूत मञ्जिवसिंह पुरी सबैभन्दा खुशी देखिएका थिए र उनले बलिउड फ्युजन ब्याण्डको आवरणमा सांगितिक कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति भण्डारी र ओली विशिष्ठ अतिथिका रुपमा सहभागी गराएर नेपाली राजनीति अझै आफ्नो पकडमा रहेको दृश्य देखाइदिएका छन् । कुनै पनि दूतावासले मनाएको आफ्नो देशको राष्ट्रिय दिवसमा राष्ट्रपति, प्रधानमन्त्री, हुनेवाला प्रधानमन्त्री, मन्त्री, सबै ठूला पार्टीका नेताहरुलाई उपस्थिति गराएको यो पहिलो अवसर हो ।
हिन्दीगीतको ठुम्कामा नेपाललाई यसरी मदमस्त बनाउने भारतीय दूतावासको सफलता त देखियो, नेपाली राजनीतिज्ञहरुको भारतप्रतिको मित्रताभन्दा बढी लम्पसार नीति प्रष्ट भएको टिप्पणी भइरहेको छ ।
नेपाल भारतवीच यही नै मित्रताको कडी हो भने यो नेपालको दुर्भाग्य मान्नुपर्छ किनभने सीमा मिच्दै नेपालका शासक बर्गलाई यसरी रमाइलो दिने परम्परा विस्तारवादको सफलता नै हो । ७१ ठाउँमा सीमा बिबाद छ, हजारौं बिघा नेपाली भूभाग अतिक्रमणमा परेको छ, हरेक दिन सीमामा नेपालीमाथि शोषण भइरहेको छ, कति मारिएका छन्, ती समस्यालाई भुसुक्कै बिर्सेर सिंगो शासकबर्ग दूतावासको भोज भत्तेरमा लाग्नु टीठलाग्दो दृश्य हो ।
सम्बन्ध सुधार्नुपर्छ, सुधार्ने हाम्रा शासक बर्गको यो तरिका कसरी प्रशंसनीय हो ?