काठमाडौं । माओवादी केन्द्रसँग मोर्चा बनाएर चुनाव लडेको एमालेले चुनावमा सफलता त पायो, त्यो सफलताको मूल्य अध्यक्ष दिएर चुकाउने कि माओवादीलाई ४० प्रतिशतको भागमा थुमथुम्याएर राखिरहने भन्ने अन्तिम निर्णय गर्न सकेको छैन । एमालेका लागि वाममोर्चा चुनावी लाभ भए पनि पार्टी एकीकरणमा घाटा हुने देखिएपछि टुंगोमा पुग्न नसकेको हो ।
यद्यपि विदेशी ताकत पार्टी एकीकरण भाँड्न खोजिरहेको लल्लरीबिल्लरी दुबैले गाइरहेका छन् । यथार्थ के हो भने मिया बिबी राजी तो क्या करेगा काजी भनेझैं दुबै पार्टी सहमत हुन्छन् भने कसले रोक्ने ?
तर, प्रधानमन्त्री खाउ, अध्यक्ष नै चाहिन्छ भन्ने माओवादी ढिपी र पार्टी पंक्तिमा पुगेर प्रचण्डले जनयुद्ध र माओवाद छाडेको छैन भन्ने, यता एमालेसँग र नागरिक समाजमा लोकतान्त्रिक मार्गबाटै समाजवादमा पुग्ने भन्ने दोधारे कुरा गर्नाले एमाले नराम्ररी झस्केको छ । एमालेको छवि भनेको नाममा कम्युनिष्ट झुण्डिएको भए पनि उसको अभ्यास पूर्ण प्रजातान्त्रिक रहेको छ । यसमा खोट देखिन्न, तर माओवादीसँग मिलेपछि एमाले छिन्नभिन्न हुने , पार्टी नै जोखिममा पर्ने हो कि भन्ने खतराका कारण पनि एमाले झस्कनुको मुख्य कारण रहेको छ । यसैवीच विश्लेषकहरु एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण शीर्ष नेतृत्व र त्यसपछिका उत्तराधिकारीहरुको नेतृत्वकै कारण सम्भव नभएको बताउन थालेका छन् । हुन पनि दुबै पार्टीमा प्रभावशाली नेताहरुको कमी छैन, त्यसमा कसलाई माथि र कसलाई तल राख्ने, ठूलो समस्या अहिले नै देखिएको छ । निराकरण दुई नेताको को सहमतिले सम्भव छैन ।
यसैवीच उत्तर कोरियाका राजदूतसँग प्रचण्डको भेट भएको छ र भेटमा महामहिम राजदूतले प्रचण्डलाई उत्तरकोरियाको भ्रमणका लागि निम्त्याएका छन् । यो घटनालाई पनि अर्थपूर्ण रुपमा लिएका एमाले बृत्तमा यतिबेला प्रचण्डलाई लिएर अनेक प्रकारका विश्लेषणहरुको गाईगुइँ सुन्न थालिएको छ । अध्यक्षका निजी सचिवले भेटमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीचको एकता छिट्टै टुंगोमा पुग्न लागेको बताएको जनाएका छन् । थाहाअनुसार अध्यक्ष प्रचण्डले कोरियाली नेता किम इल सुङको संघर्षको गाथाबारे जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण तथा कार्यान्वयनमा दल मिलेर सफलता हासिल गरेको जानकारी दिएका थिए ।
महामहिम राजदूतले वाम गठबन्धनका कारण चुनावमा विजय हासिल भएको र प्रशंसनीय विजयका लागि हार्दिक बधाईसमेत दिएका थिए । राजदूत किमले आगामी सेप्टेम्बरमा हुने कोरियाली कम्युनिष्ट पार्टीको ७०औं पार्टी स्थापना दिवसमा आतिथ्यका लागि अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरेका हुन् । जवाफमा अध्यक्ष प्रचण्डले कोरियाली कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डल उपस्थित हुने जानकारी गराएका छन् ।