काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री दुबै बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकका सामु नतमस्तक हुनपुगे, फूल चढाएर श्रद्धाञ्जली दिए, टाउको झुकाएर सम्मान प्रकट गरे । यो यथार्थ सकार्न र स्वीकार्न हाम्रा आदरणीय राष्ट्र र सरकार प्रमुखलाई लोकतान्त्रिक अगुवालाई ११ वर्ष लाग्यो ।
जनआन्दोलनको सफलतासँगै पृथ्वीनारायण शाहको जन्मजयन्ती, पुस २७ को एकता दिवस मनाउन छाडियो, राष्ट्रिय पर्वका रुपमा दिने विदा कटौती गरियो र पृथ्वीनारायण शाह भनेका विस्तारवादी, निरंकूश हुन् भनेरकूप्रचार गरियो । तर अहिले आएर लोकतन्त्रवादी सबैले स्वीकार गरे कि पृथ्वीनारायण शहले नेपाल निर्माण गरिदिए, उनी धन्य छन्, राष्ट्रपिता हुन् ।
२०६३ सालपछि पहिलोपल्ट राष्ट्रव्यापी रुपमा पृथ्वीजयन्ती मनाइएको छ । देशको माटो, विभूति, आमा र बाबुको सम्झना गर्दा, तिनलाई श्रद्धाञ्जली दिंदा सन्तान, पुस्तालाई खिया लाग्दैन, चम्किन्छ झन । विकसित मुलुकहरु बिगत इतिहासलाई, गौरवका रुपमा सञ्चय र संरक्षण गर्दै अघि बढेका छन्, हामी भने जातीय द्वन्द्व, स्वार्थको खेलो गर्दै राष्ट्र निर्मातालाई अपमान र अवहेलना गरिरह्यौं । शायद अव त्यसो हुनेछैन । जसले राष्ट्रनिर्मातामाथि अवमान्ना गर्नेछ, तिनीहरु स्वत: किनारा लाग्नेछन् । पुस २७ गते जुन एकता देशव्यापी रुपमा देखिएको छ, पृथ्वीनारायण शाहप्रति जनस्तर र राष्ट्रिय स्तरमा सम्मान प्रकट भएको छ, यथार्थमा यो राष्ट्रिय शक्ति बन्नुपर्छ, बन्नेछ भन्ने आशा गरौं ।
बिबाद होला, आआफ्ना मत होलान्, मतान्तररहलान्, त्यसलाई बिश्लेषण गर्दै जानुपर्छ । तर राष्ट्रिय एकता भाँडिनुहुन्न, यसैगरी प्रदर्शन हुनुपर्छ, जसले एक नेपाल, एक नेपाली जातिको समुन्नतिलाई प्रत्याभूत गर्नेछ । यतिखेर उठिरहेको बिभाजन र बिखण्डनका जुन हतियारहरु छन्, तिनमा खिया लाग्नेछ । किनकि ११ वर्षपछि नै होस्, राष्ट्रपिताप्रतिको सम्मानभाव जागरण भएको छ । यो भावधारालाई मूलप्रवाह बनाउन सकियो भने संविधान, संघीयतालगायतका सबै मार्गहरु सफल बन्ने आधार यही हुनेछ ।