काठमाडौं । ओली मै हो प्रधानमन्त्री भन्छन्, प्रचण्ड आलोपालो सरकार चलाउने सहमति भएकै हो भन्छन् । र, केही नेताहरु ओली र प्रचण्ड मिलेर ५ वर्ष सरकार चलाउँछन्, पार्टी चलाउँछन् भनिरहेका छन् । तर, ओलीका निकट नेताहरु भने एकता पार्टी र प्रधानमन्त्री दुबै केपी ओली हुन् भन्ने ठोकुवा गर्छन् । आखिर प्रचण्डको हैसियत के त ? ओली मातहत बस्न राजी भएकै हो ? हो भने किन दुबै्र नेता स्पष्ट भइरहेका छैनन् ? दुबैको जिब्रो लकपकाएका छन् र पहिले सरकार निर्माण अनि बिस्तारै पार्टी एकीकरण हुन्छ भन्ने अभिव्यक्ति दुबैको छ ।
वाममोर्चा बन्यो चुनावका लागि । मोर्चा बन्दा अव एउटै वामपार्टी बन्छ पनि भनियो र लामो समयदेखि प्रचण्ड वामपन्थी केन्द्र बनाउन सक्रिय रहेका पनि हुन् । उनको सक्रियता केपी ओलीलाई नेता बनाउन हो त ? हो भने प्रचण्डले किन चितवन पुगेर आलोपालो सरकार चलाउने सहमति भएको छ भने । यसको र्थ प्रचण्डलाई पनि प्रधानमन्त्री बन्ने लोभ छ ? एकीकृत भएपछि नेतृत्वमा पुग्ने लालच पनि छ ।
प्रचण्डको नेतृत्व क्षमताको जति प्रशंसा गरे पनि कम हुन्छ तर उनको नेतृत्वबाट देशले लाभ पाएको छैन । लाभ भयो त प्रचण्डलाई, माओवादी केन्द्र र प्रचण्ड वरिपरिका नेताहरुलाई । जबसम्म राष्ट्रले नेतृत्वको लाभ पाउन सक्दैन तवसम्म त्यो नेतृत्व राजनेता बन्नसक्दैन । राजनेता बन्नका लागि नेतृत्वले पार्टीस्तरबाट उठ्नैपर्छ ।
हो, नाकावन्दीका बेलामा ओलीले अडान लिएकै हुन् र त्यसको लाभ एमालेलाई भयो, वाममोर्चा बन्यो र लाभ माओवादीलाई पनि भयो । नाकावन्दी अझ कडा पार्नुपर्छ भनेर भारतको वकालत गर्नेहरुलाई जनताले नकारीदिए । यसबाट प्रष्ट हुन्छ, जनता नेपालवाद मन पराउँछ, नेपालवादीलाई आफ्नो मतादेश दिन्छ । जनतामा आएको यही चेतनाले विदेशभक्तहरुको सातो लिएको छ ।
जनादेश पाएको वाममोर्चाले ५ वर्ष स्थिर सरकार दिन्छ, शान्ति र समुन्नति दिन्छ भनेर आश्वस्त भएका जनतामा के शंका उठ्यो भने अहिले नै नेतृत्व मलाई चाहिन्छ भन्ने जुन अहंकार एमाले र माओवादीभित्र घन्किन थालेको छ, त्यसले गर्दा यो वाममोर्चा कति दिन चल्ला र ? भन्ने प्रश्न उठ्न थालिसकेको छ ।
चुनाव जित्नासाथ ठाकठुक गर्ने वाममोर्चाभित्रका स्वार्थी तत्वहरु सलबलाउन थालिसकेका छन् । पार्टी एक भयो भने नोक्सान छ भन्नेहरुको ताँती पनि ठूलै छ । अहिलेदेखि नै मन्त्री, मुख्यमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखदेखि संवैधानिक पदहरुमा नियुक्ती गर्दा म म भन्नेहरु प्रशस्तै छन् भने राष्ट्रिय सभामा जान हरुवाहरुसमेतले दावी गरेपछि पार्टीभित्र ठूलै बिबादको सिर्जना भइसकेको छ । पार्टी भनेर खटिने र चुनावमा जान, मनोनित हुने बेलामा उही थोत्रे थाङ्नेलाई पटक पटक अवसर भनेर युवापंक्तिमा आक्रोस बढेको छ । युवापंक्तिले आफ्नो हैसियत खोज्न थालेपछि पार्टीहरुमा खैलाबैला मच्चिएको छ । कांग्रेसभित्र नेतृत्व र वाममोर्चाभित्र अवसरको खोजीले आन्तरिक संकटहरु बढेर गएका छन् ।
त्यसो त वामपन्थीहरु आफ्नै नेतृत्व खोज्ने पुरानो रोग हो । कम्युनिष्ट पार्टीहरुको दर्जनौं गुट उपगुट, चोइटाहरु हेर्ने हो भने पनि यो वाममोर्चाको ठाकठुकले वामपन्थी केन्द्र बन्न बनाउन सक्छ भनेर विश्वास गर्न सकिन्न । सरकार प्रमुख र पार्टी प्रमुख एउटै हुनुपर्छ भन्ने एमालेको दावी र आफ्नो नेतृत्वदायी भूमिका खोज्न मौन विद्रोह गरिरहेका प्रचण्ड, माओवादीको दृश्य अदृश्य ठाकठुकले पनि तालमेल वाममेलमा पुग्न नसक्ने अनुमान छ । शान्ति, समुन्नति, सुशासनका लागि वाममोर्चाले अवसर त पायो, यो अवसरमै सिमित नहोला भन्न सकिन्न ।