काठमाडौं, वाम मोर्चाले चुनाव जित्यो, जनताको विश्वास पनि जित्यो । चुनाव जितेपछि राजनीतिक स्थिरता, समृद्धि र सुशासन दिन्छु भन्ने वाचाबन्धन मोर्चाका नेताद्वय केपी ओली र प्रचण्डले दोहोर्याइरहेका छन् । तर, एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री र अध्यक्ष केपी ओली नै हुन् भनेपछि मच्चिएको माओवादीभित्रको हुँडलो निर्वाचन परिणामको मन्थन गर्न बसेको माओवादी बैठकभित्रै व्यापक रुपमा बढेको छ । ओली प्रधानमन्त्री बन्ने भए, प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्नुपर्छ भन्ने आवाज घन्किएको छ ।
आइतवार भएको सामुहिक पत्रकार सम्मेलनमा अध्यक्ष र प्रधानमन्त्री को हुने भन्ने सवालमा ओलीले स्पष्ट जवाफ दिएनन् भने प्रचण्डले हामी दुबै प्रधानमन्त्री भइसकेकाले हामीलाई प्रधानमन्त्री बन्ने लालच छैन त भने तर घ्यू बेचुवा र तरवार बेचुवाको शैलीमा ओली प्रधानमन्त्री बने, म मोर्चाको अध्यक्ष बन्नुपर्छ भन्ने संकेत प्रचण्डले गरेका छन्, दुबैले योजना स्पष्ट पार्न सकेको देखिदैन ।
एकातिर सरकार बन्दैछ भने केन्द्रको सरकारमा को को सामेल हुने भन्ने लाम लामो छ दुबै पार्टीमा । चुनाव जितेर उत्साहित हुनेहरु मन्त्री बन्न लालायित देखिन्छन्, भित्रभित्रै ज्याक लगाएर मन्त्री बन्ने प्रतिस्पर्धा सुरु भइसकेको छ ।
अर्कोतिर २ नम्बर प्रदेश बाहेक ६ प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने अर्को प्रतिस्पर्धा पनि भित्रभित्रै चलिरहेको छ । ६० र ४० को भागबण्डा गर्ने हो भने दुई प्रदेशमा माओवादी र चार प्रदेशमा एमालेको प्रदेश सरकार बन्नेछ ।
योभन्दा ठूलो प्रतिस्पर्धा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख एमाले र कांग्रेसले कसरी भागबण्डा गर्ने र कसले कसलाई नियुक्त गर्ने भन्ने सवाल पनि राजनीतिभित्रको राजनीतिक द्वन्द्व चकिएको अवस्थमा,सहमति जुटेको छैन ।
राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीले पाउने हो भने अहिलेकै राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन (एमाले र माओवादी)ले अर्को ५ वर्षे अवधिका लागि दोहोरिन खोजेका छन् । यता एमालेका झलनाथ खनाल र माधव नेपाल राष्ट्रपतिका दावेदार बनेका छन् भने प्रचण्ड राष्ट्रपति बन्ने कि भन्ने सोचमा छन् । यता मुख्यमन्त्रीमा एमालेका राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यको प्रतिस्पर्धामा पाण्डे फेल भए भने उनको मनमोहन मेडिकल कलेजलाई महिनादिनमै लाइसेन्स दिलाउने इच्छामा पनि दुस्प्रभाव पर्नजानेछ ।
सभामुख चाहिं माओवादीले नछोड्ने पक्का छ । समानुपातिकमा पर्ने अधिकांश महिलाहरु पनि उच्च पदका दावीसहित सक्रिय हुनथालिसकेका छन् । यसबाहेक संयुक्त मन्त्रिमण्डलमा पनि एमाले र माओवादीवीच उही साठी चालिसकको भागबण्डा हुँदैछ र अर्थ एमालेले पाउने र गृहमा माओवादीकै दावी छ । यसो भयो भने ओलीका चहेता नवराज सिलवाल गृहराज्य मन्त्री बन्नसक्नेछन् ।
यसरी एमाले र माओवादीभित्र सत्ता साझेदारी र भागबण्डाको मेलो मिल्दैगर्दा उता राष्ट्रिय सभा गठन विधेयक राष्ट्रपतिले अड्काएर राखेकी छिन्, यसकोमूल उद्देश्य प्रधानमन्त्री देउवालाई तत्काल राजीनामा दिन बाध्य पार्ने, सत्ताअवधि लम्ब्याउन नदिने नै देखिन्छ । तथापि कांग्रेस संविधान अनुसार चल्ने कि जबरजस्ती भनेर प्रश्न गरिरहेको छ । यो विवादले भयंकर रुप लिने देखिन्छ, दुबैतिरका अधिवक्ताहरु तर्कको जुआरी खेलिरहेका छन् । यसमा पनि सर्वोच्चको राय लिनुपर्ने स्थिति आउन लागेकोजस्तो देखिदै छ । आफ्ना आफ्ना सांसदको इच्छापूर्ति गर्न खोज्दा आन्तरिक रुपमा ठूलै विवाद हुने लक्ष्यणले गर्दा वाममोर्चाका दुबै घटकभित्र घटनाहरुको श्रृंखला सुरु हुने सम्भाबना छ । सबैभन्दा ठूलो खड्गो त एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री र वाममोर्चाको अध्यक्ष आफैले लिइदिा एकीकरण तुहिने र यहीविन्दुबाट दुबैपार्टीवीच खटपट बढ्ने अनुमान विश्लेषकहरुले गर्न थालिसकेका छन् ।