काठमाडौं । भारतले जिताउनै पर्ने भनेर प्रचार गराएका शेखर कोइराला, दमन ढुंगाना, प्रकाशशरण महत, विमलेन्द्रनिधि, सुनलबहादुर थापा, अमरेशकुमार सिंह, नारायण खड्का,प्रदीप गिरीरमेश लेखक, आरजु राणा, गगन थापा, उदयशमशेर राणा मध्ये गगन थापाबाहेक अधिकांशले चुनाव हारेका छन् वा हारको अन्तिम घोषणामा पर्दैछन् । आखिर भारतले किन यिनलाई जिताउनै पर्ने भनेर प्रचार गरायो र खासगरी धनुषामा बिमलेन्द्र निधिलाई हराएर राजेन्द्र महतोले कसरी चुनाव जिते । राजपाका सबै नेताहरुले चुनाव जितिरहेका छन् र चुनाव जित्नासाथ राजेन्द्र महतोले संविधान संशोधनको मागको जित भनेर फुइँकी हाने । के भारत मधेस प्रदेशलाई बहुराष्ट्रवादको असंवैधानिक बहस चर्काएर नेपाललाई टुक्य्राउन चाहन्छ ? कतै भारतको चक्रव्यूहको बिजारोपण त भएन यो चुनावको नतिजाले ? भारतीय कूटनीतिभित्रको राजनीति बुझ्नेहरु विश्लेषणमा जुटेका छन् ।
कम्युनिष्टले कांग्रेसको काँध चढेर हिन्दुवाद र राजावादमाथि हम्मर हान्यो र हिन्दु र राजावाद फाल्यो । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणाममा आएर कम्युनिष्टले कांग्रेसको मुठ्ठी कांंग्रेसकै छातीमा बजारेको खुलासा हुनपुगेको छ । हातमा भएको गुमाएपछि पछुताउनु बाहेक कांग्रेसका हातमा केही पनि छैन । ५ वर्षपछिको राजनीतिलाई कसरी कांग्रेसपक्षमा पार्ने भन्ने गम्भीर छलफल गर्न र आत्ममन्थनमा जुट्न थालेको छ नेपाली कांग्रेस ।
कांग्रेस झल्यास्स ब्यूँझिन पुगेको छ । वीपीवाद छाड्दा, समाजवादभन्दा प्रचण्डवादको भर पर्दा कांग्रेस चुनावी नतिजामा पाहा पछारिएझैं पछारिन पुगेको छ । तावाबाट उछिट्टिएको माछो आगोको भुङ्ग्रोमा परेझैं भएको छ । सत्ता सत्ता भनेर नथाक्ने कांग्रेस सभापति शेरबहादुर देउवाको शक्ति र सत्ता कसरी कम्युनिष्टले खोस्यो कि उनी इन्तु न चिन्तुको अवस्थामा पुगेका छन् ।
यहाँसम्म कि नेतृत्वको असफलता र गलत नीतिका कारण चुनावमा पार्टीको बेइज्जतिपूर्ण हार भएको निष्कर्ष निकाल्दै कांग्रेसभित्र विशेष अधिवेशनको माग चुलिएको छ । गगन थापाजस्ता युवा नेता देउवाले बिगारेको पार्टी म सम्भाल्छु भन्ने अवस्था सिर्जना भएको छ । सभापति देउवाको सभापतित्व नैतिक संकटमा परिसकेको छ । देउवाले चुनाव त जिते, आफ्नै श्रीमतीलाई जिताउन सकेनन्, आफ्ना सबै हेभीवेट नेताहरु चुनावमा हारेको दृश्य देखेर देउवा दिग्दार भइरहेका छन् ।
यता कांग्रेसभित्र पार्टी नेतृत्व फेर्ने बहसले देउवालाई थाल खाउँ कि भात खाउँको अवस्था सिर्जना गराइदिएको छ । पार्टी नेतृत्व परिवर्तनको बहसले सभापति देउवा निर्णयहीन बन्न पुगेका छन् । कोइराला परिवारमा सरगर्मी बढेको छ । खासगरी वीपीको प्रजातन्त्र, राष्ट्रवाद र समाजवादकै सिद्धन्तमा नगए, कम्युनिष्ट भरमा नपरी आफ्नै खुट्टमा नउभिए वामपन्थीको गठबन्धनसँग सिंगौरी खेल्न नसकिने अगुवा कांग्रेसीको निष्कर्ष सुनिन्छ ।
वीपीको सिद्धान्त भनेको राजावाद र प्रजातन्त्रवाद नै हो । यसमा अव आएर हिन्दुवाद जोडिएको छ । यी शक्तिहरुलाई एकत्रित पारेर कांग्रेसी राजनीतिमा पुनर्विचार हुनसकेन र पुनर्संगठित गर्न सकिएन भने कांग्रेस केपी ओलीले भनेझैं मासिन्छ, नेपालमा ५० वर्ष कम्युनिष्टको शासन नचल्ला भन्न सकिन्न।
जब कि एमाले र माओवादी ५ वर्षे स्थिर शासनको लागि कसरतमा जुटेका छन् । केही दिनमै वाम सरकार बन्ने र ५ वर्ष स्थिर सरकार चलाउने एमाले अध्यक्ष ओलीको गृहकार्यले सुरु भइसकेको छ । हुन त वामपन्थीको अतित सुखदायी छैन, सत्ता र शक्तिका लागि टुटफुटका अनेक घटनाक्रमले पछ्याएको देखिन्छ । निर्वाचन परिणामले स्थिर सरकारको ग्यारेण्टी छ तर नेताहरुको सत्तालिप्साले त्यो ग्यारेण्टीमा कुनै पनि बेला पानी फेरिनसक्छ ।
यद्यपि केपी ओलीले लोकतन्त्रकै वकालत गरेका छन् । तर उनका सहयात्री माओवादी छ र माओवादीको महत्वाकांक्षा फेरि पनि सत्ता कव्जामा नै हो र सत्ताको किङपिन बनिरहन माहिर छन् प्रचण्ड । ०६३ सालको परिवर्तनपछिका १२ वर्षपछि पनि प्रचण्ड राजनीतिको केन्द्रविन्दुमै रहनु उनको क्षमताको कारणले हो । आफ्नो बर्चस्व कायम राख्न कांग्रेसलाई लात हानेर एकाएक ओलीको काखमा पुगेका प्रचण्डले एमाले र माओवादी दुबैलाई पार लगाए, कांग्रेसलाई हावा खुवाईदिए । यतिसम्मको चतुर राजनीतिक खेलाडी नेपाली राजनीतिमा अर्को छैन । माले मण्डले मसाले एउटै हुन् भन्ने गिरिजालाई त बशमा पारिदिए, देउवा वा ओली उनका लागि ठूलो कुरा थिएनन् । कांग्रेसले हिन्दुवाद, राजावाद फाल्दा दयनीय अवस्थामा पुग्यो, आफै बढारियो । अव गल्ती सच्याउने अवसर आएको छ, सच्चिए यो बेहोसीबाट बौरिन सकिने छ ।