Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नयाँ नेपाल बनाउने नयाँ युगको चरण सुरुभयो

११ सोमबार , मंसिर २०७४७ बर्ष अगाडि

मंसिर १० गते पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले उत्सवको मूडमा भएको निर्वाचनमा उत्साहका साथ मतदान भएको र सरदर ६५ प्रतिशत मत खसेको जानकारी दिदै दोश्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास प्रकट गरेका छन् । हुन पनि छिटफुट घटनाबाहेक ठूलो दुर्घटना भएन र पहिलो चरणको मतदान सम्पन्न भएको छ । दोश्रो चरणको निर्वाचनपछिमात्र मतगणना गरिने छ । त्यतिञ्जेलसम्म पार्टीका प्रतिनिधिको रोहबरमा सुरक्षा निकायले मतपेटिकाको सुरक्षा गर्नेछन् ।
काठमाडौं । नेपाली कांग्रेसको मुटु हल्लाइदिएछ वाममोर्चाले भन्ने कुरा प्रधानमन्त्री तथा लोकतान्त्रिक गठबन्धन बनाउने शेरबहादुर देउवाको अभिव्यक्तिले प्रष्ट भएको छ । एकातिर वाममोर्चा जिते रुन पनि पाइन्न भन्ने, अर्कोतिर वाममोर्चाबाट प्रजातन्त्र बचाउँ भन्दै जनता गुहार्ने देउवाको अभिव्यक्ति र बरिष्ठ नेता रामचन्द्र पौडेलले वाममोर्चा जित्यो भने देश क्यूवा र उत्तरकोरिया बन्छ भनेर आफ्नो पक्षमा मतदाताको ध्यानाकृष्ठ गर्नुले पनि गर्नुले कांग्रेस वाममोर्चाबाट थरहरि भएको पुष्टि हुन्छ ।
यद्यपि कांग्रेस चुनावमा आफ्नो पक्षमा जनादेश ल्याउन विनोद चौधरीसम्मलाई चुनावी प्रचार अभियानमा जुटाएर भरमग्दुर प्रयास गरिरहेको देखिन्छ ।
यता एमाले अध्यक्ष केपी ओली चुनावपछि कांग्रेसलाई खोजेर पनि पाइन्न, ५ वर्षे स्थिर सरकार आउँछ, ५० वर्षसम्म वाममोर्चाको समाजवादले विकास र नयाँ नेपालको निर्माण गर्छ भनेर हल्लाखल्ला मच्चाउनु र वाममोर्चाका कार्यकर्ताले त्यही हल्लालाई झ्याइँ झ्याइँ पारेपछि कांग्रेस नून खाएको कुखुराझैं झोक्य्राएको र चिल्लीबिल्ली हुने त होइन भनेर राजनीतिक र कूटनीतिक बृत्तमा पहिलो चरणको निर्वाचनको परिणाम र दोश्रो चरणको परिणामको लेखाजोखा गर्न थालेका छन् ।
यद्यपि भारतीय पक्ष जसरी पनि कम्युनिष्ट शासनलाई रोक्न भूमिका खेलिरहेको र राजदूत मञ्जिवसिंह पुरीले कुनै दलको पनि बहुमत नआउने रिपोर्ट दिल्ली पठाएको चर्चा पनि बाक्लै सुनिन्छ ।
यता युरोपियन युनियन, बेलायत र अमेरिकी दूतावास पनि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आग्रह गरेपछि निर्वाचन परिणामको आँकलन गर्न आफ्ना स्रोतहरुमार्फत सूचनाहरु संकलन र विश्लेषण गर्न जुटेका छन् ।
नेपाली कांग्रेसका सभापतिको वामोर्चासँग तर्सेको अभिव्यक्ति, बरिष्ठ नेताहरुको नेपालको प्रजातन्त्रलाई खतरा भएको र देश क्यूवा र उत्तरकोरिया बन्नसक्ने भाषणवाजी तथा राजपाका महन्थ ठाकुरले बहुल राष्ट्रवाद र तराई मधेस छुट्टै देश भनेर गरेको प्रचारवाजीले पनि वाममोर्चालाई नै लाभ पुगेको छ र वाममोर्चाको पलडा भारी हुने आँकलन विश्लेषकहरुले गरेका छन् । पहिले पहिलेका निर्वाचनमा आँकलनहरु दुरुस्त हुन नसकेका प्रमाणका आधारमा भन्ने हो भने मतदाताहरुले मतदान गरेको र मतदान गर्दा राजनीतिक पार्टीहरुलाई सन्तुलनमा राखेर मतादेश दिएको उदाहरण पनि छन् । ती उदाहरणलाई हेर्ने हो भने यो निर्वाचनले न लोकतान्त्रिक गठबन्धन तर्सिनुपर्ने, न वाममोर्चा उतर्सिनुपर्ने नतिजा आउनसक्ने धेरैले लख काटेका छन् ।
पहिलो चरणको ३२ जिल्लाको निर्वाचन परिणाम अव ब्यालेटबक्सभित्र ठूला साना नेता, पार्टीहरुका लागि शुभ, अशुभ, सौभाग्य र दुर्भाग्य बनेर बन्द भइसकेको छ । निश्चित रुपमा निर्वाचनमा जुन त्रासदी र भय थियो, त्यो खड्को काटिएको छ, अकल्पनीय दुर्घटना केही भएन । यसका लागि सुरक्षा निकायलाई धन्यवाद दिनैपर्छ र कर्मचारी पनि धन्यवादका पात्र छन् ।
यो पहिलो चरणको निर्वाचनले मुलुकलाई नयाँ युगको नयाँ चरणमा प्रवेश गराएको छ, दोश्रो चरणको निर्वाचनले त्यो चरणलाई सम्पन्न गरेर प्रदेश र प्रतिनिधिसभाको गठन, नयाँ सरकार र संविधानको कार्यान्वयन गर्ने अर्को चरण सुरु गर्नेछ । दुर्घटनामा परेको र कार्यान्वयन नै हुन नसकेको संविधान कार्यान्वयन भयो भने यही क्रममा राष्ट्रिय मुद्दाहरुको दोषलाई मेट्ने प्रयत्न पनि हुनसक्छ । गर्नैपर्छ । किनकि हिन्दुवाद, राजतन्त्र र जनवाद कोही संविधानभित्र र कोही संविधान बाहिरका राष्ट्रिय मुद्दाहरु हुन्, जसलाई समाधान नगरी नयाँ नेपाल र स्थिर राजनीतिको सुरुआत हुनैसक्दैन । यही विन्दुबाट सुशासन, भ्रष्टाचारबाट मुक्ति, विधिको शासन र संवैधानिक अंगहरुको सशक्तिकरणसहितको सन्तुलित शासनको अनभूति पनि हुनसक्छ ।
राजनीतिक पार्टीहरुको परिवर्तनपछिको इतिहास कालो छ, दागी छ । यो कालो धब्बालाई यही निर्वाचनको धोवीघाटमा धुन सकियो भने नेपाल न क्यूवा हुन्छ, न उत्तर कोरिया । नेपाल नेपाल हुन्छ र प्रजातान्त्रिक नेपालका रुपमा असफलताको भीरबाट बिस्तारै विकासशीलतातिर लाग्नसक्छ । विश्लेषकहरु यसै भन्छन् ।