काठमाडौं । शेखर कोइरालाको निर्वाचन क्षेत्र पुगेर राप्रपा अध्यक्ष कमल थापाले कांग्रेसका लागि भोटमात्र मागेनन्, कांग्रेस र राप्रपा राजतन्त्रवादी पार्टी हो भनेर छातीसमेत ठोके । अध्यक्ष थापाले निर्वाचनपछि लोकतान्त्रिक गठबन्धनबको नेतृत्वमा सरकार बन्ने दावी समेत गरेका छन् ।
यही सभामा कांग्रेसका नेता शेखर कोइरालाले वामपन्थीहरुलाई कुकुरको पुच्छरसँग दाँज्दै कुकुरको पुच्छर सिधा पार्नु र वामपन्थीलाई लोकतन्त्रवादी बनाउनु उस्तै हो भनेका छन् । शेखरको यो कडा टिप्पणी हो । शेखरका अनुसार कांग्रेस माओवादीको राम्रै सहकार्य थियो, अहिले माओवादीका अध्यक्ष प्रचण्ड हामीलाई छाडेर वाम गठबन्धन बनाउन एमालेसित मिल्न जानु भयो । मलाई लाग्छ, हाम्रा टाउकामा उहाँहरूको बोझ थियो । हलुका भएको छ ।
शेखर कोइरालाले रहस्य खोल्दै अगाडि भनेका छन्– प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा नै मलाई भन्नुभएको थियो– अहिले हामीसित दुई तिहाई बहुमत भएको भए एकदलीय शासनमा जाने थियौं, मैले सोधें, कस्तो हो एकदलीय शासन भनेको ? त्यसबेला प्रचण्डको उत्तर थियो, चीनको जस्तो । दुई तिहाई बहुमत हामीले पायौं भने एकदलीय शासन स्थापना गरेरै छाड्छौं । अहिले आएर दुवै पार्टीबीच ७ बुँदे सम्झौता भयो, त्यो ७ बुँदे सम्झौतामा अरू २ वटा बुँदा थिए, त्यो उहाँहरूले हतारहतार मेटाउनु भयो । त्यसमध्ये एक थियो, एउटै चुनाव चिन्हमा चुनाव लड्ने र अर्को थियो, दुवै पार्टीको एकीकरण गरेर एउटै नेपाल कम्युनिस्ट पार्टी बनाउने अनि राष्ट्रपतीय पद्धति, एकदलीय शासन हुँदै साम्यवादी शासनको स्थापना गर्ने । अहिले वाममोर्चा त्यही
उद्देश्यमा देखिन्छ । ५० वर्ष शासन गर्ने कुरा गरिरहनु भएको छ ।
शेखरले पुलिन्दा खोले– नोमिनेशनको त्यो बेला विराटनगर र झापा दुवै ठाउँमा केपी ओलीले संसदीय र बहुदलीय व्यवस्था निर्विकल्प व्यवस्था होइन भन्नुभएको छ । यो चुनावबाट मुलुक कस्तो बनाउने भन्ने निर्णय पनि हुँदैछ । प्रजातान्त्रिक नेपाल कि साम्यवाद ?
साम्यवादकै लागि पशुपतिका मूल भट्ट हटाउने र फेरि पुनस्र्थापना गर्नु परेको घटना शेखरले स्मरण गराए ।
विराटनगरमा राप्रपाको कार्यक्रममा कांग्रेसका शेखर कोइरालाका लागि चुनाव प्रचार र दुबैले राजतन्त्रवादी हौं भन्ने विषयमा सहमति गर्नुले भावी दिनका लागि अर्थपूर्ण रहेको अनुमान छ ।