Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कम्युनिष्टबाट प्रजातन्त्रलाई जोगाउँ

०४ सोमबार , मंसिर २०७४७ बर्ष अगाडि

काठमाडौं । वाममोर्चा के बन्यो, प्रचण्ड र ओलीले बहुमत जितेर ५ वर्ष स्थिर शासन चलाउने र कम्युनिष्ट समाजवादी राजमार्ग निर्माण गर्ने चुनावी अभियान के चलाए, परालखुट्ट कांग्रेस लल्याकलुलुक भयो ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको शेर गर्जन सुनिन छाडेको छ, उनी कम्युनिष्ट त्रासबाट प्रजातन्त्र जोगाउन जनतालाई आह्वान गर्न थालेका छन् ।
कांग्रेसले चुनाव प्रचार नै वाममोर्चाले चुनाव जित्यो भने रुन पनि पाइन्न भनेर सुरु गरेका छन् । यसबाट पनि थाहा हुन्छ, चट्याङ परेजस्तो गरी बनेको वाम मोर्चाले चुनावी लहर ल्याएकै हो र चुनावमा चमत्कारिक बहुमत ल्याउने हो कि भन्ने विश्लेषण देशभित्र मात्र होइन, कूटनीतिक र विदेशतिरसमेत हुनथालेको छ ।
चुनावका लागि एकता र चुनावपछि पार्टी एकीकरण गर्ने प्रचण्ड र ओलीको शंखघोषले छितरिएको नेपाली राजनीतिलाई ध्रुविकृत बनाउँदै लगेको छ । वाममोर्चालाई जवाफ दिन कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउन बाध्य भएकै हो । बिस्तारै नेपाली राजनीति प्रमुख दुईदलतिर उन्मुख हुनथालेको अनुभव जोकसैले गरिरहेका छन् ।
निर्वाचन आयोगमा जतिसुकै दल दर्ता भए पनि र संविधानसभामा ३० दलले प्रतिनिधित्व गरेका भए पनि अवको चुनावले बढीमा ६ दलमात्र संसदमा पुग्ने लक्ष्यण देखिएको छ । राष्ट्रिय दल बन्नका लागि ३ प्रतिशत मत ल्याउनै पर्ने भएकाले समेत दलहरुको नियोजन यही चुनावबाट सुरु हुनेछ । भुरे टाकुरे दलहरुको नियोजनले दलहरुको कलमी हुनेछ र यही चुनावबाट नयाँ प्रकृतिको राजनीतिक माहोल बन्नेछ ।
वाममोर्चाले कांग्रेसलाई चुनाव हराउन कर्कलो काट्न बन्चरो प्रयोग गर्नै नपर्ने र ५० वर्षसम्म वामपन्थीको सरकार हुने दम्भ प्रदर्शन गर्न थालेपछि प्रजातन्त्रको बिडा उठाएको हामीले भनेर अहंकार गर्दै आएको नेपाली कांग्रेसको सातो गएको छ । वाममोर्चा आयो भने प्रजातन्त्र सिद्धिने भो भन्ने भयग्रस्त मानसिकतामा पुगेका शेरबहादुर देउवाले ससाना पार्टी, बुद्धिजीवी र आम जनतालाई प्रजातन्त्र बचाउन र कम्युनिष्टबाट बच्न सचेत गराउन थालेका छन् । आफ्नै पालामा कांग्रेस सिद्धिने, प्रजातन्त्र समाप्त भएर नेपाल लालकिल्ला बन्ने त होइन भन्ने डर छ देउवालाई ।
प्रदेश देखि प्रतिनिधिसभाको निर्वाचनसम्म वाममोर्चाको राताम्मे सूर्यको दबदबा बढेर जाँदो छ । जति जति निर्वाचन सन्निकट बन्दै जान्छ, त्यति त्यति प्रचण्ड र केपी ओलीको हुंकार पनि बढेर गइरहेको छ । वाममोर्चा निस्फिक्री रुपमा भन्न थालेका छन्– अव एमालेको नेतृत्वमा सरकार बन्छ, यो १५ दिने सरकारले गरेका निर्णयहरु उल्ट्याइन्छ ।
के चाहियो, दिनदिनै कांग्रेस थरहरि छ । कसरी वाममोर्चाको यो तीब्र गतिलाई रोक्ने भनेर कांग्रेसका थिङ्क टेंकहरु सोचमग्न बन्न थालेका छन् ।
यतिमात्र होइन, कांग्रेस जित्यो भने हिन्दुराष्ट्र र राजतन्त्र फर्किन्छ भनेर सुतेको बाघ अर्थात मोहनविक्रम सिंहसमेत वाममोर्चालाई जिताउन जीवनभरको कम्युनिष्ट तपस्याको बल लगाउन अग्रसर भएका छन् । कम्युनिष्टहरुको यो साझा बललाई परास्त पार्न र प्रजातन्त्र जोगाउनका लागि कांग्रेसका सभापति तथा प्रजातन्त्रका कमाण्डर बनेका शेरबहादुर देउवाका सामु एकमात्र उपाय छ, त्यो हो हिन्दुवादी र राजावादीसँग हातेमालो गर्नु । वीपी कोइरालाको सिद्धान्तमा फर्कनुको कुनै विकल्प कांग्रेससँग बाँकी देखिदैन ।
गिरिजाप्रसाद कोइरालाको महत्वाकांक्षा पूरा गर्न उनले प्रचण्डवादमा मिसाएको कांग्रेसको मूलधारलाई वीपीवादमा फर्काउने हो भने कम्युनिष्टबाट प्रजातन्त्र जोगाउन कुनै महाभारत लड्नै पर्दैन । मात्र देउवाले महामन्त्री सशांक कोइराला र शेखर कोइरालाले अंगीकार गरेको वीपी सिद्धान्तमा उभिने साहस गरे भने कम्युनिष्ट फेरि मरीच चाउरिएजसरी चाउरिने, टुटफुट, गुट र लुटमा सिमित हुनेछ भने प्रजातान्त्रिक राजमार्ग स्वत: सुरक्षित र संरक्षित हुन पुग्नेछ, फेरि फेरि कम्युनिष्टबाट प्रजातन्त्रलाई जोगाउँ भनेर कांग्रेस सभापति देउवा अथवा भावी कुनै सभापतिले पनि यसरी लगलग कामेर आह्वान गरिरहनु पर्नेछैन, कम्युनिष्ट साइजमा आउनेछन् ।
नेपालको इतिहासमै पहिलोपल्ट कम्युनिजम र कम्युन्यालिजमको खतरा यसरी बढेको हो । २१औं शताव्दीमा कम्युनिष्टबाट प्रजातन्त्रवादीले यसरी डराउन पर्नु भनेको कांग्रेसको चुक भएर हो, अव त्यो चुक सुधार्ने हो भने कांग्रेसका साथमा प्रजातन्त्रवादीका साथमा राजावादी र हिन्दुवादीसमेत मिल्नेछन् र यो त्रिवेणीलाई भत्काउन कुनै पनि कम्युनिष्ट मोर्चा अथवा निरंकूशताले कहिल्यै सफल हुनेछैन । विश्लेषक विश्लेषण गर्दैछन् ।