काठमाडौं । पेरिसडाँडाका दोश्रा र तेज्ञश्रा श्रेणीका नेताहरु चुनावका लागि भारु १० आएको प्रचार गरिरहेका छन् । ठूलो दलले ३ अर्व लियो, ससाना दलहरुले करोडभन्दा बढी बुझेको प्रचार देख्दा लाग्छ, पेरिसडाँडा र दिल्लीको सिधा सम्पर्क छ ।
उनीहरुका अनुसार बाममोर्चाबाट आत्तिएर भारतले लोकतान्त्रिक गठबन्धन र मधेसवादीहरुलाई चुनाव जिताउन यति ठूलो रकम नेपाल पठाएको हो । त्यसो भए पैसाले किनेरै लोकतन्त्रवादीहरुले चुनाव जित्ने भए, कम्युनिष्ट तन्त्र ल्याउँछु भन्नेहरुले चुनाव हार्ने भए त ? कि तिनलाई पनि रेलवेको अध्ययन गर्न आएको चिनियाँ ३३ सदस्यीय टोली जो शुक्रवार फर्कियो, तिनले पनि चुनाव खर्च भनेर ठूलै रकम त ल्याएका थिएनन् ?
स्मरणीय छ, कुनै दिन सत्ता परिवर्तन गर्न कृष्णबहादुर महराले ५० करोड माँगेको खुबै चर्चा चलेको थियो । अहिले तिनै महरा पनि चुनावमा उठेका छन् र महराको पार्टी माओवादी एमालेसँग एकता र चुनावपछि पार्टी एकीकरण गर्ने खुब प्रचार गरिरहेको छ । चुनाव नेपालमा हुने, खर्च चाहिं उत्तर दक्षिणतिरबाट ओइरिने हो भने यो चुनाव नेपालका लागि भइरहेको छ कि विदेशीका लागि ? जुन लोकतन्त्रको गफ गरिन्छ, यो लोकतन्त्र भारततन्त्र हो कि चीनतन्त्र ? नेपालीले खोजेको नेपालीतन्त्र हो, नेताहरुले लोकतन्त्रलाई विदेशीको रखैल बनाइसकेछन् त ? जो यस खालका कुराहरु गरिरहेका छन्, त्यसबाट नेपालको स्वाभिमान र स्वाधीनता, लोकतन्त्रको असली स्वरुप प्रष्ट हुँदैन र ? यिनीहरु नै देशभक्त रे ।
हो, विदेशीले पैसा दिन्छ, दिएको छ, दिनेले दियो भन्दैमा खाने त यिनै हैसियतवाला दलहरु न हुन् । फेरि किन हल्लाखल्ला गरिरहेका छन् । अहिले माओवादीले गर्यो, भोलि अर्कोदलले माओवादीको खोइरो उतार्दाै के बाँकी रहला र ?
हुन त हाम्रा राजनीतिक पार्टी नेताहरु खान पाए भने जे पनि खान्छन् भन्ने विश्वभरि थाहा भइसक्यो । खाली नेपाली जनता छन्, जो सोझा र सहनशील छन् र नेताहरुले पार्टीका नाममा जति अपराध गरे पनि सहिरहेका छन् ।
अचम्म, एकले अर्कोलाई लिङ्ग सोध्ने, एकले अर्कोलाई राष्ट्रघाती भनेर धारे हात लगाएर सत्तासराप गर्ने पार्टीहरु यतिबेला गठबन्धन भनेर चुनाव जित्न सपना बाँडिरहेका छन् । अव कम्युनिष्टतन्त्र आयो, आयो भनेर ढोल पिटेका छन् । चाहिने नेपालतन्त्र, चुनावका नाममा जे भइरहेको छ, त्यो नेतातन्त्रमात्र हो ।
नेताहरु यतिसम्म तल झरेर चुनाव प्रचार गरिरहेका छन् कि प्रचण्डजस्ता नेताले चितवनमा आफ्ना प्रतिद्वन्द्वीलाई त्यो विक्रम ठेकेदारमात्र हो, अव मैले चुनाव जितें जितें भनेर ठोकुवा नै गरिदिए । हुन त त्यही चितवनको भरतपुर नगरपालिकामा प्रचण्डपुत्री मेयरमा कसरी चुनाव जितिन्, त्यो कि त प्रचण्डलाई थाहा छ, कि कांग्रेस सभापति देउवालाई । ठूला नेताहरु चुनाव जित्नका लागि कतिसम्म तल झरेर बोल्न सक्छन्, यसकारण नेताको र चुनावको स्तर नै तल खस्किएको छ । हिम्मत भए स्थानीय चुनावमा कति नयाँ अनुहारले रातारात गाडी चढे, कसरी चढे त्यसको हिसावकिताव निकालौं न ? अनि थाहा हुन्छ, नेपालमा चुनाव कसरी हुनेरहेछ भनेर । यद्यपि लोकतन्त्रलाई भागबण्डातन्त्र बनाइसकेका नेताहरुलाई लोकलज्जा नै छैन, जे बोले पनि त भयो । १२ वर्षमा पनि सम्हालिदैनन् भने कहिले परिपक्व होलान् ?