पूर्वराजाले तिहारको दियोसँगै राष्ट्रिय राजनीति, राष्ट्रिय अस्तित्व र राष्ट्रिय एकताका लागि सहमति र सहकार्यका लागि एकपटक फेरि बत्ती जगाएका छन् । यो उद्घोष देशका लागि हो, दुनियाँका लागि हो र लोकतन्त्र संस्थागत गर्नका लागि हो भन्ने बुझ्नु अति आवश्यक छ । किनभने वर्षामा बस्र्यौटो र हिउँदमा सुख्खा कूशासनको पहिरो थाम्न अव नेताहरुको पाखुरी र काँधले मात्र नसक्ने पक्का भइसकेको छ । यो डरलाग्दो परिस्थितिलाई सम्हाल्न पूर्वराजा पनि तम्सिएका छन्, डनको सहयोग लिन हुने, पूर्वराजाको किन नहुने ?
काठमाडौं । लामो समयदेखि राजा आउ देश बचाउ भनेर नारा लगाउने समूहको आग्रह र देशको बिग्रदो परिस्थिति, अराजकता र कूशासनलाई समेत ध्यानमा राखेर पूर्वराजाले सबैको सहमति हुन्छ भने देशको नेतृत्व लिन तैयार छु भन्ने सन्देश दिएका छन् । सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा भाइटीकाकै दिन पूर्वराजाले आफू नगारिकको हैसियतले देशको चिन्तामा रहेको जनाउ पनि दिएका छन् ।
पिँध तात्यो, बिड तातेन भनेर पूर्वराजाका बारेमा ठूलै प्रशनचिन्ह लागिरहेको थियो । त्यो सवालको जवाफ दिन पूर्वराजाले आफू देशको नेतृत्व लिन तैयार रहेको त बताए, तर यो सुनेका पूर्वराजाका समर्थक, प्रशंसक,राजावादीहरु सलहजसरी उठ्लान भन्ने जुन आशा गरिएको थियो, कोही पनि उठेनन्, सबै चीर निन्द्रामै छन् । हुनसक्छ, यो आँधी आउनु अघिको मौनता पनि हो कि ?
कार्तिक ४ गते, शनिवार, तिहारको अन्तिम दिन भाइटीका । भाइटीका लगाउन बहिनीको घर पुगेका पूर्वराजालाई सञ्चारकर्मीले घेरेर प्रश्न गरेपछि पूर्वराजाले आफू मुलुकको नेतृत्व लिन तैयार रहेको जनाउ दिएका हुन् । तर, सबै जनताको इच्छा हुनुपर्छ ।
पूर्वराजाको स्पष्ट भनाई छ– अब फेरि सक्रिय भयो भन्ने कुरा होला । यो सक्रिय हुने वा नहुने कुरा होइन । एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई चिन्ता र चासो हुनु स्वभाविकै हो, अहिले परिस्थिति कस्तो छ भने दुबोको माला, गोदावरी फूलको माला, मखमली फूलको मालाको महत्त्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने । यो परिस्थितिमा हामी हिंडिरहेका छौ । नेतृत्व नभए जस्तो देखिएको छ, त्यसैले अब समय आयो जस्तो लाग्छ । जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु । फेरि म दोर्होयाउन चाहन्छु सबैले चाहेर यो हुनुपर्छ । तिहारको बेला परिवारसँग बिताउनु पर्ने समय भए पनि जिम्मेवार सबै दाजुभाइ दिदीबहिनीलाई आफूले भनेको कुरामा पनि ध्यान दिन आग्रह गरे ।
पूर्वराजा यसरी बोल्छन् भनेर कसैले विश्वास नै गरेका थिएनन् । तर पूर्वराजाले देशप्रतिको चिन्ता प्रकट गरेकै हुन् । देश नेतृत्वविहीन भएकाले आफू नेतृत्व दिन तैयार भएकै हुन् । तर यो उनले बोल्ने समय थियो कि थिएन ? पूर्वराजाले बोलिसकेपछि देशव्यापी रुपमा राजनीतिक तरङ्गमात्र होइन, ज्वारभाटा नै उम्लिनुपथ्र्यो । त्यसो किन हुनसकेन । बारा, पर्सा र रौटहटमात्र केही राजावादीले जयजयकार गरे, पूर्वराजा आउने भए भनेर जुलुस निकाले । राजधानीमा के भो ? केही बौद्धिक व्यक्तिहरुले अव मुलुक बिखण्डन नहुने भयो भनेर आत्मतुष्टि लिए । बाँकी सबै दलहरुका झोले थिए, झोला बोकेर प्रदेश र केन्द्रको पहिलो चरणको निर्वाचनमा उमेदवारी दिनेहरुको पछि पछि लागे । कसैलाई मुख्य मन्त्री बन्नुछ, कसैलाई चुनाव जितेर संसद पुग्नुछ र तिनका पिछलग्गुहरुलाई राज्यकोष र राज्य पदहरुमा पुग्नुछ । देशको चिन्ता छैन ।
पूर्वराजाले नेतृत्व लिन तैयार भएको अभिव्यक्ति दिएपछि राष्ट्रिय झण्डा कहीँ उठ्यो भने त्यो मधेसमा उठ्यो, बाँकी कहीँ पनि उठेन । पूर्वराजाको अभिव्यक्तिमा ऐक्यवद्धता जनाउनेको लर्को पातलो देखियो ।
पूर्वराजाले जहिले पनि सन्देश दिन्छन्, बोल्छन्, देशको चिन्ता गर्छन् र आफू जनताले खोजेको बेलामा यहीँ छु भन्छन् । यसपटक पूर्वराजा देशकै नेतृत्व लिन
तैयार भएका छन् । पूर्वराजाको यो अभिव्यक्ति त्यसै आएको त होइन, यसका पछाडिका रहस्यहरु खुल्दै जालान्, तर निर्वाचन, निर्वाचित जनप्रतिनिधिहरुको साथ लिन जरुरी छ र राजनीतिक दलहरुले पूर्वराजालाई मौलो मान्न तैयार हुनैपर्छ ।
बागमतीमा पानी धेरै बगिसक्यो, २०६५ सालदेखि चुपचाप लागेका पूर्वराजाले एक पाइला अघि सारेका छन्, अव त्यो पाइला पछाडि होइन, अगाडि बढ्नुपर्छ र एकताको प्रतीकका रुपमा सर्न सकेमात्र उठानको बैठान होला, अन्यथा फुस्सा हुनसक्छ ।