काठमाडौं । पूर्वराजाले देशको नेतृत्व लिन तैयार छु भनेर जनताका सामु प्रष्ट पारिसकेपछि यसका बारेमा राजनीतिक र कूटनीतिक बृत्तमा भित्रभित्रै आगो सल्किएको छ । अव के हुन्छ, के के हुनसक्छ ? भनेर चर्चा विश्लेषण भइरहेका छन् । तर सतहमा राजनीतिक बृत्त मौन छ, प्रतिक्रियाविहीन भइरहेको छ । दोश्रो दर्जाका केही नेताहरुले यो बेमौसमको बाजा, समय घर्किसक्यो भन्ने प्रतिक्रिया दिइरहेका छन् भने पूर्वराजाका प्रशंसकहरु जो कोठामा थिए, राजतन्त्र पुनस्र्थापित गर्न सशस्त्र संघर्ष गर्ने वक्तव्यवाजी दिन्थे र जो राजतन्त्रका लागि जस्तोसुकै त्याग गर्ने फुइँकी हाँकिरहेका थिए, ती कोही पनि कोठाबाट सडकमा निस्कन सकेको, नेपालको झण्डा बोकेर राजाको जयजयकार गरेको दृश्य दुर्लभ भयो, देखिदै देखिएन ।
राजतन्त्र र हिन्दुराष्ट्र फालिएकाले एकताको कडी खुस्किएकोमा सबैले चिन्ता गरेका हुन् । तर पूर्वराजाले बिग्रदो र भत्कदो देशको नेतृत्व लिन तैयार भएपछि राजावादीहरुले निर्मल निवासमात्र होइन, सिंगो राजधानीमा समर्थनको आँधी हुरी सिर्जना गरेर सिंगो मुलुकमा एउटा अर्कै वातावरण सिर्जना गर्नुपर्ने थियो, त्यो केही पनि छैन, देखिएन । राजावादीहरु कोठे र ओठे भक्तहरु पूर्वराजाको अभिव्यक्तिको सम्मानका लागि समेत निस्केनन् ।
यतिबेला केशर विष्ट, कमल थापाहरु जो संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको सैद्धान्तिक आधारमा उभिएका छन्, उनीहरुले पूर्वराजाको अभिव्यक्तिमा साथ दिनैपर्ने थियो । एउटा घटनाले स्थानीय निर्वाचनमा पत्तासाफ भएको राप्रपा, यो घटनाले प्रदेश र केन्द्रको निर्वाचनमा ह्वाइटवास नहोला भन्न सकिन्न । जनताको दबाबमा पूर्वराजा अग्रसर भएकै हुन्, हिन्दु र राजतन्त्र भन्नेहरु कतै नदेखिएपछि पूर्वराजाको त के जान्छ र राष्ट्रिय एकताका लागि राजतन्त्र चाहिन्छ भन्ने मान्यता एकपटक फेरि तुहिन पुगेको छ । उही कित्ताकाटे, भागबण्डे राजनीतिको बोलवाला स्थापित हुन पुगेको छ ।
यद्यपि पूर्वराजाको बोलीमा तौल छ । बोलीको मूल्य छ । यो तौल र मूल्य केही दिनमै देखिन सक्छ । पूर्वतैयारी र सूचना बिना पूर्वराजाले प्वाक्क बोले, बुढा र बिरामी पूर्वराजाले भताभुङ्ग भएर भ्रष्टाचारमा चुर्लुम्मै डुबेको देश सम्हाल्न त खोजे तर राजनीतिक र कूटनीतिक कप्र्स किन मौन छ ? पूर्वराजाले कूटनीतिक बृत्तले बुझेको असन्तुष्टिमा समर्थन सहित अघि बढेको हो भने पनि सडकमा नागरिक देखिनैपर्छ । पूर्वराजाले म नेतृत्व लिन तैयार छु भन्दा उनकै वरिपरि कम्मर हल्लाएर घुम्ने भरतकेसर सिंहले समेत साथ दिएर सडकमा निस्केको देखिएन । बिना जनता केही हुन्न । हो, जनता वर्तमान नेता र शासन तरिकाबाट वाक्विधि भएका छन् । यसमा कुनै शंका छैन । शासनमा भ्रष्टाचार, अनाचार, दुराचारमात्र छ । यो पनि सही हो । तर, यही समयमा पूर्वराजाले बोल्नु ठिक थियो कि थिएन, यो चाहिं मिलेको देखिएन । कमलादीबाट बोल्दा दरवारमार्गसमेत तातेन, आम असन्तुष्टिलाई सन्तुष्टिको मार्ग देखाउन पूर्वराजा तैयार हुँदा पनि देश सुनेर बस्ने ?
र, राजनीतिक दलहरुले कुनै प्रतिक्रिया नै नदिने ? दहमा सानो ढुंगा हाने त लहर देखिन्छ, पूर्वराजाजस्तो व्यक्तिले बोलिसकेपछि र आम जनताको भावना बुझेरै बोलिसकेपछि त्यसको फलोअपमा निस्कने कोही त हुनपर्छ नि, कोही अग्रसर नभएको अवस्थामा आमजनता कसको नेतृत्वमा सडकमा निस्कने । यो त चिलाइदे भनेको ठाउँमा कन्याइदिएकोजस्तो पो भयो । लुटाह नेताहरुाले अरु लुट्ने अवसर पाए, अरु निरंकूशता बढाउने भए । चुनावका माध्यमबाट, लोकतन्त्रका आवरणमा ठूला पार्टी र तिनका मतियारहरुले देशलाई लैनो गाई बनाएर अरु केही वर्ष दुहुने र दुधभात खाने भए । जनता हिजो पनि नांगै, आज पनि नांगै र भोलि पनि नांगै हुने भए महाराज ।