काठमाडौं । कानुन फेरिएन भने आगमी चैतको अन्तिम हप्ता आइजीपी प्रकाश अर्यालले अवकाश पाउनेछन् ।
त्यो अवस्थामा सबै एआइजीहरु पनि अवकाशमा जाने निश्चित छ । अनि के हुन्छ ? यस्तो चर्चाका वीच अवको आइजीपीमा रमेश खरेल, सर्वेन्द्र खनाल कि पुष्कर कार्की ? को पालो आउनेछ र यही कारण नेपाली प्रहरीभित्र यी तीनको दिनदिनै चर्चा बढ्दै गएको छ ।
पुष्कर कार्कीलाई अनेक कारण जुनियर सम्झिनेहरुले वास्तविक प्रतिस्पर्धा रमेश खरेलर सर्वेन्द्र खनालवीच रहेको तर्क गरिरहेका छन् । शायद आइजीपीको पूर्व तैयारीका लागि रमेश खरेल सुडान मिसनबाट फर्किएका हुनसक्छन् । सर्वेन्द्र खनाल भने राजधानीमा आफ्नो काविलियत देखाउन व्यस्त देखिन्छन् ।
खरेल कि खनाल ? यसबारेमा नेपाल प्रहरीमा भन्दा पनि राजनीतिक बृत्तमा चासो बढी देखिन्छ । ठेकेदार, कमिशन एजेन्ट, तस्कर, माफियाहरुसमेत कसलाई बनाउँदा आफ्ना बन्दब्यापार राम्रोसँग फस्टाउला भनेर हिसावकितावमा जुटेका छन् । यद्यपि यी दुबै व्यक्तिसँग कालाधन्दावालाहरु सबै हच्किन्छन् र पछाडि नै बस्न रुचाउँछन् । नेतृत्व जतिसुकै दह्रो भए पनि उनी मातहतका सकल दर्जाहरु कतै न कतै नाइटो जोडिएका हुन्छन् र तिनले आँखा चिम्लिदिदा अशान्ति र कालाधन्दा फस्टाउने हुन् । यतिसम्म कि ८८ किलो सुन प्रकरण होस् कि एयरपोर्टबाट पाइलटले गर्ने डलर तस्करी होस्, सबैमा सुरक्षाकर्मीकै मिलोमतो रहेको देखिन्छ । तथापि मूल शुद्ध भयो भने बहाव शुद्ध हुन्छ, आइजीपी स्वच्छ भइदियो भने त्यसको प्रभावमा सकल दर्जाले सत्य सेवा सुरक्षालाई अहिलेजस्तो कालो पोत्न मुस्किलै पर्नेछ ।
नेपाल प्रहरीको आइजीपी नियुक्ती गर्दा जहिले पनि राजनीतिकरण भइरहेको छ । अहिले र यस अघिका अर्याल बन्धुहरु पनि राजनीतिक आशीर्वादले आइजीपी बनेका हुन् । रात रहेर अग्राख पलायन भने यी दुईमध्ये जो आइजीपी बने पनि नेपाल प्रहरीको इज्जतमा लागेको दाग धेरै हदसम्म सफाई हुनसक्छ । यी दुबै पैसालाई होइन, प्रोफेसनलाई महत्व दिने व्यक्तित्व हुन् ।